मानसिक रोग प्रतिको सचेतना बढ्दै जाँदा समाजमा रहेका मानसिक समस्याहरूको पहिचान सहज हुन्छ र सेवा उपलब्ध हुन्छ। नेपालजस्तो देशमा त यो सजिलो छँदैछैन।
विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्यलाई ‘मानसिक, शारीरिक, सामाजिक तथा आध्यात्मिक अवस्थाको सन्तुलन’ भनेर बुझ्न आग्रह गरेको छ। जब कुनै व्यक्तिमा यी उपरोक्त स्वास्थ्यहरू मध्ये एउटामा समस्या देखा पर्छ, अन्य तीनबाट स्वास्थ्यका सूचकहरू स्वत: प्रभावित हुन थाल्छन्।
वैदिक शास्त्रहरूले विश्व स्वस्थ्य संगठनले ‘होलेस्टिक हेल्थ’ भनेको यो आधुनिक मानसिक स्वास्थ्यको परिभाषालाई ‘तापत्रय’ आधिभौतिक, आधिदैविक र आध्यात्मिक स्वास्थ्य भनेर बुझाएको थियो।
भौतिकभित्र शरीरिक स्वास्थ्य समस्याहरू, आधिदैविकभित्र सामाजिक, सांस्कृतिक, मानवीय भावनात्मक समस्याहरू र आध्यात्मिक भित्र अहम् अर्थात् स्वअस्तित्व आत्मगत समस्याहरूको समग्रता बुझ्ने प्रयत्न गरिएको छ। यहाँ ‘ताप’ शब्दलाई मानसिक अर्थमा पश्चाताप भनेर बुझ्नुपर्छ, भौतिक अर्थमा शारीरिक सन्तापभनेर बुझ्नुपर्छ भने आध्यात्मिक अर्थमा ‘ताप’का रूपमा बुझ्नुपर्छ।
भौतिक विज्ञानले आफ्नो विकाससँगै मानसिक स्वास्थ्यमा पनि नकारात्मक समस्याहरू थपिदिएको छ। विज्ञानको चमत्कारिक विकासले मान्छेमा भौतिक सुख प्राप्त गर्ने ‘महत्वाकांक्षी’ मनको विकास भएको छ तर विज्ञान महङ्गो छ। सबैका लागि त्यो सुलभ छैन। पैसोको जोहो गर्न नसक्नेहरू विज्ञानबाट लाभान्वित हुन सक्दैनन्। विश्वका हरेक वस्तु ‘क्यापिटल’मा रूपान्तरित भएको छ।
आजको मान्छेको जन्म, मृत्यु, जीवनकाल र बुढ्यौली समेत ‘पैसो’को विषय बनेको छ। यदि तपाईंसँग पैसो छैन भने बाँच्ने र जिउने अधिकार रहन्न। तपाईं यदि जीवित हुनुहुन्छ भन्नुको अर्थ हो तपाईंका लागि कसैले (कर वा राजस्व) खर्च गरिरहेको छ। यस्तो अवस्थामा ‘आर्थिक असुरक्षा’ले मानिसमा मानसिक समस्या बढाउँछ। विश्व ‘क्यापिटल’जन्य मानसिक रोगले पीडित छ।
विश्वको मानव-समाजलाई ‘क्यापिटल’मा रुपान्तरित गर्ने अपराध को-कसले गरेका हुन् ? मनोवैज्ञानिकहरूले खोज गरूँन् तर पाश्चात्य शिक्षा दीक्षाबाट विकसित भएका ‘साइकोलोजिस्ट’हरूले माथिल्लो हरफलाई बुझेर न्याय गर्ने छन् ? सजिलो छैन। यिनको कुनै दोष छैन किनभने क्यापिटलको एउटा अङ्ग बनिसकेको हाम्रो ‘मानसिक व्यवस्था’मा क्यापिटलबाहिर गएर बुझ्ने कुनै अवस्था नै छैन। हरहमेशा ‘क्यापिटल’ प्राप्तिलाई मात्र सफलता ठान्ने ‘मानसिक तन्त्र’मा मानसिक स्वास्थ्यका अनेकौं समस्याहरू देखिनु स्वाभाविक ठान्छु। जतिजति मान्छेको सफलता भनेकै ‘क्यापिटल प्राप्ति’ हो भन्ने प्रतिमान स्थापित हुँदैजान्छ, त्यतित्यति नै मान्छेमा मानसिक समस्याहरू पनि बढ्दै जान्छन्।
क्यापिटल प्राप्त गरेकाहरू अधिकतम भौतिक वस्तुहरूबाट सुख प्राप्त गर्ने लिगलिगे दौडका कारण मानसिक सन्तापले भरिन्छन् भने ‘क्यापिटल’ प्राप्त गर्न नसक्नेहरू यसैलाई असफलता मानेर मानसिक रूपमा पश्चाताप ग्रस्त हुन्छन्। अहिलेको विश्व यसरी नै दौडिरहेको छ।
यो वर्षको मानसिक स्वास्थ्य दिवस मनाउने सन्दर्भमा ‘सबैको लागि मानसिक स्वास्थ्य’ भन्ने नारा तोकिएको थियो। सुन्दा राम्रो लागे पनि युक्रेन-रसिया युद्ध चलिरहेको छ। कोरोनाबाट मान्छेहरू राम्ररी तंग्रिन पाएका छैनन् तर यस्तो अवस्थामा ‘सबैको लागि मानसिक स्वास्थ्य’ एउटा अत्यन्त महत्वाकांक्षी नारा हुन पुगेको छ। युक्रेनको युद्ध होस् वा कोरोनाको कहर अमेरिकी र युरोपेली औषधि तथा हतियार कम्पनीहरूको भाउ बढेको छ।
अर्कोतिर अमेरिकाले डलरमा व्याज थपेर विश्वव्यापीतहको ‘क्यापिटल’ लाई महँगो बनाएको छ। हामी नेपाली कै सवालमा कुरा गर्ने हो भने गतवर्षको तुलनामा हरेक नेपालीको घरमा ३०-३४ प्रतिशत महँगी बढेको छ। कुरा फेरि पनि ‘क्यापिटल’ कै हो। राज्यको ढुकुटीमा जानेका राजनीतिक नेतृत्व र जनताको गोजीबाट महँगाइको भरपाइ गर्ने व्यापारीहरूको ‘मानसिक स्वास्थ्य’मा कुनै असर नपर्ला तर आम नेपालीका लागि ‘सबैका लागि मानसिक स्वास्थ्य’ टाढाको फल आँखातरी मर भने झैं भएको छ।
असलमा मानसिक स्वास्थ्य शब्द र यसले प्रदान गर्ने निकास नै अपूर्ण छ। मन चित्तको एउटा अंशमात्र हो। ‘चित्त’को निर्माणमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक सबै प्रकारका भोगाइको योगदान हुन्छ। मनले मन अर्थात् माइन्ड शब्दले केवल भावनात्मक र बौद्धिक क्रियालाई प्रतिनिधित्व गर्छ तर चित्तभित्र शारीरिक, मानसिक तथा आध्यात्मिकतहका क्रियात्मक पक्ष समेत समेटिएका हुन्छन्। त्यसैले सम्पूर्ण मानसिक स्वास्थ्य (स्वस्थचित्त) प्राप्तिका लागि चित्त-शुद्धिको आवश्यकता पर्छ। चित्त-शुद्धि त्यो क्रिया वा सैद्धान्तिक अवधारणा जसले भौतिक (शरीर) दैविक (मानसिक) तथा आध्यात्मिक (अस्तित्व) सम्बन्धी समस्याहरू समाधान भएपछि प्राप्त हुन्छ। चित्त-शुद्धि अन्तर्गत काम, क्रोध, लोभ, मोह, ममता आदिको संयमित उपयोगको अभ्यास गराइन्छ। चित्त-शुद्धिको अबधारणाले भन्छ- मान्छेले प्रकृतिसँग बढी समन्वय गर्दै जीवनयात्रा गर्नुपर्छ। सुख, सन्तोष, आनन्द तथा पूर्णता जीवनको लागि अनिवार्य लक्ष हुनुपर्छ तर यी लक्षहरू केवल भौतिक वस्तुले प्राप्त मानसिक सन्तुष्टिबाट प्राप्त हुन्छ भनेर सोच्नु पूर्वाग्रह हो। आधुनिक साइकोलोजीले यो तथ्य बल्ल बुझ्न आरम्भ गरेको छ।
ऋषि शुकदेवले भनेका छन् ‘इन्द्रीयहरूलाई जतिधेरै विषयसुखको भोगी बनायो, ती त्यति नै नयाँ सुखको लागि व्याकुल हुने छन्। चित्त-शुद्धिको पहिलो पाइला इन्द्रियहरूलाई नियमित गर्नबाट आरम्भ हुन्छ। इन्द्रीयहरूको चाहनाहरूलाई नियमित गर्नुको अर्थ हो उपलब्ध संसाधनहरूभित्र रहेर अर्थात् आत्मनियन्त्रित भएर उपलब्ध साधनबाट अधिकतम सन्तोष प्राप्त गर्नु। दुर्भाग्यवश, आजको मनोविज्ञानले चित्तलाई पनि ‘क्यापिटल’जस्तै व्यवहार गर्छ।
ऋषि शुकदेवले भनेका छन् ‘इन्द्रीयहरूलाई जतिधेरै विषयसुखको भोगी बनायो, ती त्यति नै नयाँ सुखको लागि व्याकुल हुने छन्। चित्त-शुद्धिको पहिलो पाइला इन्द्रियहरूलाई नियमित गर्नबाट आरम्भ हुन्छ। इन्द्रीयहरूको चाहनाहरूलाई नियमित गर्नुको अर्थ हो उपलब्ध संसाधनहरूभित्र रहेर अर्थात् आत्मनियन्त्रित भएर उपलब्ध साधनबाट अधिकतम सन्तोष प्राप्त गर्नु। दुर्भाग्यवश, आजको मनोविज्ञानले चित्तलाई पनि ‘क्यापिटल’जस्तै व्यवहार गर्छ।
चित्त-शुद्ध भएपछि चित्त शान्त हुन्छ। चित्त प्रसन्न हुन्छ। चित्त दुख्न, बल्न, घुम्न छोड्छ। एउटा कुरा पक्का हो ‘क्यापिटल’ को एउटा मोहरा बनाउने आधुनिक शिक्षा प्रणालीमा चुर्लुम्म डुबेको हामीजस्तो मनुवाले यो तथ्य बुझ्न सक्दैनौं किनभने क्यापिटलले आमाको प्रेम, बहिनीको माया, श्रीमतीको सहृदयीपन र साथीभाइको मिठासमा समेत ‘कम्पिटिसन’ र स्वार्थ देख्छ। हो, निस्वार्थ त्यति सजिलो छैन तर स्वार्थको मात्रा न्यून बनाउने काम चाहिं चित्त-शुद्धिको क्रियाले मात्र गर्न सक्छ। एक पटक आफूतिर फर्केर मूल्यांकन गरौँ – के आजका तमाम मानसिक तनाव, चिन्ता, डर, उदासीपनजस्ता मानसिक अवस्थाहरू हाम्रो स्वार्थ र त्यसको आपूर्तिमा हामीले आर्जन गर्ने ‘क्यापिटल’को हात छैन त ? अवश्य छ।
जबसम्म हामीले स-सानो उपलब्धिमा वा यथास्थितिको अवसरलाई प्रसन्नता र खुसीका रूपमा अंगीकार गर्दैनौं, मानसिक स्वास्थ्य पनि कसैको क्यापिटल प्राप्त गर्ने एउटा मार्केटिङ विधिबाहेक केही हुने छैन। हामी प्रसन्न रहन आफ्नो मौलिक संस्कृति, सभ्यता तथा चालचलनमा रम्न सक्नुपर्छ। ससानो खुसीका अवसरहरूलाई खुशी हुने उत्सव बनाउन सक्नुपर्छ भने उपलब्ध साधनहरूलाई प्रयोग गरेर अधिकतम शारीरिक सन्तोषको बाटोमा हिड्नु पर्छ।
क्यापिटल आजको आवश्यकता हो, सबैलाई चाहिन्छ तर आमाको माया, बाबुको प्रेम, साथीको न्यानोपन तथा मायालुको मायालाई समेत ‘क्यापिटल’मा रुपान्तरित गर्ने संस्कारले हामी खुसी हुनै सक्दैनौं। त्यसैले चित्त शुद्धिको अभ्यास गरौँ, चित्त खुसी भयो भने हामी सबैको चित्त बुझ्छ। चित्त बुझ्नुको अर्थ हो – हामी शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ छौँ ।
(लेखक उपाध्याय त्रिभुवन विश्वविद्यालय अन्तर्गतको त्रिचन्द्र बहुमुखी क्याम्पसमा दर्शन तथा मनोविज्ञान विषयका प्राध्यापक हुनुहुन्छ।)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार