शिक्षक सचिन न्यौपाने कसरी बने युट्युब स्टार?

सचिन न्यौपानेले आफ्नो युट्युब च्यानल पूर्वी ब्लुजमार्फत नेपालीहरूलाई आफ्नो इतिहास र संस्कृतिसँग जोड्न मद्दत गर्ने आशा गर्नुभएको छ।

झापाका एक विद्यालय शिक्षक सचिन न्यौपानेले एक दशकभन्दा बढी समयदेखि, आफ्ना विद्यार्थीहरूलाई पाठ्यपुस्तकहरूमा रहेका कालो र सेतो स्केचहरू देखाएर आफ्नो हिमाली देश नेपालका दरबार र किल्लाहरू वर्णन गर्नुभयो। तर यी धेरै ठाउँहरूमा सचिन आफै पुग्नुभएको इन्टरनेटमा गुणस्तरीय तस्बिर खोज्ने प्रयास असफल भयो सचिनको। सचिनले भन्नुभयो, “मैले नेपालभरका ऐतिहासिक, भौगोलिक र सांस्कृतिक रूपमा महत्वपूर्ण ठाउँहरूको दृश्यचित्रहरूका लागि इन्टरनेटमा खोजे तर कक्षामा पढाउन सक्ने खालको कुनै पनि कुरा फेला पार्न सकिन।”

पश्चिमी संसारका ऐतिहासिक स्थलहरू जसरी नेपाली धरोहरलाई इन्टरनेटमा चित्रण गरिएको नपाएपछि निराश हुनुभएका  सचिनले अब त्यो काम आफै गर्ने निर्णय गर्नुभयो।

आफ्ना विद्यार्थीहरूलाई देखाउन पर्याप्त भिडियो र फोटोहरू फेला पारेपछि मात्र कक्षामा फर्कने वाचा सन् २०१५ मा डीएसएलआर क्यामेरा बोकेर सचिन निस्किनुभयो एउटा यात्रामा। सचिन ले पूर्वी ब्लुज नामक युट्युब च्यानल सुरु गर्नुभयो  र आफ्नो यात्राका भिडियोहरू पोस्ट गर्न शुरु गर्नुभयो। सचिन ले भन्नुहुन्छ, “विद्यार्थीलाई मात्र नभई विश्वभर छरिएर रहेका नेपालीभाषीले वास्तविक नेपाल देख्न पाउने गरी भिडियो बनाउन देशैभर घुम्न थालेँ।” सन् २०२० मा, सचिन ले आफ्नो सबै समय भ्लगिङमा समर्पित गर्न आफ्नो मास्टरी जागिर पनि छोड्नुभयो।

पाँच लाख चालीस हजार सब्स्क्राइबर वा सदस्यहरू भएको पूर्वी ब्लुज अहिले नेपालको सबैभन्दा लोकप्रिय ट्राभल भ्लगहरू मध्येको एक हो। सचिनले अहिलेसम्म देशका ७७ जिल्लामध्ये ७० जिल्लाको ५० हजार किलोमिटरको यात्रा गरी हिमाल, पहाड र तराईका महत्वपूर्ण स्थलको भ्रमण गरिसक्नुभएको छ। अहिले दुई जनालाई रोजगारी दिन सक्ने स्थितिका विद्यालयका पूर्व शिक्षकले अहिलेसम्म २२२ भिडियोहरू पोस्ट गरिसक्नु भएकाेछ। अङ्ग्रेजी बिना सरल नेपालीमा वर्णन गरिएको यो भ्लगबाट विदेशमा बस्ने दोस्रो पुस्ताका नेपालीहरूलाई आफ्नो पुर्खाको मातृभूमिसँग थप सम्बन्ध राख्न मदत गर्नेछ विश्वास सचिनको छ।

अपलोड गरिएका भिडियो मध्ये एउटा २८ लाख भन्दा बढीले हेरिसकेका छन्। यस्तै भिडियोले ३४ वर्षीय सचिनलाई नेपालमा इन्टरनेट सेलिब्रेटी बनाएको छ। सचिन भन्नुहुन्छ, “जब म बाहिर, विशेषगरी सहरमा हुन्छु, मानिसहरू मलाई भेट्न आउँछन् र मलाई व्यक्तिगत रुपमा लामो समयदेखि चिनेको जस्तो गरी कुरा गर्छन्। सुरुका दिनहरूमा यो अलि अनौठो लाग्यो, तर अहिले आएर यो सामान्य लाग्छ, किनकि मैले यसलाई मैले गरेको कामको सफलताको सूचकको रूपमा लिएको छु।”

पूर्वी ब्लुजका  प्रशंसक मध्येका एक अर्घाखाँचीका राजेन्द्र पोखरेल, सचिनको सामग्रीले विश्वलाई हिमालयको देशको बारेमा थप कुरा थाहा पाउन मद्दत गरिरहेको विश्वास गर्दै भन्नुहुन्छ, “जब म पूर्वी ब्लुज हेर्छु, मलाई सचिन र उहाँको टोलीसँगै यात्रा गरिरहेको जस्तो भान हुन्छ। नेपालमा, हामीले पोखरा र चितवन राष्ट्रिय निकुञ्ज जस्ता केही ठाउँलाई मात्रै पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गरेका छौं, तर च्यानलले हाम्रो देशमा खोज्नु पर्ने र अन्वेषण गर्नुपर्ने धेरै कुरा भएको देखाउँछ। ”

भिडियोमा सम्पर्क विवरण  समेत राखिएकाले सचिनलाई नेपालबाट मात्र नभई विश्वका विभिन्न भागबाट पनि फ्यान र फलोअरहरूले बारम्बार सम्पर्क गर्ने गरेका छन्। यीमध्ये अमेरिका र अष्ट्रेलिया जस्ता देशहरूमा बसोबास गर्नुअघि नेपालमा दशकौँ बिताएका नेपाली भाषी भुटानी शरणार्थीहरू; दार्जिलिङ, कालिम्पोङ र गुवाहाटी जस्ता छिमेकी भारतीय सहरहरूका मात्र होइन  म्यानमारका नेपाली भाषीहरू पनि छन्। “नेपालमा आफ्नो पुर्खाको ठाउँका बारेमा सुनेका तर नदेखेका दोस्रो र तेस्रो पुस्ताका नेपाली वंशजहरू मलाई आफ्नो पुर्खौली भूमिको भिडियो बनाउन अनुरोध गर्छन् र म त्यहीँबाट भिडियो बनाउन चाहन्छु,” सचिन भन्नुहुन्छ- “केही मानिसहरूले त उनीहरूलाई ती ठाउँहरूमा लगिदिओस् भन्ने पनि चाहन्छन्।”

सचिनको भिडियोको मुख्य आम्दानी भनेको युट्युबले हेरेबापत तिर्ने पैसा हो, जुन “यात्राहरू व्यवस्थित गर्न मात्र पर्याप्त छ,“ सचिन भन्नुहुन्छ- “अन्त्यमा, हामीसँग खासै धेरै बचत हुँदैन।”

कहिलेकाहीँ, मानिसहरूले टोलीलाई आफ्नो शहर र गाउँहरू देखाउन आमन्त्रित गर्छन् र उनीहरूलाई खाना र आवासको प्रस्ताव गर्छन्, “तर हामी बदलामा केही माग्दैनौ,” सचिन भन्नुहुन्छ। यद्यपि यी यात्राहरूमा लागत कम लाग्दछ, कहिलेकाहीं तिनीहरूले नसोचेको अवस्थाको पनि सामना गर्नुपर्ने हुन्छ। सचिन भन्नुहुन्छ- “केही महिना अगाडि एउटा गाउँबाट हामीलाई एउटा ठूलो गुफा छ भनी फोन आयो तर हामीले भ्रमण गर्दा त्यहाँ कुनै गुफा थिएन। हामीले कुनै काम नगरी सम्पूर्ण यात्रा रद्द गर्नुपर्‍यो र यसले हाम्रो सीमित स्रोतहरू खेर गयो.”

“ब्रोडब्यान्ड इन्टरनेटको सहज उपलब्धता र गुणस्तरीय क्यामेरा भएका सस्ता स्मार्टफोनहरूले इन्टरनेटमा भिडियो खिच्न र अपलोड गर्न सबैलाई सम्भव बनाएको छ,” काठमाडौँस्थित तथ्य जाँच गर्ने वेबसाइट साउथ एशिया चेकका सम्पादक दीपक अधिकारी भन्नुहुन्छ “यसले खाना, यात्रा, संगीत र कमेडी जस्ता विधाहरूमा विश्वभरमा जस्तै नेपालमा इन्फ्लयन्सरहरूको उदय भएको छ।“ ती पप संस्कृति युट्युबरसँग प्रतिस्पर्धामा छ पूर्वी ब्लुज।

सचिन भन्नुहुन्छ, “त्यस्ता भिडियोहरू छन् जसले युवाहरूलाई लक्षित गर्दछ र उनीहरूको ध्यान आकर्षित गर्ने भाषा प्रयोग गर्दछ। भिडियोमा भिडियो अवधिभर उनको अनुहार देखिने कुरा निर्माताले सुनिश्चित गर्छ,”

सचिनको च्यानलले सिनेमेटोग्राफिक रूपमा आकर्षक र मन छुने कथाहरू सुनाउने भिडियोहरू बनाउन ठूलो लगानी गर्ने सर्जकसँग पनि प्रतिस्पर्धा गर्छ। “मेरो भिडियोहरू बिचमा पर्छन्,” नेपालमा आम मानिसको यातायातको माध्यम मानिने गैर अत्याधुनिक मोटरसाइकलमा यात्रा गरी आफूले अधिकांश सामग्री खिचेका न्यौपानेले बताउनुभयो। सचिन भन्नुहुन्छ-  “म बस्ने ठाउँहरूको सम्पर्क विवरण र जाने रोड वा बेवास्ता गर्नुपर्ने सडकहरू जस्ता व्यावहारिक सुझावहरू प्रदान गरेर दर्शकहरूलाई थप व्यावहारिक र उपयोगी बनाउने प्रयास गर्छु।”

र्‍यान्डम नेपाली नामक आफ्नै युट्युब च्यानल चलाउने अधिवक्ता तथा साइबर कानूनका प्राध्यापक राष्ट्र विमोचन तिमिल्सिनाका अनुसार नेपालमा युट्युबबाट पैसा कमाउन सजिलो छैन। “नेपालमा सामाजिक सञ्जाल मार्फत पैसा कमाउने कुरालाई हामी नकार्न सक्दैनौ, तर यो धेरै कारकहरूमा भर पर्छ,” तिमिलसेनाले भन्नुभयो। उहाँको अनुमान अनुसार एउटा भिडियो करिब ५० हजार भ्युज भए च्यानलले करिब ५ हजार रुपैयाँ (करिब ४० डलर) कमाउन सक्छ। अमेरिका वा अष्ट्रेलिया जस्ता बजारमा हेरिने सामग्रीले युट्युबबाट राम्रो आम्दानी प्राप्त गर्न सकिने भएकाले यो अनुमानमा नेपालबाट ७०% र अन्य देशका ३०% दर्शकको हिस्सा रहेको छ, तिमल्सेनाले भन्नुभयो। यो अनुमानमा सचिन सहमत हुनुहुन्छ।

“युट्युबर जसले घरबाट भिडियोहरू बनाउने र आफैलाई सम्पादन गर्ने लगायत काम गरेर कम लागतमा काम गर्न सक्दछ, उनीहरूले नाफा कमाउन सक्छन्”, तिमल्सेनाले भन्नुभयो, “तर यात्रामा निर्भर पूर्वी ब्लुज जस्ता च्यानलहरूको लागि नाफाको मार्जिन त्यति धेरै हुँदैन।”

नेपालको असहज भूभाग र खाना, संस्कृति र जलवायुको विविधताले यात्रा भ्लगहरूका लागि उत्कृष्ट सेटिंग प्रदान गर्दछ तर तिनीहरू जोखिमका साथ आउँछन्। सचिनको टोलीका सदस्य लक्ष्मीप्रसाद ढुंगेलले भन्नुभयो- “गत वर्ष हामीले बर्खामा मेलम्चीमा सुटिङ गर्दा केही सेकेन्डको अन्तरले ज्यान जोगाएको थियौं।” नेपालको सिन्धुपाल्चोक जिल्लाको मेलम्चीबाट फर्किने क्रममा टोली गएको गाडीलाई पहिरोले पुरेर झण्डै समतल बनाएको थियो। लामो यात्रा गर्दा बिरामी पर्नु अर्को समस्या हो, किनकि नेपालको ग्रामीण क्षेत्रमा पर्याप्त स्वास्थ्य सेवाको पहुँच छैन। ३८ वर्षीय ढुङ्गेलले भन्नुहुन्छ, “त्यस्तो समय पनि थियो जब हामी बिरामी परेपछि हामीले सुटिङ छोडेका थियौं। सचिनको खुट्टा पनि भाँचियो र हामीले अप्रिलमा पूर्वी पहाडहरूमा सुटिंग गर्दा दुई हप्ता आराम गर्नुपर्‍यो।”

जब सचिन आफ्नो साहसिक कार्य पछि झापाको धुलाबारीमा भएको घर फर्किन्छन्, उनी प्राय: आफूले पढाएको विद्यालयमा जानुहुन्छ। “म अझै पनि शिक्षण पेशाप्रति आकर्षित छु, विशेष गरी साना कक्षाका विद्यार्थीहरूसँग”, सचिन भन्नुहुन्छ, “शिक्षकहरूले विद्यार्थीलाई नेपालको इतिहास, भूगोल र संस्कृतिका बारेमा छलफल गर्नका लागि मैले खिचेको भिडियोहरू देखाएको कयौं पटक देखेको छु। त्यसले नै मैले गरिरहेको काम मूल्यवान छ, र मैले यसलाई जारी राख्नु पर्छ भनेर प्रेरणा दिन्छ। यो विविधतायुक्त भरिपूर्ण देशको हरेक कुनाको भ्रमण गर्न एउटा जीवनकाल भन्दा बढी समय लाग्ने छ, तर मैले गरिरहेको काम गर्न म चाहन्छु जबसम्म म यो गर्न सक्षम छु।”

रेस्ट अफ द वर्ल्डमा छापिएको पत्रकार अभयराज जोशीको आलेखको भावानुवाद।

२०७९ असार २० मा प्रकाशित सामाग्री पुनःपोष्ट गरिएको हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap