कार्टुनिष्ट रविन साय्मिको कार्टुन छापेकोमा नागरिक दैनिकसँग प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टिकरण सोधेकोमा व्यापक विरोध भएको छ। निर्वाचन आचारसहिंता र पत्रकार आचारसंहिताको कारण देखाउँदै काउन्सिलले ‘यस्तो कार्टुन किन प्रकाशन गरेको हो ?’ भनी स्पष्टीकरण सोधेको छ । नागरिक दैनिकमा गत कार्तिक ३ गते ‘कल केपी बा’ शीर्षकमा कार्टुन प्रकाशन गरेको थियो । मिडियाका विषयवस्तु अनुगमन गर्ने निकाय प्रेस काउन्सिल नेपालले फेरी पनि एक राष्ट्रिय दैनिकलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीबारे किन कार्टुन प्रकाशन गरेको भनी २४ घण्टे स्पष्टीकरण सोधेको छ।
प्रेस काउन्सिल नेपालको उक्त कदमको फ्रिडम फोरम, नेपाल पत्रकार महासंघ, नेपाल कार्टुनिष्ट क्लबलगायत विभिन्न संघ संस्था तथा अभिव्यक्ति एवम् प्रेस स्वतन्त्रताका पक्षधरहरूले विरोध गरेका छन्। फ्रिडम फोरमले एक प्रेस विज्ञप्ति निकाल्दै यो कदमलाई “प्रेस काउन्सिल नेपालको चरम दुरुपयोग, राज्यका निकायबाट प्रेस स्वतन्त्रतामाथि धावा” भनेको छ।
फ्रिडम फोरमले प्रेस काउन्सिल नेपालको प्रेस स्वतन्त्रता तथा पत्रकारको हक विरुद्ध चरम दुरुपयोग भएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको वताएको छ ।
फ्रिडम फोरम भन्छ, “कार्टुन व्यङ्ग्यात्मक अभिव्यक्तिको कलात्मक प्रस्तुति हो । तर, काउन्सिलले राजनीतिक रुपमा प्रेरित भएर विज्ञप्ति जारी गरी स्पष्टीकरण सोधेको छ, जुन नेपालको संवैधानिक अधिकारको विरुद्ध छ।”
फ्रिडम फोरमले जनाए अनुसार नेपालको संविधानले प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गरेको छ। तर, काउन्सिलको यो कदमले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको छ । यसले नेपाली मिडिया र पत्रकारको भूमिकालाई अवमूल्यन गरेको छ, होच्याएको छ ।
फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल भन्नुहुन्छ– ‘कार्टुन प्रकाशन गरेबापत नागरिक दैनिकलाई स्पष्टीकरण सोध्नु राज्यको निकाय प्रेस काउन्सिलको चरम दुरुपयोग हो । यसले नेपाली नागरिकको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक अधिकारको उल्लङ्घन गरेको छ । राजनीतिक अनियमितता र भ्रष्टाचारका घटनाविरुद्ध खबरदारी गर्ने र खुलासा गर्ने नेपाली पत्रकार र मिडियाको सक्रियता र ऊर्जालाई काउन्सिलको पक्षले अवमूल्यन गरेको छ । यसले राज्यका निकायप्रति जनविश्वास घटेर जानेछ । प्रेस काउन्सिलले स्वनियमनको अभ्यासलाई प्रोत्साहन गर्नुपर्नेमा यस्ता मिडिया विरोधी दमनकारी कार्य तुरुन्त बन्द गर्नुपर्छ ।’
आवरण चित्रः प्रेस काउन्सिल नेपालले २४ घण्टे स्पष्टिकरण सोधेको नागरिक दैनिकमा छापिएको कार्टुनिष्ट रविन साय्मिको कार्टुन
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
- जनकपुरमा जानकी जन्मोत्सव, विभिन्न कार्यक्रमका साथ मनाइँदैछ
- वर्षाले फुल्न लागेको स्याउका बोटमा असर
- कुटानी-पिसानी मिलबाट एक लाख बढी आम्दानी
- चार महिनापछि सञ्चालनमा आयो यारी नाका भन्सार कार्यालय
- हतकडीसहित भागेकी थुनुवा महिला भारतमा पक्राउ, २ जना प्रहरी निलम्बन
- गोरखामा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
- अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
- आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
- नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
