
रामविकास चौधरी/रूपन्देही
लुम्बिनी विकास कोषको पर्यावरणमैत्री, अत्याधुनिक विद्युतीय सवारी साधनहरू पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो। तर, अनियमितता, प्रशासनिक लापरबाही र अनधिकृत प्रयोगका कारण बिग्रिँदै थन्किन पुगेका छन्। जसले राज्यको सम्पत्ति र पर्यटक सेवामा असर पारेको छ।
२०८१ वैशाख १३ गते लु.१ झ. ६९६ नम्बरको विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्र भित्रको सडकमा अनियन्त्रित भई दुर्घटनामा पर्यो। कोषका उपाध्यक्ष ल्यारक्याल लामाले आफूसँग ल्याएर नियुक्ति विवादमा रहेका जीवन बस्नेतले चलाउँदै गरेको उक्त भ्यानको अगाडिको भागमा क्षति पुगेको छ।
यसअघि, २०८० साल चैत्र २३ गते, लु.१ झ. ६९६ नं.को सोही भ्यानलाई अनधिकृत व्यक्तिले प्रयोग गरिरहेको भन्दै स्थानीय अभियानकर्ताहरूले पर्सा चोकबाट नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए। चालक सहित गाडीमा सवार दुई व्यक्ति न त लुम्बिनी विकास कोषका पदाधिकारी थिए, न कर्मचारी।
त्यस्तै, २०८० साल साउन १९ गते, लु.१ झ. ६९७ नम्बरको विद्युतीय भ्यान लुम्बिनी विकास कोषको सूचना शाखामा कार्यरत कर्मचारी राजन बस्नेतले सवारी चालक अनुमति पत्र बिना अनधिकृत रूपमा चलाउँदा दुर्घटनामा पर्यो। सो भ्यान मर्मतमा करिब २८ लाख रुपैयाँ लाग्ने प्राविधिकको भनाइ छ।
राजन बस्नेतले चलाएको सो इ‐भ्यानको ठक्करबाट लु.साँ.न.पा.‐ ७ पक्डिहवा बस्ने ४० वर्षीय रबिन्द्र यादव घाइते भएका थिए। उनको लु.३१ प. १८६ नं.को मोटरसाइकल समेत क्षतिग्रस्त भएको यादवको भनाइ छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ८ एकला स्थित सडकमा दुर्घटना भएको उक्त लु.१ झ. ६९७ नम्बरको विद्युतीय भ्यान राजन बस्नेतले चलाएको स्थानीयको दाबी भए पनि लुम्बिनी विकास कोषमा कार्यरत सवारी चालक गोवर्धन पोखरेललाई सवारी चालक खडा गरी बिमाको प्रक्रिया पूरा गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक दिपक मगराठीले बताए।
लुम्बिनी विकास कोषका अन्य विद्युतीय सवारी साधन पनि दुरवस्थामा छन्। लु. १ झ. ६९४ नं.को भ्यान पछाडितर्फ ठोक्किएको छ, ढोकामा ह्यान्डल छैन भने एउटा पाङ्ग्रा समेत खोलिएको छ। लु.१ झ. ६९५ नम्बरको भ्यानको चारै वटा पाङ्ग्रा पन्चर भई स्टेसनमै बसेको छ। चार्जिङ स्टेसनमा देखिने ५ मध्ये चार बसको एसी बिग्रिएको छ। लु. १ झ. ३८४ नम्बरको बसमा अगाडिको सिसा फुटेको छ।
एसियाली विकास बैङ्कको अनुदान सहयोगमा दक्षिण एसिया पर्यटन पूर्वाधार विकास आयोजना अन्तरगतको क्लीन इनर्जी फण्डबाट लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्धनका लागी भन्दै नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत लुम्बिनी विकास कोषको नाममा २०७९ जेठ १२ गते नामसारी भई आएका उक्त क्षतिग्रस्त सवारी साधनहरू ५ बस र १४ भ्यान मध्येका हुन।
२०७७ मङ्सिर ९ गते लुम्बिनीमा १४ वटा विद्युतीय भ्यान र ५ वटा बस ल्याइएको थियो। ती अत्याधुनिक विद्युतीय सवारी साधनहरू वातानुकूलित, अपाङ्गमैत्री र स्वचालित ढोका भएका छन्। प्रत्येक विद्युतीय बसमा १९ सिट र भ्यानमा ५ सिट क्षमता रहेको छ। एक पटक पूरा चार्ज गरेपछि कम्तीमा चार सय किलोमिटर गुड्न सक्ने उक्त बस / भ्यानमा कार्डबाटै भुक्तानी गर्न सकिने सुविधा छ।
ʼउच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोषका ती १९ थान विद्युतीय सवारी साधनहरूलाई हरियो नम्बर प्लेटमा रूपान्तरण गरी सञ्चालन गर्नका लागी एक महिनाको समय सीमा तोकेर परमादेश जारी गरेको लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए। उनले भने, ʼउच्च अदालतले दिएको समय सीमा पनि नाघी सक्यो, गाडी दुरुपयोग ज्युँका त्युँ छ।
“कानुनी अस्पष्टताका कारण सेतो प्लेटका सवारी साधनहरूलाई उद्देश्य अनुसारको प्रयोगमा ल्याउन सकेका थिएनौ। अदालतको आदेशपछि प्रक्रिया अघि बढाइएको छ,” लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले भन्नुभयो, “अब हरियो प्लेट बनाएर उद्देश्य अनुसार प्रयोगमा ल्याइनेछ।”
लामो समयसम्म खुल्ला आकाशमुनि एकै ठाउँमा थन्किएर बस्नुपर्दा जाम हुने, बिग्रिने र ब्याट्री डिसचार्ज हुने जस्ता डर भएर लुम्बिनी विकास कोषले आन्तरिक प्रयोजनका लागी गुड्दागुड्दै केही सवारी साधनहरूमा सामान्य क्षति पुगेको स्विकार्दै आगामी दिनमा त्यस्तो नहुने कोषाध्यक्ष भट्टराइ भन्छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
रामविकास चाैधरी का अन्य पोस्टहरु:
- लुम्बिनी विकास कोषको कार्यालयमा स्थानीयको तालाबन्दी
- बुद्ध जयन्तिको पूर्वसन्ध्यामा चिनियाँ साउण्ड सिस्टमले मायादेवी मन्दिरमा हल्लाखल्ला
- यस्तो छ २५६७ औँ बुद्ध जयन्ती मनाउने तयारी
- निर्माण सम्पन्न नहुँदै चर्कियो स्वास्थ्य चौकी भवनको छतः टालटुल गर्दै ठेकेदार
- मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष र वडा अध्यक्षको नागरिकता विवादमा
