मंसिर ४ गते देशभरका करिब एक करोड ८० लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। गएको आमनिर्वाचन २०७४ सालमा भने एक करोड ५४ लाख २७ हजार मतदाता मताधिकारका लागि योग्य रहेपनि जम्मा एक करोड ५ लाख ८७ लाख अर्थात् ६८.६३ प्रतिशतले मात्र मताधिकार प्रयोग गरेका थिए। गत निर्वाचन र यस पटक तात्विक रुपमा दलहरू भिन्न ढंगले मैदानमा उत्रिएका छन्। पाँच वर्षअघि नेकपा एमालेको नेतृत्वमा कम्युनिष्ट गठबन्धन एकातिर उभिँदा अर्कातिर नेपाली कांग्रेस एक्लै मैदानमा होमिएको थियो भने मधेश केन्द्रित दलहरू पनि आपसमा समझदारीका साथ चुनावमा थिए।
तर यसपटक कम्युनिष्ट पार्टीहरू चोइटिएका छन् भने दुई अलग गठबन्धन चुनावी मैदानमा छन्। पदीय भागबन्डामा कुरा नमिलेपछि एकीकृत गराइएको नेकपा पार्टी टुक्र्याउन तयार नेकपाका तत्कालीन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाललाई अर्का नेता माधव नेपालले साथ दिए। ओलीलाई प्रधानमन्त्रीबाट हटाउन कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष बिन्तीपत्र लिएर पुगेका दाहाल र नेपालको साथमा देउवाले ओलीविरुद्धको गठबन्धनको नेतृत्व गरे र वर्तमान सत्ता गठबन्धन बन्यो। अर्कातिर अदालतको आदेशमा नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि सत्ताबाट बर्हिगमित ओलीले देउवा–दाहाल–नेपालविरुद्ध बाँकी रहेकालाई समेटेर इतर गठबन्धनको प्रयास गरे। परिणाम ओली नेतृत्वमा राप्रपाको दुबै घटक र मधेश केन्द्रित जसपा रहेको अर्को गठबन्धन बनेको छ।
ओलीलाई हटाउन एक ठाउँमा उभिएका कांग्रेस–माओवादी–एकीकृत समाजवादी वैचारिक रुपमा विपरित दुई ध्रुवका हुन्। त्यसैगरी देउवा नेतृत्वको गठबन्धनविरुद्ध एक ठाउँमा उभिएका एमाले–राप्रपा–जसपाको धरातल पनि नदीका समानान्तर रेखाझैँ हो। तर सत्ताको लालच यतिसम्म घृणित हुँदो रहेछ कि, प्रजातन्त्र र नागरिक अधिकारको वकालत गर्ने कांग्रेस र एकदलीयता कम्युनिष्ट अतिवादको वकालत गर्ने माओवादी एउटै डुङ्गामै बसेर मतदातासमक्ष मतको याचना गर्दै पु्गेका छन्। अर्कातिर कम्युनिष्ट समाजवादको सपना बेचेर राजनीति गरिरहेको एमालेले राजतन्त्र र रुढिवादको पक्षपोषण गरिरहेको राप्रपा जस्तो पश्चगामी शक्तिलाई काँधमा बोकेर जनताको आँखामा कसिंगर छर्ने हरसम्भव प्रयास गरिरहेको छ।
फगत सत्ता र शक्तिमा टिक्न जायज नाजायज सबैखाले हर्कत गर्न पछि नपर्ने यी दलको वर्तमान नेतृत्व फेरि पनि आआफ्ना पार्टीमा एकल हैकम जमाउने दाउमा छन्। वैचारिक भ्रष्टताको यो टुकुचामा दललाई लगेर जाक्दा युवा भनिएकाहरू साक्षी किनाराको सदर मात्र भएका छन्। जसले आउँदो पाँच वर्ष यिनै विचार शून्य मानसिक भ्रष्टताले गाँजेकाहरूबाट फेरि शासित हुनुपर्ने विवशतामा तीन करोड नेपाली बाध्य हुने छन्।
रमाइलो त के छ भने, विचार, सिद्धान्त, आदर्श र मूल्य–मान्यताबाट स्खलित भएपछि दल र तिनका मुखियाहरूसँग मतदातालाई रिझाउने कुनै विषयवस्तु बाँकी देखिन्न। देउवादेखि दाहालसम्म ओलीदेखि पोखरेलसम्मले प्रधानमन्त्रीमा स्वघोषण गर्न थालेका छन्। उसोत, कांग्रेसमा मात्रै प्रधानमन्त्रीको ललिपप मतदातासमक्ष बेचेर चुनाव जित्ने दौडमा रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइरालादेखि अर्जुननरसिंह केसीसम्म लागेका छन्। जोखिम र चुनौती अँगालेरै राजनीतिमा युवा हस्तक्षेप बढाएका गगन थापाले त चुनाव अघिदेखि नै प्रधानमन्त्रीका लागि पार्टी संसदीय दलमा आफू उम्मेदवार रहने बताइसकेका छन्। अर्का युवा नेता विश्वप्रकाश शर्माले गगनलाई दलको नेतामा प्रस्ताव नै गर्छु भनेका छन्।
सत्ताधारी गठबन्धनमा कांग्रेसका देउवादेखि गगनसम्म मात्रै प्रधानमन्त्रीका उम्मेदवार छैनन् माओवादीका अध्यक्ष दाहाल चुनावपछि प्रधानमन्त्रीको कुर्सीमा पुग्ने आफ्नो पालो भएको बताइरहेका छन्। माओवादीका अरु नेतादेखि आफ्नो निर्वाचन क्षेत्र नै छाडेर मैदान खाली गरेका डा. बाबुराम भट्टराईसम्मले दाहाल नै आगामी प्रधानमन्त्री बन्ने घोषणा गर्दै मत मागिरहेका छन्। उता, एकीकृत समाजवादीका माधव नेपाल पनि मौका पर्दा प्रधानमन्त्रीको कुर्सीमा पुग्ने लालसा साँचेर काठमाडौंदेखि रौतहट झरेर मतदाता रिझाउने कोसिसमा छन्।
सत्ता इतर दलको नेतृत्व गर्दै चुनावी संग्राममा होमिएका एमाले अध्यक्ष ओलीले पनि परमादेशी गठबन्धनलाई पराजित गर्दै निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार बनाउने हुँकार गरिसकेका छन्। मत परिणाम आफ्नो पक्षमा पार्न बढ्दै गएको संकट निवारणको हतियारका रुपमा एमालेकै अरु नेता ईश्वर पोखरेल, विष्णु पौडेलदेखि शंकर पोखरेलसम्मले प्रधानमन्त्रीको स्वघोषणा गर्न भ्याएका छन्। मधेशका महन्थ ठाकुरदेखि उपेन्द्र यादवसम्मले पनि चुनाव जित्न प्रधानमन्त्री पदलाई अघि सारेका छन्। एउटा प्रधानमन्त्री पदको भ्रम मतदातासम्म छरेर चुनावी परिणाम आफ्नो पक्षमा पार्न कम्तिमा पन्ध्र नेता उद्धत रहँदा त्यसपछिका आकर्षक मानिने मन्त्रालय पाउने स्वघोषित मन्त्रीहरू त देशैभर छरपष्ट छन्।
जब सत्ता र शक्ति एकसूत्रीय ध्येय बन्छ, त्यहाँ विचारको खडेरी मात्र पर्दैन, परम्परा र विरासत खरानी बनाइन्छ। तब, प्रजातन्त्र र नागरिक स्वतन्त्रताको प्रवक्ता दाबी गर्ने कांग्रेस नेतृत्व आफ्नै कार्यकर्ताको घाँटी रेटेर शक्ति आर्जन गरेको, वैचारिक रुपमा कम्युनिष्ट एकाधिकारको वकालत गर्ने माओवादीसँग काँध मिलाउन पुगेको छ। अर्कातिर बहुदलीय जनवादको नारामा कम्युन समाजवादको रुमानी बेच्ने एमाले मुखिया, रुढीवादी विचार र राजतन्त्रको अपरिहार्यता देख्ने राप्रपा राजेन्द्र लिङ्देन र कमल थापाको वैशाखीमा सिंहदरवारमा प्रवेश गर्ने हुटहुटीमा छन्।
-समसामयिक विषयमा कलम चलाउने कुईंकेल पत्रकार एवं मानवअधिकार रक्षक हुनुहुन्छ।)
श्रोत: आइएनएस-स्वतन्त्र समाचार