कसरी खुला गर्ने हाम्रो संसदलाई?

प्रभावकारी सरकार र संसद्का लागि धेरै युवाहरू निर्वाचनका माध्यमबाट संसद्‌मा जाने तयारीमा छन्। उनीहरूको दिमागमा नै “नयाँ गर्ने” भन्ने छ। नयाँ त गर्ने तर के नयाँ गर्ने?  सरकार बनाउने बाहेक अघिल्लो संसद्ले के काम गर्‍यो भनेर राम्ररी प्रचार हुन पाएन। सांसदहरू संसद्‌मा जादैनन्, गए पनि संसद्‌मा गएर सुत्छन् भन्ने भाष्य मिडियाबाट तयार गरेर व्यवस्था नै खत्तम भन्ने स्थापित गर्न खोजियो। त्यो गलत थियो र त्यो भ्रमलाई चिर्नका लागि खुला संसद्को अवधारणामा हामी जानु पर्छ। हामीले नयाँ गर्ने भनेको संसदीय प्रक्रियामा आमजनतालाई जोड्ने हो। कसरी त? फ्रिडम फोरमले तयार गरेको “खुला सरकार र खुला संसद्‌” मा समावेश गरिएको यो अंशमा यसै विषयमा चर्चा गरिएको छ।

अन्तर व्यवस्थापिका परिषद वा इन्टर पार्लियामेन्ट्री यूनियन (आईपीयु)सन् १८८९ मा स्थापित भएको विश्वका संसदहरूको साझा संगठन हो। यो बहुर्राष्ट्रिय राजनीतिक संस्था एउटा स्थायी राजनीतिक संयन्त्र हो। यस संस्थाने राजनीतिक मान्यता र संयन्त्रहरूको बारेमा विभिन्न साझा सिद्धान्तहरू स्थापित गर्दै आएको छ। संसदीय अभ्यास, संसदहरूको प्रभावकारिता र प्रगतिशील परिवर्तनलाई सहयोग पुर्‍याउन विभिन्न क्षेत्र र विषयमा यस युनियनले विभिन्न मान्यताहरू तर्जुमा गरेको छ। यस क्रममा संसदीय पारदर्शिता, संसदीय गतिविधिमा नागरिक सहभागिता तथा संसदीय अभिलेख एवं सूचनाहरूको भण्डार मानिने पुस्तकालयको डिजिटाइल लगायतका विभिन्न विषयमा मापदण्डहरू विकास गरेको छ। नेपालको संसद पनि आईपीयुमा सक्रिय सहभागी रहदै आएको छ अन्तर व्यवस्थापिका परिषद्ले संसदको खुलापन र पारदर्शिताबारे असल अभ्यास दिग्दर्शन समेत बनाएको छ। जसका आधारमा संसदीय खुलापनका प्रमुख आधारहरू यस प्रकार रहेका छन्;

    • पत्रकारहरू र सञ्चार माध्यमहरूका लागि व्यवहारिक सहज पहुँच,

■ सूचनाको हकको कानुनी दायित्वको पालना तथा खुला तथ्याङ्कहरूको उपलब्धता,

■ अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सम्मान,

■ सार्वजनिक प्रशारण सेवा सहित बहुल आमसञ्चार माध्यमहरूको पहुँचको कानूनी सुनिश्चितता,

■ सूचना प्रविधिका माध्यम, जस्तै वेबसाइट, एप्स, सोसल मिडिया आदिको अधिकतम सदुपयोग,

■ जनतासँग सांसद, जस्तै युवा, विद्यार्थी आदि समूहसँग संसदीय नमूना अभ्यास,

■ कानुन पारित प्रक्रियामा जनतासँगको परामर्श

उपरोक्त अभ्यासलाई किन सुदृढ गर्ने भन्ने प्रश्नसँगै संसदीय पारदर्शिताले मूल्यको खोजी हुनु स्वाभाविक हुन्छ। पारदर्शिताले संसदलाई मतदातासँग नजिक ल्याउँछ। नागरिक सहभागिता बढ्ने र त्यस्तो सहभागिता पनि अर्थपूर्ण हुने हुनाले संसदको प्रभावकारिता बढ्न पुग्छ।

खुला संसदका चार खम्बा
१. पारदर्शिता
२. उत्तरदायित्व
३. नागरिक सहभागिता
४.सदाचार

लोकतन्त्रको प्रमुख संरचना भनेकै संसद हो। स्वतन्त्र र निस्पक्ष निर्वाचनद्वारा चुनिएका जनप्रतिनिधिले शासन संयन्त्रहरू निर्माण गरी आफूमार्फत् जनताप्रति उत्तरदायी बनाउने प्रणालीहरू सुनिश्चित गर्नु नै लोकतन्त्र हो। यस्तो सर्वोच्च निकाय आफू स्वयं पनि सदा जनताप्रति जवाफदेही र उत्तरदायी बन्न सक्नु पर्दछ। संसद पनि सक्षम र प्रभावकारी बन्नु आवश्यक छ। सदाचारी र आदर्शवान व्यवहार प्रदर्शन गर्न पर्‍यो। जनताको सेवामा समर्पित रहन पर्‍यो र, तोकिएका काम कर्तव्य, इमान्दारी र दक्षतापूर्वक सम्पन्न गरिनु पर्‍यो। यही मान्यतालाई नै एक असल संसद वा खुला संसद हुनुको अर्थमा बुझ्न सकिन्छ।

संसद जनताका प्रतिनिधिहरूले जनताका लागि कानुन बनाउने स्थान भएको यो जनताको पहुँचमा हुनु पर्दछ। संसद मार्गदर्शक भएको हुँदा अन्य निकायको पारदर्शिताका लागि पनि संसद आफैँले पारदर्शी भएर कार्य गर्नु पर्दछ। संसद देशका सबै जनताको समान पहुँचका लागि पनि संसदले पारदर्शी भएर कार्य पर्दछ।

सरकार संसद सदस्यलाई जनप्रतिजयी बनाउन र निरन्तर आफ्नो जिम्मेवारीबोध गराउन स्थापित मापदण्ड तथा व्यवहारिकरूपमा असल र खराब गर्ने संसद सदस्यको बीचमा भिन्नता देखाउन, संसदको निरन्तर कार्यसम्पादनमा सहयोग पुर्‍याउन, लोकतन्त्रलाई व्यवहारिकरूपमा प्रयोग गराउन, जनतालाई आफ्ना प्रतिनिधिप्रतिको विश्वास बढाउन र संसदको गरिमा बढाउन संसदले पारदर्शी हुनु पर्दछ। संसद लोकतन्त्रको प्रतिफल हो र लोकतन्त्रमा नागरिकको सुसूचित हुने कुरा आधारभूत शर्त हो।

संसदीय खुनापनले सार्वजनिक नीतिहरू जस्तै बजेट र कानून जनताको अधिकतम हित हुने गरी बनाउन मद्दत पुग्दछ। सरकार र स्वयं संसदका काम कारबाहीको निगरानी गर्न र मूल्याङ्कन गर्न जनतालाई सहज हुन्छ। जनताको आकांक्षा र अपेक्षा अनुरूप नीति-निर्णय गर्न सक्षम हुँदा जनताको विश्वासको मात्रा पनि बढ्छ। नागरिक राज्यको सम्बन्धमा बढ्दो विश्वसनियताने समग्र राष्ट्र नै सुदृढ हुन पुग्दछ।

खुलापनले खराब नियत र स्वार्थहरूलाई नीति तर्जुमामा प्रभाव पार्नबाट रोक्न सक्छ। भ्रष्ट आचरण र प्रवृत्तिलाई निरुत्साहित पार्दछ। र, समग्रमा उद्देश्यपूरक रे परिणामखी कार्यसम्पादनलाई सहज बनाइदिन्छ।

एउटा सशक्त र सक्षम संसदका आधारभूत चरित्र भनेकै पारदर्शी हुन्, उत्तरदायी बन्नु र समावेशी आवाजलाई प्रतिनिधित्व दिनु हो। पारदर्शिताको अर्थ निर्णयहरूको खुलामा मात्र होइन, प्रक्रियामा नै सहभागिताको आधार सिर्जना गर्नेगरी समय निर्णय प्रक्रिया नै पारदर्शी हुनु हो। वैध जिम्मेवारीको सम्पादन गर्दा पनि सहमति र फरक विचारको सम्बोधनको संवेदनशिलता अवलम्बन गर्नु एक सफल संसदको आधारभूत चरित्र हो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link