हिमचितुवालाई रेडियो कलर

माथिल्लो डोल्पामा हिमचितुवाको वासस्थान पत्ता लगाएर तिनीहरूको गर्धनमा रेडियो कलर बाँध्ने एक्सपेडिसन टोलीमा संलग्न युवा अनुसन्धानकर्ता ऋषिराम पौडेलको रेडियो कलर बाँध्ने तरिका र सो अनुसन्धानले वन्यजन्तुको संरक्षणमा कसरी सघाउनेछ भन्ने को वृत्तान्त।

हिमाली क्षेत्र, कञ्चन नदीहरू र हरियाली जंगल डोल्पा जिल्लाका मुख्य विशेषता हुन्। विशाल हिमालयको काखमा अवस्थित डोल्पाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्छ। नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो यही जिल्लामा पर्छ। यस क्षेत्रमा हाब्रे (रेड पान्डा), हिमाली ब्वाँसो, नाउर, कस्तुरी मृग र झारलजस्ता विविध प्रकारका र देख्नै मुश्किल पर्ने वन्यजन्तु पाइन्छन्। विरलै देखिने हिमचितुवा समेत आवतजावत गर्ने क्षेत्र हो यो।

सन् २०२१ फेब्रुअरी महिनामा म शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग एक प्रशिक्षार्थीको रुपमा जोडिने अवसर पाएँ। त्यतिबेला सो राष्ट्रिय निकुञ्जले डोल्पाको निस्यालमा ‘टेलिमेट्री एक्सपेडिसन’ सुरुवात गर्ने तयारी गरिरहेको थियो। त्यसका लागि हिमचितुवाको गर्धनमा रेडियो कलर बाँध्नुपर्थ्यो। त्यसको उद्देश्य जंगली जनावरको ओहोरदोहोरबारे जानकारी संकलन गर्नु हो। त्यसका आधारमा वैज्ञानिकहरूले जंगली जनावरको वासस्थानको रोजाइ तथा अन्तर्राष्ट्रिय सीमामा उनीहरूले गर्ने यात्राबारे राम्रो जानकारी प्राप्त गर्छन्। यसबाट जंगली जन्तुबाट घरपालुवा जनावरमाथि हुने आक्रमण रोक्न पनि सहयोग पुग्छ। यो कार्यक्रमका हरेक चरणमा स्थानीयवासीलाई सहभागी गराउने अवधारणासहित यसको सुरुवात गरिएको थियो। जसअनुसार सो एक्सपेडिसन (अभियान)का क्रममा स्थानीयवासीको समितिका लागि तालिम पनि समेटिएको थियो ता कि उनीहरूले कलर बाँधेपछि हिमचितुवाको आवतजावतबारे अनुगमन गर्न सकून्।

यो अभियान वन्यजन्तु संरक्षण कोष (डब्लूडब्लूएफ) नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र निस्याल हिमचितुवा संरक्षण समिति (एसएलसीसी)का सदस्यहरूसँगको साझेदारी र नेपाल सरकारको नेतृत्वमा सञ्चालन गरिएको थियो। सचेतना अभियान, हिमचितुवा अनुगमन र हिमचितुवाले खाएका घरपालुवा जनावरको क्षतिपूर्ति प्रदान गर्नेलगायतका गतिविधिमा संलग्न स्थानीयहरू एसएलसीसीमा आबद्ध छन्।

निस्यालसम्मको लामो यात्रा

१ मेका दिन हामी डोल्पाको सदरमुकाम दुनईबाट प्रस्थान गर्यौँ। हाम्रो टोलीमा डब्लूडब्लूएफ नेपाल, एनटीएनसी र एसएलसीसीका नागरिकस्तरका वैज्ञानिकहरूसहित २४ जना थियौँ। ३० वटा खच्चडलाई हाम्रा कपडा, उपकरणलगायतका सामग्री बोकाएर हामी गन्तव्य निस्यालतर्फ लाग्यौँ। त्यहाँ पुग्न सात दिन पैदल हिँड्नुपर्थ्यो। निस्यालमा पुगेपछि दुईवटा हिमचितुवालाई लठ्याएर तिनको गर्धनमा रेडियो कलर बाँध्ने टोलीको योजना थियो।

तराईमा हुर्केको मजस्तो व्यक्तिका लागि कठिन पहाड र हिउँले छोपिएका हिमालका भञ्ज्याङ पार गरी निस्याल पुग्नु निकै चुनौतीपूर्ण बन्यो। रात परेपछि तापक्रम स्वाट्टै घट्यो र हिउँ पर्न थाल्यो जसले गर्दा हाम्रा टेन्टहरू भिजे। सुत्ने बेलामा जाडोले लगलगी कमाएको थियो। तर, त्यो यात्रा जति कठिन थियो, उत्तिकै रोमाञ्चक पनि किनभने हामी हाम्रो गन्तव्यनजिक पुग्दै गर्दा उत्साहित बनिरहेका थियौँ।

ट्रयाप जडान

दुनईबाट हिँडेको एक सातापछि हामी ३८ घरधूरी भएको निस्याल गाउँ पुग्यौँ। एक्सपेडिसन सुरु हुनुभन्दा एक वर्षअघि नै त्यहाँ क्यामेरा ट्र्यापहरू जडान गरिएको थियो। त्यहाँ पुग्नासाथ वैज्ञानिकहरूले तिनै क्यामराबाट प्राप्त विवरणलाई केलाउन थाले। क्यामेराबाट प्राप्त तस्बिर तथा भिडिओहरू अध्ययन गरेर हिमचितुवाहरूले बनाएको बाटो पहिल्याइएको थियो। जंगली जनावरहरूले बाटोमा हिँड्दा पिसाब गरेर र ठाउँ–ठाउँमा खोस्रेर आफ्नो क्षेत्रमा चिह्न बनाएका हुन्छन्।

कुनै हिमचितुवा क्याप्चर भयो कि भएन भनी ट्र्यापबाट प्राप्त रेडियो सिग्नल हेर्दै लेखक ऋषिराम पौडेल (तस्बिरः डीएनपीडब्लूसी⁄डब्लूडब्लूएफ

हिमचितुवालाई कब्जामा लिएर लठ्याउनका लागि एउटा डोरीलाई ट्रिगर थिच्ने बटनमा जोडिन्छ र त्यो जनावरलाई कुनै चोट नलाग्ने गरी पञ्जा बाँधेर नियन्त्रणमा लिने गरी डिजाइन गरिएको हुन्छ। कसरी ट्रयाप जडान गर्ने र सुरक्षितरुपले जनावरको गर्धनमा कलर बाँध्ने भनी डब्लूडब्लूएफ नेपालका फिल्ड रिसर्च अफिसर समुन्द्र सुब्बाले संक्षिप्तरुपमा जानकारी गराए। ट्र्यापबाट सिग्नल (संकेत) प्राप्त गरी बेसक्याम्प (आधारशिविर)मा पठाउनका लागि अग्लो ठाउँमा एउटा रेडियो टावर स्थापना गरियो।

ट्र्याप ठ्याक्कै कहाँ बिछ्याउने भनी पहिल्याउनका लागि हामीले हिमचितुवा हिँड्डुल गरेका प्रमाणहरू पत्ता लगाउनुपर्ने थियो। यो काम ‘पार्कमा टहलिएजस्तो सजिलो’ भने थिएन। हामीले निरन्तर हिमचितुवाका पदचाप, खोस्रिएका चिह्नहरू वा डुङडुङती गन्हाउने उसको पिसाब भएका ठाउँ पत्ता लगाउन खोजिहिँड्यौँ। हिमचितुवा हुने ठाउँ पत्ता लगाउन सजिलो पक्कै थिएन।

अन्ततः हाम्रो टोलीले विभिन्न स्थानमा २३ वटा ट्र्याप बिछ्यायो। क्यामरा ट्रयापबाट प्राप्त जानकारी तथा संकेतहरू र स्थानीय एसएलसीसीका सदस्यहरूसँग पर्याप्त छलफल गरेपछि त्यसका आधारमा सो काम गरिएको हो। प्रत्येक ट्र्यापमा एउटा ट्रान्समिटर जोडिएको थियो जसले कुनै कुरा ‘क्याप्चर’ गर्नासाथ रेडियो टावरमार्फत मुख्य क्याम्पमा सिग्नलहरू पठाउँथ्यो।

त्यसपछि हामीले स्थानीयवासीलाई ट्र्यापहरू जडान गरिएका ठाउँमा नजान आग्रह गर्यौँ र त्यहाँ हिँड्डुल गर्दा ‘अलार्म’ बजेर झुक्याउन सक्ने हुँदा केही दिनका लागि ती ठाउँमा नगइदिन अनुरोध गरियो। कुनै पनि एक्सपेडिसनमा हिमचितुवा भेटिन्छ नै भन्ने निश्चित हुँदैन। हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी राखेनौँ। त्यसपछि निकै आशा र धैर्यसाथ प्रतीक्षा गरिबस्यौँ।

लक्ष्यमा केन्द्रित ध्यान

हामीले दिनको चार पटक रेडियो सिग्नलमार्फत ट्र्यापहरू हेर्थ्यौं। दुई दिनपछि बिहान करिब ६ बजे बेसक्याम्पमा अलार्म थिचियो। त्यसपछि हामीले हेर्दा सो अलार्म राप्का क्षेत्रबाट आएको थाहा भयो। त्यहाँ दुई दिनअघि ट्र्याप जडान गरिएको थियो। केही स्थानीयवासी र निकुञ्जका कर्मचारी ट्रिगर थिचिएको ठाउँमा हेर्न पुगे। उनीहरू टेलिमेट्री टोलीभन्दा पनि पहिले नै त्यहाँ पुगेका थिए। आधा घण्टापछि वाकीटकीको सेटबाट एउटा खुसीको खबर आयो– त्यो अलार्म सही थियो किनभने त्यहाँ जडान गरिएको ट्रयापमा एउटा हिमचितुवा परेको थियो।

त्यहाँ टोली पुगेको १० मिनेटमा सो जनावरलाई लठ्याउनका लागि त्यसको अनुमानित तौल आकलन गरियो। डार्ट गन भनिने बन्दुकमार्फत लठ्याउने डोज लगाएको १० मिनेटमै सो हिमचितुवा लठ्ठियो। त्यसपछि स्ट्रेचरमा सुताएर सुरक्षित ठाउँतर्फ लगियो। त्यसो गर्दा उसको अनुहार छोप्यौँ किनभने औषधिले लठ्ठिए पनि उसले देख्न र सुन्न सक्ने हुँदा जोखिम हुनसक्थ्यो।

एक जना पशु चिकित्सकले जनावरको समग्र स्वास्थ्य अवस्था अध्ययन गर्नुका साथै त्यसको जिउको आकार र तौल नाप लिए भने समुन्द्र सुब्बाले गर्धनमा एउटा जीपीएस कलर बाँधे। यी सबै काम पूर्वयोजनाका साथ तय भएअनुसार अत्यन्त व्यवस्थितरुपमा सम्पन्न गरिएको थियो किनभने सो जनावर निकै छोटो समयका लागि मात्र लठ्याइएको थियो। विज्ञहरूले त्यसलाई नियालेपछि सो जनावर भाले र ६ देखि ७ वर्ष उमेर भएको ठहर गरे। यी सबै गतिविधिहरू नजिकबाट नियालिरहँदा म भने अवाक् भएको थिएँ। लामो पुच्छर र मेरो अनुहार जत्तिकै ठूलो पञ्जा भएको त्यो सुन्दर प्राणीलाई मैले यति नजिकबाट नियालिरहेको छु भन्ने कुरा आफैँलाई विश्वास लागिरहेको थिएन।

गर्धनमा कलर बाँधिसकेपछि पशु चिकित्सकले ब्युँझिने सुई लगाए। त्यसपछि हिमचितुवा विस्तारै ब्युँझियो। लठ्ठिइरहेको हिमचितुवा नदीमा नपसोस् भनी हामी सबै जना त्यहाँको एउटा नदीअगाडि उभियौँ। एक घण्टाजति पर्खेर अब ऊ आफ्नो बाससस्थानतर्फ जानलाई सुरक्षित छ भन्ने ढुक्क भएपछि मात्र त्यहाँबाट फर्कियौँ।

६ दिनपछि अर्को एउटा हिमचितुवाको गर्धनमा पनि कलर बाँधियो। त्यो पनि भाले र उस्तै उमेरको थियो। कलर बाँधिएका ती दुई हिमचितुवाको पछि स्थानीय भिक्षुहरूले नामकरण गरे– एउटाको नाम घांग्री गापी ह्युल (जसको अर्थ हिमालले घेरिएको अत्यन्तै सुन्दर गाउँ भन्ने हुन्छ) र अर्कोको ल्यांगेन (उच्च हिमालय) राखियो।

यस्ता एक्सपेडिसनबाट हिमचितुवालाई कसरी सहयोग पुग्छ ?

यी कलरहरूबाट प्राप्त हुने जानकारी हिमचितुवाको क्षेत्रगत पर्यावरण बुझ्न र पश्चिमी हिमालयन क्षेत्रसम्बन्धी जानकारीको अभावपूर्ति गर्नका लागि निकै महत्वपूर्ण हुनेछ। कलर बाँधिएका यी हिमचितुवाहरूलाई अब सरकार, जीवशास्त्रीहरूले निरन्तररुपमा अनुगमन गर्नेछन्। उनीहरूले त्यसकै सहयोगमा हिमचितुवाले सीमा वारपार गर्ने ओहोरदोहोर र वासस्थानबारे अध्ययन गर्नेछन्। सन् २०१३ मा यो कार्यक्रम सुरु गरेयता नेपालमा हालसम्म ८ वटा हिमचितुवालाई यस्ता कलर बाँधिसकिएको छ र नेपालमा हिमचितुवा रहने सबै क्षेत्रमा यो अभियान गर्ने योजना पनि रहेको छ।

नेपाल सरकार, डब्लूडब्लूएफ, राष्ट्रिय निकुञ्ज र स्थानीय समुदायहरूको प्रयासका बाबजुद पनि आफ्ना वस्तुभाउ खाएपछि स्थानीयवासीले प्रतिवाद गरेर हिमचितुवा मार्ने गर्छन्। यस्ता गतिविधि न्यूनीकरण गर्नका लागि वस्तुभाउका लागि सुरक्षित स्थान छुट्याउने, राम्रो राहत कोषको व्यवस्था गर्ने र वस्तुभाउको बीमा गर्ने पहलहरू भइरहेका छन्।

प्रतिवादमा हिमचितुवा मार्ने गतिविधि रोक्न पनि टेलिमेट्री अध्ययनबाट सहयोग पुग्छ। उदाहरणको लागि यदि कलर बाँधिएको जंगली जनावर गाउँबस्तीतर्फ आउँदै छ भन्ने जानकारी भयो भने एसएलसीसीजस्ता स्थानीय समूहले सो सूचना समुदायमा प्रसारण गर्छन् र गाउँलेले आआफ्ना वस्तुभाउलाई सुरक्षित राख्ने कदम चाल्न सक्छन्।

हिमालय क्षेत्रमा संरक्षणको आवश्यकता टड्कारो छ। चुनौतीपूर्ण भूगोल र दुर्गम स्थानका कारण त्यस्ता क्षेत्रमा संरक्षणका काम गर्न निकै कठिन हुन्छ। तर एसएलसीसीका सदस्यहरूको समर्पण र संरक्षण अभियानप्रति स्थानीयहरूको सकारात्मक धारणाका कारण एक्सपेडिसन भने सफलतापूर्वक सम्पन्न भयो। हिमालय क्षेत्रमा हिमचितुवालाई संरक्षण गरी आगामी कैयौँ वर्षसम्म पनि ती जीवहरूको अस्तित्व जोगाउनका लागि यस्ता पहलकदमीलाई निरन्तरता दिनुपर्छ। द थर्ड पोल र आइएनएस स्वतन्त्र समाचारको सहकार्य

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link