पेरिस एआई सम्मेलन: घोषणापत्रमा अमेरिका र बेलायतले गरेनन् हस्ताक्षर

फ्रान्सको राजधानी पेरिसमा भएको ‘विश्व एआई सम्मेलन’ मंगलबार सम्पन्न भएको छ । अमेरिका, भारत, युरोपेली संघ, फ्रान्स, चीनलगायत ८० देशका सरकारी प्रतिनिधिसँगै एआई क्षेत्रका अग्रणी कम्पनी, डेभलपर, विज्ञहरू सहभागी थिए ।

चीन, भारत, जापान, अष्ट्रेलिया र क्यानडा सहित कुल ६१ देशहरूले पेरिस एआई सम्मेलनको घोषणापत्रमा हस्ताक्षर गरेका छन् । तर, अमेरिका र बेलायतले भने सो घोषणापत्रमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

 किन पछि हट्यो अमेरिका र बेलायत ?

अमेरिकाको यो निर्णयले ट्रम्पको दोस्रो कार्यकालमा देखिएको आफ्नो कूटनीतिक अडानलाई दर्साउँछ ।  स्मरण रहोस् अमेरिकाले विश्व स्वास्थ्य सङ्गठन र पेरिस जलवायु सम्झौता जस्ता अन्तर्राष्ट्रिय सम्झौताहरूबाट पहिले अफ्नो समर्थन फिर्ता लिइसकेको छ। एआई शिखर सम्मेलनको समापन समारोहमा बोल्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने – ‘एआई क्षेत्रमा अहिले भइरहेको विकास औद्योगिक क्रान्ति वा स्टिम इन्जिनको विकास जत्तिकै महत्त्वपूर्ण समय हो । हाम्रो प्रयास अमेरिकामा विकास भएका एआई प्रविधि र प्लाटफर्महरू कुनै पनि विचारधाराका पूर्वाग्रहबाट मुक्त राख्नेमा केन्द्रित हुनेछ ।’ उनले प्राविधिक रूपमा अमेरिका सधैं अगाडि रहने र त्यसका लागि युरोपेलीलगायत सरकारहरूसँग मिलेर काम गर्ने प्रस्ट पारे ।

त्यस्तै बेलायतले आफ्नो राष्ट्रिय हितलाई उद्धृत गर्दै हस्ताक्षर गर्न अस्वीकार गरेको जनाएको छ। प्रधानमन्त्री केयर स्टारमरका प्रवक्ताले भने-  ‘फ्रान्स बेलायतको नजिकको एआई साझेदार भए पनि बेलायतले आफ्नै प्राथमिकताहरूसँग मिल्ने पहलहरूमा मात्र प्रतिबद्ध हुन्छ।’

अन्य बेलायती अधिकारीहरूले यो घोषणामा  पर्याप्त र बलियो सुरक्षा नभएको तर्क गरे । जबकि बेलायतकै लेबर पार्टीका एक सांसदका अनुसार- ‘बेलायतसँग अमेरिकालाई पछ्याउनु बाहेक कुनै विकल्प थिएन, किनकि एआईमा बढी प्रतिबन्धात्मक अडानले अमेरिकी कम्पनीहरूलाई बेलायतबाट टाढा धकेल्न सक्छ।

पेरिस घोषणापत्रमा भएको विभाजनले विशेष गरी आजको तनावपूर्ण भूराजनीतिक परिदृश्यमा एआई नीतिमा साझा आधार खोज्न कति गाह्रो छ भन्ने कुराको अर्को संकेत हो।

पेरिस एआई सम्मेलनले आमप्रयोगकर्तालाई एआईमा स्वतन्त्र, सुरक्षित र भरपर्दो पहुँच प्रदान गर्ने, वातावरणमैत्री एआई विकास गर्ने र प्रभावकारी एवं समावेशी एआईको सुनिश्चितता गर्दै यसको विश्वव्यापी नियमन प्रयासमा जोड दिने लक्ष्य राखेको थियो । एएफपीका अनुसार पेरिसको १२५ वर्ष पुरानो ओपुलेन्ट ग्रान्ड प्यालेसमा भएको सम्मेलनमा एआई क्षेत्रको वर्तमान अवस्थादेखि भविष्यका लक्ष्यबारे छलफल भएका थिए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link