२० वर्ष देखि जेलमा बन्द टर्कीकी पत्रकार ह्याटिस डुमानलाई रिहा हुने आशा छैन

ह्याटिस डुमन टर्कीको सबैभन्दा लामो समय सम्म जेलमा थुनिएकी पत्रकार हुनुहुन्छ। अहिले ५० वर्ष पुग्नुभएको उहाँ अप्रिल ९, २००३ देखि २० वर्षसम्म आजिवन कारागारमा हुनुहुन्छ। ह्याटिसलाई भड्काव बयान दिएको र प्रतिबन्धित मार्क्सवादी लेनिनवादी कम्युनिष्ट पार्टी (एमएलकेपी) को सदस्य भएको आरोपमा कारावासको सजाय सुनाइएको थियो।

समाजवादी टर्की साप्ताहिक (अटिलिम) का पूर्व सम्पादक डुमनले उहाँलाई लगाएको आरोपहरू अस्वीकार गर्नुभएको छ र पत्रकारहरूलाई संरक्षण गर्ने समितिले उहाँको मुद्दाको उपलब्ध अदालती अभिलेखहरूको समीक्षा गरेर ती प्रमाणका आधारमा उहाँलाई दोषि ठहर गर्न नमिल्ने बताएको छ। टर्कीको संवैधानिक अदालतले निष्पक्ष सुनुवाईको उहाँको अधिकार उल्लङ्घन भएको बताएको छ र दुई पटक पुन: सुनुवाईको आदेश दिएको थियो। यसै बीचमा डुमन इस्तानबुलको बाकिर्कोय महिला कारागारमा रहेकी हुनुहुन्छ र पहिले पनि धेरै सुनुवाई भएकोले पुन: सुनुवाईबाट उहाँको रिहाइ हुने र उहाँले स्वतन्त्र जीवन विताउन पाउने आशा राखिएकव छ।

नोभेम्बरमा सीपीजेको तर्फबाट एक वकिल र पत्रकार बेरिल एस्कीले उहाँको सजाय, जेल जीवन र पत्रकारितामा फर्कने उनको आशाको बारेमा उहाँसँग कुरा गरेका थिए र उहाँले हालै मात्र जेल अधिकारीहरूले उहाँको कोट, कम्बल, किताबहरू, रेडियो, २० वर्षदेखि आफूसँग राखेका व्यक्तिगत डायरी, मुद्दा सम्बन्धी अदालती कागजहरू डेस्क, खाली कागजका टुक्राहरू जफत गरेको बताउनु भएको छ। छापा मार्ने क्रममा उहाँ र अरु कैदीहरूलाई भुईँमा लछारपछार पारिएको र त्यसपछि ४ दिन एकान्तमा बिताएउन बाध्य पारिएको बताउनु भएको छ।

तुर्किस भाषामा लिइएको यो अन्तर्वार्तालाई स्पष्टता र लम्बाइलाई ध्यानमा राखेर हल्का सम्पादन गरिएको छ।

एस्की: तपाईको गिरफ्तारी, सोधपुछ, सुनुवाइ र सजायको प्रक्रियाको बारेमा बताउनुहोस ? के तपाईलाई दुर्व्यवहार वा यातना दिइयो ?

के यो साँच्चै कानुनी अदालत थियो वा फैसला पहिले नै भएको थियो ? सुनुवाई १० वर्षसम्म चल्यो। सजाय १० वर्षमा ३ महिना कम गरिएको थियो किनभने सीमितताको विधान लागू हुने थियो, र यदि १० वर्ष बितिसकेको भए कुनै सजाय बिना हामी रिहा हुने थियौं। त्यसपछि यो मुद्दा टर्कीको संवैधानिक अदालत (एवाईएम) मा अगाडि बढ्यो।

मलाई चार दिनसम्म प्रहरी हिरासतमा सुत्न दिइएको थिएन। सोधपुछ दिनरात चलेको थियो। मलाई दृष्टिभ्रम थियो। म सचेत थिएँ, मलाई कुनै पनि शारीरिक यातना दिइएको थिएन तर तिनीहरूले मलाई सुत्न दिएनन; उनीहरूले सायद मलाई नशालु औषधि दिए। मलाई मेडिकल स्टाफबाट रगत जाँच्न भनिएको थियो। मेरो पेट धेरै दुखिरहेको थियो र पेट गड्याङगुडुङ गरिरहेको थियो। तर चिकित्सकहरूले रगत परीक्षण गर्न अस्वीकार गरे।

मैले प्रहरी हिरासतमा गवाही दिइन। तिनीहरूले तयार गरेको एउटा वक्तव्यमा मैले हस्ताक्षर गरून् भन्ने चाहन्थे, मैले अस्वीकार गरें। सरकारी वकिलको कार्यालयमा पनि त्यस्तै भयो। मैले अभियोजकलाई अस्वीकार गरे, उसले मलाई मुक्का हान्यो, मलाई आक्रमण गर्‍यो। तर पनि मैले हस्ताक्षर गरिनँ। हामीले अदालतमा आपराधिक उजुरी दायर गर्यौं तर कुनै परिणाम आएन।

तपाईको पुन: सुनुवाईको स्थिति कस्तो छ ?

एवाईएमले दोस्रो पुन: सुनुवाईको आदेश दिएदेखि तीनवटा सुनुवाइहरू भएका थिए। म व्यक्तिगत रूपमा सत्रहरूमा उपस्थिति हुन चाहन्थे, तर मेरो अनुरोध अस्वीकार गरियो। म टेलिकन्फ्रेन्स मार्फत उपस्थित भएँ र मेरो रिहाइको अनुरोधलाई वास्तवमै अस्वीकार गरियो।

मैले २० वर्ष जेलमा बिताएकी छु; मेरो परिवार मेरो रिहाईका लागि पर्खेर बसिरहेको छ। मैले मेरो प्रतिरक्षा अदालतमा प्रस्ताव गरें तर म पक्का छैन कि यसमा सुनुवाई हुन्छ। तिनीहरूले मलाई घटनाहरूसँग कुनै सरोकार नभएका घटनाहरूका साक्षीहरूद्वारा चिनाउन खोजिरहेका छन्। अब ममा रिहा हुने कुनै आशा छैन। म मेरो आशाहरूलाई मार्न सक्दिन अन्यथा म जेल यात्रालाई निरन्तरता दिन सक्दिन।

(सम्पादकको नोट: धेरै प्रतिवादीहरू भएका डुमनको पुन: सुनुवाईको चौथो सुनुवाइ, जुन गम्भीर अपराधको १२ औं इस्तानबुल अदालतले डिसेम्बर ९ मा सुनुवाइ गरेको थियो। यो साढे दुई घण्टासम्म चल्यो र उनको विरुद्धको कुनै पनि आरोपलाई सम्बोधन गरेन। टेलिकन्फरेन्सद्वारा उपस्थित भएकी डुमनले कारागारमा छापा मार्ने क्रममा आफ्नो कानुनी कागजात जफत गर्दा आफ्नो प्रतिरक्षाको लागि तयारी गर्ने अधिकार हनन भएको अदालतलाई बताइन्। अदालतले सुनुवाइ हुन बाँकी रहेको उनको अनुरोधलाई अस्वीकार गर्यो र अर्को सुनुवाइको मिति मार्च ३१ तोक्यो।)

तपाईलाई आतंकवादको जस्तो धेरै गम्भीर आरोपमा दोषी ठहराइएको छ। तपाईलाई किन लक्षित गरिएको जस्तो लाग्छ ?

म समाजवादी पत्रकार हुँ। मेरो विरुद्धको मुद्दामा एउटै प्रमाण मेरो पूर्व श्रीमान्‌को गवाही हो। वयान नदिए मलाई बलात्कार गर्छु भनी उनीहरूले उहाँलाई धम्की दिए। उहाँले पछि आफ्नो गवाही त्याग्नुभयो र अदालतलाई भन्नुभयो ‘जसमा मलाई दोष लगाइएको थियो त्यसमा म संलग्न छैन।‘ प्रमाणले उहाँले भनेको कुरालाई स्वीकार गर्यो, तर अदालतले पछिको वयानलाई बेवास्ता गर्यो। हामीलाई सबैभन्दा कठोर सजाय दिइयो। पुलिसले मलाई भनेको छ कि यदि मैले तिनीहरूले तयार गरेको बयानमा हस्ताक्षर नगरेको खण्डमा तिनीहरूले मलाई बुढी नहुँदा सम्म छोड्ने छैनन् जब म हिंड्दा पनि लठ्ठी लिएर हिँड्ने अवस्थामा पुग्नेछ। (टर्कीस कानून अन्तर्गत अस्थायी वा स्थायी छुट्कारा बिना आजीवन कारावास ३० वर्षको हुन्छ )

हामीलाई एटीलिमको बारेमा बताउनुस् ?

एटीलिम एउटा समाजवादी पत्रिका हो जुन मैले मेरो कलेजको दिनदेखि पढ्ने गर्दथे। कलेजपछि त्यहाँ रिपोर्टर भएर काम गर्न थालेँ र पछि समाचार सम्पादक भएँ। हामी जहिले पनि व्यवस्थित रूपमा उत्पीडित हुँदै आएका छौं। मेरो पहिलो फिल्ड कार्यको क्रममा मलाई प्रहरी हिरासतमा लगियो। हिरासतमा लिने काम र दमन कहिल्यै रोकिएको छैन। म हरेक हप्ता अदालतमा थिएँ। मैले अन्य कामको कारण बन्द नगरेसम्म एटीलिमको लागि जेलबाटै राजनीतिको बारेमा लेख्न जारी राखें। मैले मेरा दुईवटा पछिल्ला लेखहरूको लागि आतंकवादी भड्काएको आरोप पनि सामना गरिरहेको छु।

तपाईको स्वास्थ्य कस्तो छ ?

म उच्च रक्तचाप र एरिथमियाबाट पीडित छु। तिनीहरूले हाल मलाई मेरो औषधि दिइरहेका छन् तर मेरो लागि कुनै नियमित अनुगमन ृवो फलोअप छैन। मलाई मेरो रक्तचाप नाप्ने यन्त्र दिइएको छैन। मलाई २० वर्षदेखि उच्च रक्तचाप छ; अधिकारीहरू १० वर्षअघि कैदीहरूको बारेमा बढी चासो लिने गर्दथे। विशेष गरी पछिल्लो पाँच वर्षमा मेरो रक्तचाप बढेको छ तर अस्पतालमा जान समस्या भएको छ। उदाहरणका लागि मलाई मेरो कानमा समस्या छ र म शारीरिक सन्तुलनमा पनि समस्या अनुभव गरेको छु। तर, म त्यसको लागि जँचाउन सक्दिन। हत्कडी लगाएर अस्पताल पठाइन्छ र अस्पतालमा चेक जाँच हुने कक्षमा पनि कैदीसँगै सिपाही प्रवेश गर्दछन्। सिपाही त्यहाँ उपस्थिति भएकोले राम्रोसँग चेक जाँच गर्न मिल्दैन। नाङ्गो हुनु मात्र समस्या होइन, डाक्टर–बिरामी सम्बन्धमा गोपनीयताको नैतिक बुझाइलाई पनि ख्याल गर्नुपर्ने हुन्छ।

जेलमा सामान्य दिन कसरी बिताउनुहुन्छ ?

मसँग धेरै दिनचर्या छैन यद्यपि एउटा चाहिं छ। म बिहानको खाजा खान्छु। म एसिक रेडियोबाट समाचार सुन्छु। म काम गर्छु; किताबहरू पढ्छु। हामी खानाको ब्रेकमा व्यायाम गर्छौं, कहिलेकाहीँ भलिबल खेल्छौं। जन्मदिनको उत्सव हुन्छ, कहिलेकाहीँ म यस्तै गतिविधिहरू व्यवस्थित गर्न मद्दत गर्छु। म हस्त लेखन सम्बन्धी कक्षा लिन चाहन्थें, तर मलाई अनुमति दिइएन। हामी सबै जुम्बा तथा नृत्य कोर्स लिन चाहन्थ्यौं तर जेल अधिकारीहरूले हामीलाई अनुमति दिएनन्, किन मलाई थाहा छैन। आतंकवादसँग सम्बन्धित आरोपमा दोषि नठहर्याएका साधारण कैदीहरूलाई कन्सर्ट र त्यस किसिमका गतिविधिहरूमा भाग लिन अनुमति दिइन्छ। छापा मार्ने दिनमा सामान्य कैदीबन्दीका लागि कार्यक्रम आयोजना गरिएको थियो। हामीमाथि छापा मार्दा उनीहरूले गीत बजाइरहेका थिए।

जेलको अवस्था कस्तो छ ?

हामी ३६ कैदी भएको वार्ड हौं र एक समय थियो जति बेला हामीहरू ३६ जना थियौं। हामी अहिले १२ जना छौं। यो पूर्पक्षको लागि थुना र जेल हुन्थ्यो जसको मतलब पहिले नै दोषी ठहरिएका व्यक्तिहरू अझै पनि मुद्दाको सुनुवाईको पर्खाइमा रहेका मानिसहरूसँग थिए। म बाहिरका विभिन्न व्यक्तिहरूसँग सम्पर्क गर्न सक्षम भएँ। यो एक हिसाबले राम्रै थियो किनभने अन्यथा म बाहिरको बारेमा बिर्सने थिएँ। तर जेलमा परेकाहरू अब यहाँ आउँदैनन्, त्यसैले मसँग अहिले त्यो छैन।

तपाईं स्वतन्त्र हुँदा के गर्न चाहनुहुन्छ ? फेरी पत्रकारिता गर्न चाहनु हुन्छ ?

मलाई पत्रकारिता गर्न धेरै मन छ। बीस वर्ष जेल जीवन धेरै लामो समय हो। म यो व्यवस्थासँग धेरै क्रुद्ध छु। तर म पत्रकारिता गर्न चाहन्छु। मैले बाहिरी कुरा बिर्सेको छु। उदाहरणको लागि, मैले फोटोग्राफी धेरै मिस गरें। मैले मेरो क्यामेरा धेरै पटक मागेँ, तर तिनीहरूले दिएनन्। मसँग डेस्क पनि छैन, क्यामेरा त होस्। म बाहिर हुँदा मैले सबैभन्दा धेरै मिस गरेको काम गर्नेछु। जबसम्म मेरो परिवारले मलाई बन्द गर्दैन (हाँसो)। म बाहिर निस्किदा म म नै हुनेछु, जस्तो म यहाँ छु। म असमानता र अन्याय सहन सक्दिन। म अध्ययन गर्दैछु। मैले एक अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेको छु, अब म खुला विश्वविद्यालयमा इस्लामिक विज्ञान अध्ययन गर्दैछु। तर, पुस्तक र स्रोतको अभाव छ। हामीसँग एक पटकमा सात पुस्तकहरूको सीमा छ र हामीलाई नयाँ पुस्तकको लागि दुई महिना पर्खनुपर्दछ।

कमिटी टु प्रोटेक्ट जर्नलिष्टको वेवसाइटमा छापिएको अन्तर्वार्ताको भावानुवाद।

 

 

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

प्रबन्ध सम्पादक: राजेश घिमिरे

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link
Powered by Social Snap