कानुनी राज: हाम्रा लागि सपनाका कुरा

केशवप्रसाद भट्टराई

अक्टोबर २०१३ मा अन्तर्राष्ट्रिय कुटनीतिमा आफूले पुर्‍याएको योगदानका लागि आफूलाई प्रदान गरिएको एउटा प्रतिष्ठित पुरस्कार ग्रहण गर्न पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टन बेलायत गएकी थिइन्। त्यसै बखत पार्किङ् नियम उल्लङ्घन गरे वापत ब्रिटिस प्रहरीले हिलारी क्लिन्टनलाई ४० पाउण्ड जरिवाना तिरायो। क्लिन्टनले आफ्नो क्रेडिट कार्डद्वारा सो रकम तिरिन।

स्मरण रहोस, क्लिन्टनका सहयोगी र सुरक्षा अधिकारीले प्रहरीलाई उनी ब्रिटिश सरकारकी विशिष्ट अतिथि र अमेरिकी विदेश मन्त्री भएको बताएर जरिवाना न लगाउन अनुनय -विनय र एक किसिमले चेतावनी पनि दिए तर ती ब्रिटिश प्रहरी अधिकारीले भने मलाई मेरो देशको कानुन पालना गराउने जिम्मेवारी राज्यले दिएको छ।

प्रहरी अधिकारीले थप के पनि सम्झाए भने बेलायतमा कानुनले सवैलाई बराबर मान्दछ। त्यसैले कसको व्यक्तिगत स्तर र मर्यादा कस्तो छ ? विश्व राजनीतिमा उसको स्थान के छ ? भन्ने कुरालाई कानुनले हेर्दैन र हिलारी क्लिन्टनले उक्त कुरा राम्ररी बुझ्नु हुन्छ। त्यो भयो पूर्व अमेरिकी विदेश मन्त्रीलाई जरिवाना तिराएको कुरो।

ब्रिटिश प्रहरीले आफ्नै प्रधानमन्त्री बोरिस जोनस९न र उनका अर्थमन्त्री ऋषि सुनक (हाल प्रधान मन्त्री)लाई कोरोना र लकडाउनको प्रोटोकल उल्लङ्घन गरेर प्रधान मन्त्रीकै निवासमा जन्मदिन समारोह मनाएको भनेर २०२०मा जरिवाना तिराएको थियो।

प्रधानमन्त्री, अर्थमन्त्री आदिले सार्वजनिक रूपमै क्षमा मागेर जरिवाना तिरेका थिए।

हालै ब्रिटिस प्राधनमन्त्री ऋषि सुनकले गाडीमा सिट बेल्ट नलगाई यात्रा गरेछन् – ब्रिटिस प्रहरीले उनलाई जरिवाना तिरायो र प्रधानमन्त्रीले माफी मागे।

संसारका सर्वशक्तिमान राष्ट्रपति जो बाइडेन। अमेरिकी राष्ट्रपति किन सर्वशक्तिमान् छन भने उनको मुलुकमा कानुन सर्वशक्तिमान छ र सर्वशक्तिमान कानुन अनुसार चल्ने राज्य अङ्गहरूको नेतृत्व उनले गर्दछन्।

स्वयम् राष्ट्रपतिमाथि छानबिन गर्ने हैसियत र क्षमता त्यहाँका कानुनी संरचनाहरूले राख्दछन् जस्तो –

गोपनीय सरकारी कागजात आफ्नो निजी घरमा राखेको अभियोगमा अमेरिकी राष्ट्रपतिको निजी निवासमा अमेरिकी न्याय मन्त्रालय र सङ्घीय अनुसन्धान विभागले छापा मार्यो।१३ घण्टा सम्म खानतलाश गर्‍यो।

को पदमा कसरी आउँछ भन्ने कुराले मात्रै प्रजातन्त्रलाई परिचय दिँदैन, को पदबाट कसरी जान्छ भन्ने सवाल उत्तिकै महत्वपूर्ण छ। अर्को शब्दमा भन्दा प्रजातन्त्रको  सफलता र प्रभावकारिताका लागि राजनीतिक नेतृत्वको स्वैच्छिक र सम्मानजनक वहिर्गमन पनि त्यत्तिकै आवश्यक हुन्छ।

त्यसले प्रजातन्त्र कसरी चलेको छ भन्ने बुझाउन मद्दत गर्छ। जस्तो- सन् २०१७मा ३७ वर्षको उमेरमा जेसिका आर्डेर्न न्युजिल्याण्डको प्रधानमन्त्री भइन्। प्रधानमन्त्रीको रूपमा यति महत्वपूर्ण र विशिष्ट जिम्मेवारीको पदमा रहिरहन आफूसँग कुनै नयाँ नीति र कार्यक्रम नभएकोले पदमा रहिरहने आवश्यकता नदेखेकोले पद त्याग गर्ने निर्णय गरेको उनले बताइन। ४२ वर्ष कै उमेरमा उनले त्यो निर्णय गरिन्।

केही महिना अघि मात्रको अर्को उदाहरण छ- ट्याक्स घटाउने, अर्थतन्त्रमा सुधार गरेर ठूलो आर्थिक वृद्धि हाँसिल गर्ने र ब्रेग्जिटबाट प्राप्तहुने लाभहरू मुलुकलाई उपलव्ध गराउने आफ्नो पार्टीको म्यान्डेट लिएर प्रधानमन्त्री भएको तर विद्यमान परिस्थितिमा पार्टीले आफूलाई दिएको सो म्याण्डेट अनुरूपका लक्ष प्राप्त गर्न नसकिने लागेकोले आफूले प्रधानमन्त्रीको पदबाट राजिनामा दिने कुरा राजालाई जानकारी गराएको सार्वजनिक जानकारी गराएर ब्रिटिस प्रधानमन्त्री लिज ट्रस राजा समक्ष राजिनामा दिन गएकी थिइन्। उनले हनिमुन पिरियड पनि मागिनन् , ४४ दिनमात्रै पदमा रहेर बिदा भइन्। कसैलाई दोष दिइनन् ,राजनीतिक आत्मरक्षाकोलागि कुनै तर्क, वितर्क वा कुतर्क नगरी सरक्क पद छोडेर हिडिन्।

भारतीय प्रधानमन्त्री नेहरू र उनका विदेश सचिवको एउटा सन्दर्भ यहाँ उल्लेखनीय छ। प्रजातन्त्र भनेको सँस्थाहरूको सँस्था हो। प्रजातन्त्रमा शासन नै सँस्थाहरूले गर्दछन्।  देश तिनले चलाउँछन्। राष्ट्रपति , प्रधान मन्त्री, मन्त्री परिषदले शासन गर्दैनन् , उनीहरूले कानुन बनाउने, विधि र पद्धति निर्माण गर्ने काममा संसदलाई सहयोग गर्दछन्। नीति निर्माण गर्दछन्। शासन त प्रहरी, निजामती प्रशासन र अन्य राज्य निकायले गर्ने हो।

यसलाई यसरी स्पष्ट पारौँ – एउटा सन्दर्भमा भारतीय निजामती सेवाका सचिव र कूटनीतिज्ञ गिरिजाशङ्कर बाजपेयीले त्यस बखतका सर्वशक्तिमान प्रधानमन्त्री जवाहरलाल नेहरूको आदेश अनुरूप काम गरेनन्। नेहरू उनकै कार्यकक्षमा गए र आफ्नो असन्तुष्टि व्यक्त गरे।

अनि बाजपेयीले भने श्रीमान् हामी आदेश होइन कानुन (Rule) पालना गर्दछौँ।

स्मरण रहोस रूल (Rule) भनेको शासन संचालनका लागि निर्धारित नियम, कानुन, सिद्धान्त, विधि र प्रक्रिया समेत हो। अनि नेहरूले भने “It।s me who make the rules” अर्थात् कानुन बनाउने भनेकै म हो, म कानुन बनाउँछु ।

अनि बाजपेयीले फेरी भने -Sir, you make the rules, but we rule.”

श्रीमान् तपाईँहरू कानुन बनाउनु हुन्छ तर शासन हामी गर्छौँ।

बाजपेयीको व्यक्तित्वको परिचय दिने यो सन्दर्भ पनि हेरौँ -जवाहरलाल नेहरूले स्वतन्त्र भारतको प्रधानमन्त्री पदको शपथ लिए, तर उनका लागि निर्धारण गरिएको कक्ष विदेश मन्त्रालयका प्रमुख सचिव अर्थात् सेक्रेटरी जनरल सर गिरिजाशङ्कर बाजपेयीको कार्यकक्ष थियो।

वाजपेयीको कार्यकक्ष रहेको साउथ ब्लकको उक्त भवन र कार्यकक्ष ठूलो थियो, सुन्दर र आकर्षक थियो -त्यसैले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्रीलाई त्यो भवन र त्यो कार्यकक्ष रोजिएको थियो।

बाजपेयीलाई अर्को कार्यकक्ष व्यवस्थापन गरेर प्रधानमन्त्रीलाई सो कार्यकक्ष उपलव्ध गराउन केही दिन आवश्यक थियो र सरकारी अधिकारीहरू र प्रधानमन्त्रीका सहयोगीहरूले डराई डराई सङ्कोचपूर्वक नेहरूलाई सो बताए।

नेहरूले हत्त न पत्त भने –भो भो त्यो कक्षमा उहाँ नै बस्नुहुन्छ, मलाई अन्यत्रै कतै व्यवस्थापन गरे हुन्छ।

अनि साउथ ब्लकको अर्को भवनको  एउटा सानो कक्षलाई नेहरूले आफ्नो कक्ष बनाए।

गिरिजाशङ्कर बाजपेयी असाधारण क्षमताका व्यक्ति थिए। विश्व राजनीतिका महा पण्डित नै थिए। भारतका कुनै पनि प्रशासक र राजनीतिज्ञ उनीसँग दच्किने -हच्किने गर्दथे। स्वयम् नेहरू उनीसँग धक मान्थे र उनको अगाडि आफूलाई सामान्य राख्न उनी प्रयास गर्दथे।

असाधारण ज्ञान, अनुभव, नेतृत्व र निर्णय क्षमताका कारण हरेक महत्वपूर्ण विषयमा नेहरू उनकै परामर्श माग्दथे र त्यसलाई अनुमोदन गर्दथे।बाजपेयीको स्वास्थ्यले अनुमति नदिएकोले उनलाई विदेश मन्त्रालयको सचिवबाट तत्कालीन बम्बैको राज्यपाल बनाइएको थियो र १९५४मा उनको निधन पनि भयो।

के पनि बुझौँ भने नेपालको सवालमा मोहन समशेर, राजा त्रिभुवन, सात साल लगत्तैको अवधिमा मातृकाप्रसाद र वीपीदेखि लिएर सिक्किम, भुटान चीन र पाकिस्तानका सवालहरूमा नेहरूका निर्णयहरूमा बाजपेयीको छाप थियो। काश्मिरको सवालमा भने नेहरूले बाजपेयी, सरदार पटेल, मेहरचन्द महाजन, भी पी मेननहरूका कुरा सुनेनन् र त्यसैले नै काश्मिरमाथि पाकिस्तानको आक्रमणको स्थिति निर्माण भएको इतिहासले बताउँछ। भारतीय सेनाले उक्त आक्रमणमा पाकिस्तानलाई पराजित गरेर सिङ्गो काश्मिरलाई भारतको नियन्त्रणमा लिने सुनिश्चितता थियो तर पनि नेहरूले भारतीय सेनालाई युद्ध रोक्न आदेश दिएकाले काश्मिर विभाजित भएको बताउने धेरै भारतीय विज्ञ छन्। बाजपेयीको टक्करका विदेश सचिव झन्डै भारतले नपाएको विज्ञहरू बताउने गर्दछन्।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

कानुनी राज: हाम्रा लागि सपनाका कुरा
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link