सुस्ताका सीमा रक्षक गोपालप्रसाद गुरुङको बिदाई

हार्दिक श्रद्वाञ्जली गोपाल दाई।

‘सुस्ता बचाऊ’ आन्दोलनका अभियन्ता गोपालप्रसाद गुरुङको आज अन्त्येष्टी हुँदै छ। गुरुङ संस्कार अनुसार जन्मथलो तनहुँको शुक्लागण्डकी नगरपालिकाको डिलेगौँडामा अत्येष्टी गर्ने तयारी भईरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्दर जयसवालले जानकारी दिनुभएको छ। स्वर्गीय गुरुङलाई हिजो आफ्नै निवास सुस्तामा राष्ट्रिय झण्डा ओढाएर स्थानीय प्रदेश सांसद देवकरण कलवारले श्रद्वाञ्जली अर्पण गर्नुभएको थियो।
गत पुस ८ गते मस्तिष्कघातका कारण आफ्नै घरमा बेहोस भएका गुरुङको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा शनिवार निधन भएको हो। आर्थिक अभावका कारण शल्यक्रिया गर्न तीन दिन ढिलाई भएकाले उहाँको मृत्यु भएको प्रवक्ता जयसवालको भनाई छ। पैसा जुटाउन ढिलो भयो। त्यसैले शल्यक्रिया समयमा हुन सकेन। बचाउन सकिन्थ्यो कि भन्ने आशा थियो तर सकिएन जयसवाले भन्नुभयो। उपचारमा १० लाख रूपैयाँ खर्च भएको छ। करिब ६ लाख अस्पतालमा बुझाइएको छ। बाँकी ४ लाख ऋणमा छ। आर्थिक अभावले उपचारमा समस्या भएपछि सुस्ताका स्थानीयले १ लाख ९० हजार संकलन गरेका थिए। परिवार, आफन्तजन र केही सहयोगीहरूबाट गरि ६ लाख संकलन गरेको हो।
भारतीय सीमामा रहेको सुस्ताको भूमि जोगाउन २४ वर्षभन्दा बढी भारतिय सुरक्षाकर्मीको ज्यादती सहनुभयो। सुस्तको विकासका आमुल परिवर्तन ल्याउनुभयो। तर रकम अभावकै कारण गुरुङको ज्यान गएको स्थानीयको भनाइ छ। उहाँले सर्वस्व जनताको सेवामै समर्पण गरेकाले उपचारका निम्ति  केही पनि थिएन। उनलाई बचाउने अभियान ग¥यो। सरकारसंग हार गुहार गर्दा पनि सुनेन। सुविधा सम्पन्न अस्पताल लैजान सकेको भए बचाउन सकिन्थ्यो कि भन्ने हामीलाई आस थियो। सुस्ता बचाउन अभियानका उपाध्यक्ष आदम खाँ भन्नुहुन्छ, ‘देशका लागि एक्लै लडेका गोपालको रकम अभावकै कारण ज्यान गयो।’
५९ वर्षको उमेरमा निधन भएका गुरुङ २०५५ सालमा नेपाल प्रहरीको हवल्दारबाट अवकाश पाएपछि सुस्तामै घर बनाएर बसोबास थाल्नु भएको हो। सुस्ता चौकीमै ड्युटी रहेकै बेला उहाँले अवकाश पाउनुभयो। गुरुङका २ छोरी र १ छोरा छन्। नेपाली भूमि माथि भएको भारतीय अतिक्रमण, नेपालीप्रति गरिएको दुर्व्यवहार, हेपाई सहन नसकेर गुरुङले त्यसको विरुद्व जीवनभर लड्ने प्रण गर्नुभयो। सुस्तावासीलाई संगठित गर्न थाल्नुभयो। त्यो सहन नसकेर भारत सरकारले झुठो मुद्दा लगाएर १ वर्ष जेलमा कोच्यो। जेलबाट निस्केपछि पनि उहाँ निरन्तर सुस्ता बचाउ अभियानमा सकृय हुनुभयो।
सीमाविद वुद्धिनारायण श्रेष्ठ, चेतनजंग हिमाली, फडिन्द्र नेपाल, डा. शास्त्रदत्त पन्थ, रामचन्द्र चतौल, गोपाल शिवाकोटी लगायतको टोलीले सुस्ता अनुगमन पश्चात नेपाली भूमि अतिक्रमण रोक्ने उद्देश्यले २०६२ साल जेठ १७ गते सुस्ता बचाउ अभियान शुरु भयो। उक्त अभियानको नेतृत्व, संयोजक गोपाल प्रसाद गुरुङलाई चयन गरियो। सो अभियान थालनी भएपछि नेपालका धेरै मिडियाले सुस्ताको वास्तविकता बाहिर ल्याउने मौका पायो। नागरिक स्तरबाट आन्दोलन शूरुवात भयो। त्यसपछि सरकारको ध्यानकर्षण भयो। सरकारका उच्च अधिकारी, अधिकारकर्मीहरू, राजनीतिज्ञहरू सुस्ता पुग्ने पुलको काम मात्रै होईन सुस्ताको वास्तविकता जानकारी गराउने कार्य गुरुङले गर्न थाल्नुभयो।
सुस्ता भूमिको अतिक्रमण रोक्न र त्यहाँको विकासका निम्ति गुरुङको अगुवाईमा सरकार, सरोकारवालाहरूलाई निरन्तर झकझक्याउदै स्थानीय देखि केन्द्र सम्म निरन्तर लागिरहनुभयो। सुस्ता भूमिका नागरिकलाई नेपाल सरकारले न्यूनतम आधारभूत सेवा सम्म प्रदान गरेका थिएन। न नेपाली भूमिमा सम्पर्क रहने माध्यम नै थियो। किनवेच देखि हरेक चिज भारतमा निर्भर पर्नुपर्ने बाध्यता थियो। त्यसैले त्यहाँका नागरिकले बोल्ने भाषा पनि हिन्दी नै थियो। त्यो समयमा नेपाली भाषा बोल्ने र बुझ्नै विरलै मान्छे थिए। जब गोपाल गुरुङ सुस्तामा बस्न थाल्नुभयो त्यसपछि नेपाली भाषाको समेत विकास भयो। नेपाली बोल्नेहको आवातजावत बढेपछि यो दुई दशकमा भाषिक हिसावले पनि आमुल परिवर्तन भएको छ।
अभियानपूर्वको सुस्ता
जतिवेला गोपाल गुरुङले सुस्ता वचाउ अभियानको थाल्नु भयो त्यो समयमा सुस्ताका नागरिकले राज्यबाट पाउनुपर्ने न्यूनतम आधारभुत सेवा सुविधा पनि पाउन सकेका थिएन।  सुस्ता पुग्न भारत हुँदै जानुपर्थ्यो। कि त डुङ्गाको साहाराले नारायणी नदि तरेर जानु पर्थ्यो।  नारायणी नदि र स्थानीय खोलाहरूको डुवान र कटानको समस्या थियो। सुस्ताबासीले नेपाली नागरिकता पाएका थिएन। बालबालिकाहरू भारतीय विद्यालयहरूमा पढ्न जानुपर्ने बाध्यता थियो।  स्वास्थ्य केन्द्र नभएकाले उपचारको अभावमा अकालमै ज्यान जाने समस्या थियो। सर्पदंशको विग विगी थियो। वर्षेनी सर्पदंशबाट अकालमै ज्यान गुमाउनुपर्ने थियो।  बालिनाली लगाएपनि स्याहार्ने वेला भारतीय नागरिक र एस एस वि फोर्सले काट्दिने, नास गरिदिने गर्थ्ये। अधिकांश सुस्ताबासीले नेपाली भाषा बोल्न सक्दैनथ्यो।

गोपाल गुरुङको योगदान
प्रहरी सेवाबाट निवृत्त भएपनि गोपाल गुरुङले सुस्ता भूमिको बचाउका लागि आफ्नो जीवन समर्पण गर्ने प्रतिज्ञा गर्नुभयो। पोखरा जस्तो सुख सुविधा ठाउंलाई त्यागेर सुस्ताको झाडीमा एउटा सामान्य कटेर बनाएर बस्न थाल्नुभयो। सुस्तामा भएको भारतीय अतिक्रमण ज्यादतिको विरुद्वमा निरन्तर लडिरहनु मात्रै भएन सुस्ताको विकासका निम्ति निरन्तर लाग्नुभयो। उहाँले यो अभियान थालनी गरिसकेपछि हरेक सरकारका प्रमुख, राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीहरूलाई सुस्ता भूमि र त्यहाँको विकासका बारेमा झकझक्याउने कार्य गर्नुभयो। उहाँकै कृयाशिलताका कारण नेपालका सरकारी अधिकारी र सरोकारवालाहरूको निरन्तर अनुगमन, दवाव बढेकाले भारतीय अतिक्रमण र ज्यादती धेरै हद सम्म रोकियो।
१. तत्कालिन राजा ज्ञानेन्द्र शाह बुटवलमा सवारी भएको वेला उहाँ सुस्ता भूमि बचाउनका निम्ति जंगे पिलर, शान्ती, सुरक्षाको माग गरेपछि एक हप्ता भित्रै सशस्त्र प्रहरी क्याम्प स्थापना भयो। नेपाली सुरक्षाकर्मीको उपस्थिति पछि त्यहांका नागरिकले ठूलो राहत पाए। भारतीय सुरक्षा फोर्स एस एस विले दिन दाहडै दुख दिने, नेपाली भुमि अतिक्रमण हुन रोकेको छ।
२. सुस्तामा आवत जावत भारतीय भूमिको प्रयोग गर्नुपर्ने बाध्यताबाट हटाउन गुरुङकै पहलमा नारायणी नदिमा निर्माधिन झोलुङ्गे पुल सम्पन्न हुने चरणमा छ।
३. डुवान कटान नियन्त्रणका लागि नारायणी नदिमा तटवन्ध गरिएको छ।
४. ४ किलोमिटर सडक पिच गरिएको छ।
५. विद्युतको राष्ट्रिय प्रसारण पुग्न नसकेको सुस्तामा बैकल्पिक सौर्य उर्जा(सोलार) मिनि ग्रेट परियोजना सञ्चालन गरि विद्युतको व्यवश्था गरिएको छ।
६. सबै फुस/खरको छानो रहेको सुस्ता वस्तीमा २ सय ५० घर परिवारलाई जनता आवास कार्यक्रम मार्फत घर निर्माण गरि हस्तान्तरण गरिएको छ।
७. स्वास्थ्य ईकाईको स्थापना गरिए जनतालाई आधारभुत स्वास्थ्य सेवा प्रदान गरिएको छ।
८. कक्षा ८ सम्म पढ्ने विद्यालयको स्तरउन्नती गरेर सुस्ताबासीका बालबालिकालाई शैक्षिक सेवा प्रदान गरिएको छ।
९. ३१ सय ३३ जनसंख्या रहेको सुस्तामा ३ सय ६० जनाले नागरिकता पाएका छन्। त्यहां अझै नागरिकता पाउन योग्य करिव १२ सय जति छन्। सवै सुस्ताबासीलाई नागरिकता प्रदान गर्ने गोपाल गुरुङको सपना अझै अधुरो रहयो। नागरिकतासंगै जग्गा पुर्जाको पनि उस्तै समस्या छ। सुस्ताबासीले अझै सम्म जग्गाको लालपुर्जा पाउन सकेको छैन।
गोपाल गुरुङको सम्झना।
२०६१ साल तिर म परासी बस्थें। बाल समूहहरूको जिल्ला सञ्जालको सचिव थिएँ। हामीले उषा नामक बाल म्यागेजिन निकाल्थ्यौं। म त्यो पत्रिकाको कार्यकारी सम्पादक थिएँ। सुस्ता अतिक्रमण भएको कुरा सुन्ने गथ्यौंं। म बाल क्लब गठन गर्न त्रिवेणी सुस्ता गाविस पुग्दा नेपाली भूमि अतिक्रमण भएका क्षेत्र नारायणी नदि वारीबाट हेरेको थिएँ। पछि म व्यवसायिक पत्रकारितामा प्रवेश गरेपछि एउटा पत्रकार सम्मेलनमा सीमाविद सीमाविद वुद्वि नारायण श्रेष्ठसंग भेट्ने मौका मिल्यो। उहाँले सुस्ता जान सुझाउनुभयो। गोपाल गुरुङको वारेमा भन्नुभयो। हामी सुस्ता जाने निधो ग¥यौं। समुद्र जस्तो विकास विशाल नारायणी नदि टेरेर सुस्ता पुग्यौं। नदिमा डुंगा म पहिलो पटक चढेको थिएँ। मेरो लागि त्यो भन्दा ठुला डर सायदै अनुभव गरेको थिएन। नदि किनार भरि उंखुका लाथ्राको चाङ्ग थियो। ढुङ्गाबाट वारी टारेर उद्योगमा ल्याउने रहेछ। नदि पारी पुरै उंखु बगान देखें। नदि पारी भारतीय सुरक्षाकर्मी एस एस वि फोर्स बस्छ। वाहिरको मान्छे गएपछि पिट्ने दुख दिने काम गर्छ भन्ने सुनेको थिएँ। साना साना फुसको छाप्रो जस्तो घरहरू।
हामीसँग बोल्ने डराउने। घर भित्र पसेपछि बाहिर ननिस्कने। हामीलाई देखेपछि भाग्ने। नेपाली भाषा बुझ्दा रहेनछ। निक्कै गाहारो भयो। डुल्दै जाँदा लैला वेगम भन्ने एक जना महिलालाई भेट्यों। हक्की बोल्ने। ज्याङ्गो महिला। तर नेपाली भाषा बुझ्ने बोल्न नजान्ने रहेछ। उहाँकै साहरामा गोपाल गुरुङलाई भेट्यौंं। उहाँले नेपाली सशस्त्र क्याम्पमा लानुभयो। करिव ३ घण्टा जति लगाएर सीमा डुलाउनुभयो। भारतीय सुरक्षाकर्मीले नेपालीहरूलाई दिएको ज्यादती, फलेका अन्न खाईदिने। एसएसवि फोर्सको सहयोगमा भारतीय स्थानीयले अन्न मासिदिने, विभिन्न यातना दिएका कहानी सबै बुझ्न पाईयो। नेपालको वास्तविक सीमा, अतिक्रमण भएका सवै भुमि हेर्ने मौका मिल्यो। गोपाल गुरुङ नभएको भए सायदै हामीले त्यहांको रिपोटिङ्ग गर्न सम्भव थिएन। उहाँसंगको भेट पछि त्यहां भएको हरेक गतिविधिमा अपडेट हुने, केही समस्या आउने वित्तिकै हामीलाई गोपाल दाईले टेलिफोन गर्नुहुन्थ्यो। त्यसपछि हामीलाई सुस्ता जोड्ने काम गोपाल दाईले नै गर्नुभयो।
समाचारहरूमा सुस्ताको विषयमा प्राथामिकतामा आउन थाल्यो। पछि २०६५ मा कान्तिपुर टिभिमा मैले नियुक्ति पाएपछि पहिलो पटक रिपोटिङ्ग गर्न सुस्ता पुगें। २ दिन वसेर त्यहाँ सवै समस्याहरू सुटिङ्ग गरेर फर्के। त्यहाँको शिक्षा, स्वास्थ्य, कृषि, सीमा सुरक्षा, अतिक्रमण, बालबालिका, नदिको डुवान कटान लगायत आधा दर्जन रिपोर्ट बनाएं। टोलीमा नेपाल पत्रकार महासंघ नवलपरासीका तत्कालिन अध्यक्ष स्वर्गीय कृष्ण बहादुर कार्की, नेपाल टेलिभिजनका पत्रकार लाल कुमार भट्टराई, सगरमाथा टिभिका पत्रकार दिपक भट्टराई र म लगायत टोली थियौं। गोपाल दाईको आतिथ्यता, माया, देशप्रतिको चिन्ता, सुस्ताको विकासका वारेमा राख्नुभएको कुरा आज आईपुग्दा धेरै नै सकरात्मक परिवर्तन भएको छ। त्यतिवेला सुस्ता पुग्दा त्यहांका बासीन्दा हामी नेपाली नै हौं भनेर उहाँहरूले भन्ने शब्द बोहक नेपालको सरकारले आफ्नै भूमि हो भन्ने कुनै त्यस्तो काम केही गरेको देखिदैनथ्यो। सरकारले कुनै सुविधा नदिंदा पनि किन नेपाली भईरहनु परेको होला यिनिहरूलाई जस्तो लाग्थ्यो हामीलाई। तर सुस्तावासीको नेपालप्रतिको माया, त्याग देखेर खुशी लाग्थ्यो। त्यहां भारतमा हुने हरेक निर्वाचनमा स्थानीय उमेदवारहरूले आफ्नो सरकार आएपछि सुस्ताको जग्गा दिने आवश्वासन दिंदा रहेछ। चुनाव सकेपछि भारतीय भुमिहिनहरू त्यहां आउने। भारतीय सुरक्षावल एसएसवी फोर्सले सहयोग गर्ने गर्दा रहेछन्। फलाएका अन्नहरू काटेर लगिदिंदा पनि टुलुटुलृु हेर्ने वाहेक सुस्ता वासीसंग विकल्प थिएन। दाईको अभियानले नै सुस्ताको सीमा अतिक्रमण रोक्नुका साथै त्यहांको आधारभुत विकास भएको हो।
नेपाली भूमिको संरक्षण र सुस्ताको विकासमा समर्पित गोपाल दाईको निधनले अत्यान्तै मर्माहत बनाएको छ। गोपाल दाईका केही सपनाहरू थिए। केही पुरा भए केही बाँकी छन्। उहाँ भन्नुहुन्थ्यो। सीमा सुरक्षाका निम्ति जंग पिलार, सुस्तामा जग्गा लालपुर्जा, सुस्तावासीको नागरिकता, विद्युत, उंखु बजारको सुनिश्चिता, नारायणी नदिमा पुल लगायत यी कार्यहरू राज्यले सम्बोधन गरियोस। उहाँको उपचारमा लागेको ऋण तिरिदिने व्यवश्था गरियोस। देशको सीमा रक्षाका निम्ति आफ्नो जीवन समर्पण गरेका गुरुङको सन्ततिलाई रोजगारीको व्यवश्था, उहाँको योगदानको विशेष सम्मान होस। एउटा सच्चा राष्ट्रसेवक, देशको भूमि बचाउने गोपालदाईलाई बचाउने विषयमा राज्यले चासो लिनुपथ्र्यो। त्यो भएन। जे होस गोपालदाईले जे जति गर्नुभयो त्यो हरेक सुस्तावासी सच्चा नेपालीको मन मुटुमा रहिरहनेछ। सुस्ताको मियो ढलेको छ। अव त सुस्तामा भएका कुरा कसले भनिदेला भन्ने चिन्ता बढेको छ। गोपाल दाई सुस्ता भारतीय एस एस विको वुट नेपाली भुमिमा बजारिंदा, सुस्तामा नारायणी पस्दा, सर्पको टोकाईबाट मान्छेको मृत्यु हुँदा होस या सुस्तामा भएको विकासका बारेमा फोन गरेर समाचार लेख्न उत्प्रेरित गर्ने दाई रहनुभएन। ता पनि दाईको योगदानलाई ईतिहांसले सधैं सम्झि रहेनछ। बैकुण्ठ बासको कामना गर्दछु। हार्दिक श्रद्वाञ्जली गोपाल दाई।

तस्बिरः उपचारका क्रममा गोपालप्रसाद गुरुङ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link