बेनीबाट पठाइयो अयोध्यामा रामसीताको मूर्ति बनाउने शिला

श्रीरामजन्मभूमि भारतको अयोध्यामा निर्माणाधिन मन्दिरमा राखिने भगवान सीतारामको मूर्ति बनाउनका लागि छनौट गरिएको शिलालाई म्याग्दीको बेनी नगरपालिकामा पुजाआजा गरेर जनकपुर पठाइएको छ। जनकपुरबाट ती शिला अयोध्या पठाइनेछ।
रामजन्मभूमिमा रहेको राम मन्दिर ट्रष्टका प्रमुख प्रकाश गुप्ताका अनुसार ती दुई शिलाबाट मन्दिरमा गर्भगृहमा राखिने राम र सीताको मूर्ति राखिने छ।
शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान श्रीरामको बालरुपको मुर्ति निर्माण गर्ने तय भैसकेको छ। म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला क्रेनमार्फत शिला निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो। बिहीवार श्रीपञ्चमीको दिन शिलाको विशेष पूजाआजा गरी जनकपुरधाम हुँदै अयोध्या पठाइएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो।
गत आइतवार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक बिधिअनुसार क्षमापुजा र गंगा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतिक स्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गर्नुभएको थियो।
नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापुजाको काम सम्पन्न भएपछि श्रीपञ्चमीको शुभसाइतमा शिला अयोध्या पठाइएको हो।
सूर्यवंशी राजा र भारतीय राजनीतिको केन्द्र हो अयोध्या मर्यादा पुरुषोत्तम भगवान रामको जन्मस्थल,भारतीय संस्कृति,शिक्षा र सभ्यताको उद्गम्स्थल र प्राचीन सूर्यबंशी राजाहरुको राजधानी समेत रहेको प्राचीन नगरी अयोध्या हिन्दू सभ्यतालाई संसारभरी चिनाउने आखी झ्याल बनेको छ।
अयोध्याका आठ नाम छन् हिरण्य, चिन्मया, जया, अयोध्या, नन्दिनी, सत्या, राजिता र अपराजिता। यो नगर साकेत, कोशल या अवध कहलिने ठूलो भूभाग ओगट्ने राज्यको राजधानी थियो। यो पवित्र प्राचीन सप्तपुरीमध्य पर्दछ। अयोध्या, अवन्ती या उज्जैन, काँची, द्वारिका, काशी, माया या हरिद्वार र मथुरालाई प्राचीन सप्तपुरी मानिन्छ। भगवान श्रीरामको जन्मभूमी,शिद्ध महात्माहरुको तपोभूमी र ज्ञानको महासागर मानिने अयोध्या श्रीरामको परमधाम भएपछि उजाड भएको र पछि राजा विक्रमादित्यले अयोध्यालाई पुनः पुर्नजीवित बनाएको इतिहास रहेको छ।
राजा विक्रमादित्यले नै वनभित्र आफ्नो अस्तित्व छिपाएर बसेका सम्पूर्ण भग्नावशेषहरुको जिर्णोद्धार गरे। उनैले अयोध्या महात्म्य भन्ने पुस्तकको रचना गर्न लगाए, र बिक्रम सम्बतको सुरुवात गरे। त्यसपछिका केही शताव्दिमा अयोध्याको महत्व झन् बढ्दै गयो र यसको नव निर्माण हुदै रह्यो।
तर लगभग आठौ शतादिदेखि विदेशी आक्रमणकारीहरुको शिकार हुँदै गयो अयोध्या। शाह फिरोज, मुहम्मद तुगलक, सिकन्दर लोदी, बावर र औरंगजेव आदिले पटक पटक कठोर आक्रमण गर्दा पनि अयोध्याले आफ्नो गरिमालाई जोगाई राख्नु अत्यन्तै आश्चर्यको कुरा हो। भौतिक संरचना तहसनहस होलान, तर जनताका आस्थाका किल्लाहरू जति शक्तिशाली बादशाहले पनि भत्काउन सक्दा रहेनछन। अटल आस्था अजेय हुन्छ भन्ने उदाहरणको रुपमा आफ्नो शिर ठाडो पारेर झन् जीवन्त रुपमा खडा भइरह्यो अयोध्या।
अयोध्या आश्चर्यजनक ठाउँ हो। अयोध्यामा जति पनि मठ, मन्दिर र अखाडा छन्, ती सवै सन्त महात्माका देन हुन। कुनै संरचनामा पनि सरकारको योगदान छैन। मठ, मन्दिर र अखाडाका सन्त, महन्त र पूजारीलाई हजारौं लाखौँ भक्तजनले चढाएको दश, बीस, शय पचासको रकमबाटै करोडौं जम्मा हुन्छ र त्यसैबाट, खाना, आवास, धर्मशाला पूजापाठ चल्दछन। सरयु नदीको तटमा अवस्थित अयोध्या धाम हिन्दुहरूले भगवान् रामको जन्मस्थान भनी विश्वास गरेको पवित्र तीर्थस्थल हो। यो भारतको उत्तर प्रदेशको फैजावाद जिल्लामा पर्दछ।
मुगल सम्राट्ले सन् १५२८ मा मस्जिद निर्माण गरेको इतिहासमा उल्लेख छ। सन् १८५९ मा ब्रिटिस शासकले तारबार निर्माण गरी भित्र मुस्लिमलाई प्रार्थना तथा बाहिर हिन्दुलाई पूजा गर्न स्वीकृति दिने व्यवस्था गरेका थिए।
सन् १९९२ मा विश्व हिन्दु परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकले मस्जिदमा आक्रमण गरेर क्षति पु–याएका थिए। त्यसपछि फैलिएको हिन्दु–मुस्लिम दङ्गामा अयोध्यामा दुई हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए। सोही समय हिन्दूहरुले बाबरी मस्जिद समेत भत्काएका थिए। मस्जिद भत्काइ पछि सो क्षेत्र धेरै समयसम्म विवादित क्षेत्रको रुपमा रहेको थियो।
९ नोभेम्बर सन् २०१९ मा सर्वोच्च अदालतले विवादित स्थलमा राममन्दिर निर्माण गर्न बाटो खुलाएको फैसला सुनाएको थियो। सोही फैसला पछि ५ अगस्ट २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरेर सन् २०२४ भित्र निर्माणकार्य पूरा गरिसक्न निर्देशन दिएका थिए। अहिले सोही स्थानमा राम मन्दिर निर्माण भैरहेको छ। मन्दिर निर्माणको जिम्मा राम मन्दिर निर्माण ट्रस्टले पाएको छ। ट्रस्टका अधिकारीहरूको भनाइमा ४ हजार करोड भारतीय रुपियाँमा मन्दिर निर्माण भैरहेको छ।
सोही मन्दिरमा कालीगण्डकीको शिलाबाट निर्माण गरेर भगवान श्रीरामको बाल वयको मुर्ति राखिने राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताए। उनका अनुसार मन्दिर निर्माणकार्य पूरा भएसँगै त्यहाँ जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट तयार पारिने धनुष समेत राखिनेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link