राष्ट्रिय सभाको उपाध्यक्ष पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ। राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन आफूले भूमिका खेल्ने बताउनुभएको हो।
उहाँले भन्नुभयो ‘‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने एउटा एजेण्डा हो। प्रभावकारी नै छ पनि। सबै अनुभवी माननीयज्यू हुनुहुन्छ। एउटा भोगाइ, अनुभव सबै बटुलिसकेको जस्तो लाग्छ मलाई राष्ट्रिय सभामा।’’
उहाँले भन्नुभयो, ‘‘त्यहाँ परिपक्व व्यवहार नै हुन्छ होला। तथापि त्यसमा अझ सहजीकरण के गर्दाखेरी अझ प्रभावकारी बनाउन सकिन्छ ? महिला माननीयज्यूका बीचमा सहकार्यलाई कसरी विकास गरेर जाने यी तमाम चिजहरुमा सोच छ। मैले ०६२/०६३ सालको आन्दोलनका अगुवाइ पनि गरेँ र त्यो बेलामा मैले एउटा पहल पनि गरेको थिएँ।’’
उहाँले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताउनुभयो। उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदबीचको सहकार्यलाई विकास गर्दै जाने बताउनुभयो।
आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने उर्मिला अर्यालले वताउनुभयो। त्यस्तै, महिलाहरुका लागि नयाँ नियम, कानुन बनाउने सन्दर्भमा पहलकदमी लिने उहाँले बताउनुभयो।
उर्मिला अर्यालले भन्नुभयो, ‘‘देशभरिका महिलाहरुलाई सबै पार्टीका एकजुट गराएर लाने हो। मलाई आज नै साथीहरूले मलाई हजुरको विरुद्ध लड्न मन लागेन। सर्वसम्मत गराउनुपर्छ भनेर हामी महिला नै लाग्यौँ भन्नुभयो। त्यो खुशीको कुरा हो। म यहाँ रहँदाखेरी म यो पार्टी, ऊ पार्टीभन्दा पनि किनभने हामी सबैको योगदान छ, यो देशमा परिवर्तन लिएर आउने हरेक पार्टीका महिलाहरुले जुन योगदान गर्नुभएको छ।,’’
उपाध्यक्ष अर्यालले भन्नुभयो, ‘‘कति यो ठाउँसम्म नआउँदै हराउनुभयो। सिद्दिनु भयो। कति शहीद हुनुभयो। ती तमामलाई सम्झेर हामीले प्रतिबद्धताका साथ काम गर्नेछौँ। बाँकी महिलाहरुका लागि के कति काम, नयाँ नियम कानुन बनाउनसक्ने कुरामा पहलकदमी लिने र सहकार्यलाई बढाएर जाने। त्यसको नीतिगत पहलहरुमा भूमिका खेल्ने।’’
उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरुका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरुले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भूमिका खेलेको बताउनुभयो। आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरुले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उहाँको भनाइ छ।
उहाँले भन्नुभयो, ‘‘हजुर सर्वसम्मत हुनुपर्छ भनेर उहाँहरुले नै धेरै पहल गर्नुभयो र आ–आफ्नो पार्टीका नेताहरुलाई कन्भिन्स् गर्ने कुरा जे भयो मलाई लाग्छ, मेरो सन्दर्भमा उहाँ अलि बायस हुनुहुन्न, पार्टी बायस पनि हुनुहुन्न र समग्रमा नेतृत्व गर्न सक्नुहोला भन्ने सोचले सायद मलाई सहयोग पनि गर्नुभयो मलाई। मभन्दा सक्षम नेत्रीहरू हुनुहुन्छ त्यहाँ। एउटा त्यो सदाशयता। मलाई सर्वसम्मत बनाउने कुरामा पार्टीलाई पनि उहाँहरुले प्रभावमा पार्नुभयो र म निर्विरोध हुने वातावरण बन्यो।’’ उपाध्यक्ष अर्यालले आफूले कसैको पक्ष नलिई काम गर्ने कुरामा सबैको विश्वास रहेको बताउनुभयो।
एमालेबाट माओवादी यात्रा
पर्साको वीरगन्ज महानगरपालिका– २३ निवासी अर्यालले समाजशास्त्रमा स्नातकोत्तर हुनुहुन्छ। ०२६ मा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएकी उहाँले ०३५ मा कम्युनिस्ट पार्टीको संगठित सदस्यता पाउनुभएको थियो । ०४६ मा एमालेमा प्रवेश गरेर उहाँले ०५० मा पर्सा जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभएको थियो । ०४८, ०५१ र ०५६ मा पर्सा ४ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेपनि ०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।
०५९ माघको सातौँ महाधिवेशनबाट एमालेको वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित अर्याल ०६३ मा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री हुनुभएको थियो । ०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्यमा निर्वाचित अर्याल ०६७ मा स्थानीय विकासमन्त्री हुनुभयो।
अर्याल ४ जेठ ०७० मा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गर्नुभयो । अहिले उहाँ माओवादी स्थायी कमिटी सदस्य हुनुहुन्छ । १२ माघ ०७८ राष्ट्रिय सभा सदस्यमा निर्वाचित अर्यालले एक वर्षपछि उपाध्यक्ष बन्नुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जापानको आर्थिक वृद्धिदर सुस्त
- हिउँद नलाग्दै सुक्न थाले खोला
- गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन : अदालत
- पाकिस्तानमा विषाक्त धुवाँका कारण एकै दिनमा १५ हजारभन्दा बढी सङ्क्रमित
- राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता
- कोप–२९ मा नेपालको जलवायुजन्य हानिनोक्सानीबारे चर्चा
- महिलाका लागि आम्दानीको आधार बन्दै घोँगी व्यापार
- पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल
- कोप२९ मा नेताहरूको मतभेदबीच उत्सर्जनलाई लिएर कडा चेतावनी
- वार्ताका लागि राष्ट्रसङ्घका आणविक प्रमुख इरान प्रस्थान