वीरगञ्जमा ‘रात्री बजार’

वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमा पहिलो पटक ‘रात्री बजार’ लगाउने तयारी गरेको छ । आर्थिक गतिविधिहरु अझै गतिशिल बनाउनुका साथै स्थानीयको जनजिवनलाई सजिलो बनाउने उदेश्यले अनुरुप वीरगञ्जमा पहिलो पटक ‘रात्री बजार’ लगाउन आँटिएको हो । यहीँ चैत ३० गते बेलुका देखि वैशाख २ गते मध्य रातिसम्म वीरगञ्जको आदर्शनगर चोक देखि पुरानो बसपार्कसम्म ‘रात्री बजार’ लगाइने महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

वीरगञ्जलाई आर्थिक महानगरी भनेर चिनिने गरेको भए पनि वीरगञ्जको व्यवसाय साँझ नहुदै बन्द हुने गरेको थियो । यहाँको अर्थतन्त्र चलायमान बनाउन र बजार रातीसम्म संचालन हुने वातावरण बनाउन महानगरले यो समय अवधिलाई परीक्षण स्वरुपमा लिएको छ । नयाँ वर्षको अवसरमा तीन दिने रात्री बजार लगाउने र अवस्था अनुसार यसलाई पुन अगाडि बढाउने महानगरको योजना रहेको महानगर प्रमुख सिंहले बताउनुभयो ।
व्यवसायीक रुपमा वीरगञ्जको पहिचान थप बढाउन र रोजगारको अवसर प्रदान गर्ने योजना सहित रात्री बजार लगाउन लागेका हौँ,’ उहाँले भन्नुभयो, ’यसले बजार चलायमान बनाउने पनि विश्वास लिएका छौँ ।’

महानगरको आयोजनामा वीरगञ्जमै पहिलो पटक हुन लागेको “रात्री बजार” मा विभिन्न ठाउँका विशेष खानाका परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुडा लगायतका सामाग्रीहरु पाउनुका साथै वीरगञ्जमै पहिलो पटक तन्दुरी चियाको शुरुआत गरिने पनि महानगर प्रमुख सिंहले जानकारी दिनुभयो ।

रात्री बजार आयोजना गर्दै गर्दा अवसर र चुनौतीबारे सम्बन्धित निकायसँग समन्वय भइरहेको र यसबाट नयाँ सन्देश सहित सफलता प्राप्त भए लामो समयसम्म बजार लगाउन सकिने भएकोले वीरगञ्जमै पहिलो पटक नयाँ अवधारणासहित लाग्ने बजारमा सहभागी भई सफल बनाउन प्रमुख सिंहले अपिल पनि गर्नुभयो ।

महानगरले रात्री बजार संचालनका लागि विभिन्न संस्थासँग सहकार्य गरेको छ ।

ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाइईएफ, वीरगञ्ज साइक्लिङ्ग क्लब, ओमेन्स क्रिएसन र फोरजिआर जस्ता संस्थाहरुसँगको सहकार्यमा “रात्री बजार“ तयारीको काम अघि बढाइएको उहाँले बताउनुभयो ।

रात्री बजारमा लगाइने स्टलहरु बुकिङको काम अहिले धमाधम भइरहेको सहआयोजकको रुपमा रहेको ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।

आदर्शनगर चोकदेखि कैलास चोक र त्यहाँबाट पुरानो बसपार्कसम्मको क्षेत्रमा करिब एक सय स्टल लगाउने गरी आवश्यक तयारी गरिएको र अहिले स्टल बुकिङको काम धमाधम भइरहेको उहाँले बताउनुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link