तल्लु बगरको पुल भाँचिएर मारमा पर्‍यो डोल्पासम्म सडक पुर्‍याउने काम

गणेश बानियाँ/जाजरकोट

बैशाख ७ गते दिउसो १२:३० मा  निर्माणधिन बेलिब्रिज आधा लत्किएर भेरीमा मेसिन सहित खस्दा २ जनाको घटनास्थलमा मृत्यु भयो भने कामदार ७ जना घाइते भएका थिए। जाजरकोट डोल्पा सडक खण्ड अन्तरगत नलगाड नगरपालिका वडा नं. १२ तल्लु बगर र आठबिसकोट नगरपालिका वडा नं. ६ छहरेबगर गोतामकोट रुकुम जोड्ने ठुली भेरी नदीको बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा रहेको समयमा लत्किएर भेरीमा खसेको थियो।

घटनामा परी भारत बहराइच जिल्लाका धर्मेन्द्र गौतम र पुरुषोत्तम गौतमको मृत्यु भएको थियो। घटनामा परी ७ जना घाइते भएका थिए, घाइते हुनेहरूमा बहराइज जिल्लाका गोरखनाथ, मैतु गौतम, सञ्जय गौतम, सोनु चमार, गोपाल चमार, राजकुमार हरिवन चमार र चितवनका क्रेन चालक निरजकुमार चौधरी घाइते भएका थिए। घाइतेहरूलाई आठबिसकोट नगरपालिकाले हेलिकप्टर खर्चको जिम्मा लिएर जाजरकोट दल्लीबाट घाइतेहरूको उपचारका लागि बाँके नेपालगन्ज लिइएको थियो।

किन भाँचियो पुल ? 

चौरजहारी सडक विभागका अनुसार प्रारम्भिक अनुसन्धान अनुसार पुरा निर्माण नभएको नटबोल्ड टाइट नभएको पुलमा क्रेन चढाइयो जुन पुलमा प्रयोग हुने पिलेट, डण्डी र अन्य सामान जमिनबाट उठाएर पुलमा राख्न खोज्दा पुल लत्किएर भेरीमा दुर्घटना भयो। त्यही साइट हेर्ने चौरजहारी सडक विभागका कर्मचारी प्राविधिक जाजरकोट पासागाड तल्लु बगर एरियामा विभिन्न ठाँउमा कामको अनुगमनमा रहेकोले घटना भएको दिन अन्य क्षेत्रबाट पुल निर्माण हुदै गरेको ठाँउमा जादै गरेको थियो।

हरेक दिन समय समयमा जाने अनुगमन गर्ने सडक डिभिजनको प्राविधिक टोली खटाइएको थियो।  सडक डिभिजनका कर्मचारी  नभएको अबस्थामा क्रेन चालकले आफ्नै मनोमानी मेसिन चलाएर छिटो काम गर्ने नाममा दुर्घटना भएको पहिलो अनुमान रहेको चौवरजहारी सडक डिभिजन प्रमुख आशुतोष कर्णको भनाइ रहेको छ।

अहिले निर्माण कार्य रोखेर संघीय सडक सुपरीवेक्षण सडक तथा अनुगमन कार्यालयका प्रमुख रुपकराज भण्डारीको संयोजकत्वमा तीन सदस्य समितिले घटनाको प्रतिवेदन बनाएको छ। उक्त छानविन समितिले भौतिक क्षति यथार्थ विवरण र सुझाव सहितको प्रतिवेदन दिन कार्यदेश दिएको छ।

पुलमा प्रयोग भएको सामान सडक विभाग काठमाडौँले विश्वबैकको सहयोगमा पहिला नै खरिद गरी राखेको छोटो समयका लागि बैकल्पिक रुपमा प्रयोग गर्न सकिने भएकाले निर्माण कम्पनीलाई जोड्न मात्रै दिइएको थियो।

हिम सगरमाथा खड्का कृष्ण जेभी बसुन्धारा काठमाडौँले निर्माण व्यवसायका प्रतिनिधि बुद्धिबहादुर खत्री भन्नुहुन्छ, ‘ क्रेन चालकको गल्तीका कारण कामदारको ज्यान गयो। समयमा काम हुन सकेन। बजेट बढी खर्च हुने भयो भनेका छन्। हाम्रो र सडक विभागको अनुगमनकोमा सबैका कमी कमजोरी भयो दुर्घटना भयो।’

बुद्धिबहादुर खत्री भन्नुहुन्छ, ‘अब हाम्रो निर्माण व्यवसायको तर्फबाट सबै खर्च जिम्मा दिन्छौ, सडक विभागले सामान उपलब्ध गराए एक महिना भित्र कार्य सम्पन्न गर्ने प्रतिबद्धता रहेको जानकारी दिए।’ २०८० जेठ महिना भित्रै कार्य सम्पन्न गरी यातायात संचालन हुने निर्माण व्यवसायका प्रतिनिधि बुद्धीबहादुर खत्रीले जानकारी दिनुभयो।

स्थानीय सरोकारवाला

नियमितरुपमा सडक विभाग, निर्माण व्यवसाय र सरोकारवालका अनुगमन नभएको कारण पुल पनि बाड्गो रहेको सोझो बनाउन धकेर सोझो बनाउन खोज्दा केही हल्लीएको र पछि निर्माण नहुदै माथि मेसिन चढाएकोले लत्किएर खोलामा खसेको प्रत्यक्षदर्शीको भनाइ रहेको छ।

यस क्षेत्रका समयमा पुल निर्माण नगरी ३० लाख भन्दा बढी खर्चग री भेरी नदीमा ५८ वटा ह्युम पाइप हालेर हिँउदको समयमा अस्थाई रुपमा यातायात सञ्चालन गरिएको थियो। यसरी २०७८ पौष १६ गते –२०७९ असार १५ सम्म सम्पन्न गर्ने गरी सम्झौता गरेकोमा ६ महिना म्याद थप गरी एक बर्ष पछि शुरु भएको बेलिब्रिल बनाउनका लागि भ्याट बाहेक ३ करोड ४७ लाखको लागत सम्झौतामा हिम सगरमाथा खड्का कृष्ण जेभी बसुन्धारा काठमाडौँले २०७८ पुस १६ बाट २०७९ असार १५ सम्ममा सक्नु पर्ने सम्झौता भएको थियो। सम्झौता मिति सम्म काम नसकेकोले थप ६ महिना म्याद थप गरी निर्माणको जिम्मा दिएको थियो। २०७९ माघमा थप मिति सकेर हाल सम्झौता नभएरै काम संचालन भएकोले थप समस्या पर्ने देखिन्छ।

भेरी करिडोर अन्तर्गत जाजरकोटबाट डोल्पा सडक खण्डको १ सय १८ किलोमिटर सडक पर्दछ। २०७४ चैत्र २५ गते नेपाली सेनाको निगरानीमा ट्र्याक खोल्ने काम सकेर नेपाल सरकार सडक विभागलाई हस्तान्तरण गरि डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो।

हाल सडक डिभिजन कार्यालय चौरजहारीकोले करिब १९ करोड रुपैयाँको बजेट खर्च गरी सडक स्तररोन्तीको काम थालेको छ र चिसापानी देखि तल्लु बगर सम्मको २९ किलो मिटर सडकको कालो पत्रे गर्नका लागि सडक फराकिलो, जाली, नाली निर्माणको काम शुरु गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link