डाक्टर अभावमा सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालको मुख्य सेवा महिनौँदेखि ठप्प

विनय कर्ण सप्तरी

संविधानको धारा ३५ (१) मा “प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्यसेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन्” उल्लेख गरिएको छ । स्वास्थ्य सेवालाई संविधानले मौलिक हक अन्तर्गत राखेको भएपनि सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराउन आउने सेवाग्राही भने स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् ।

जनशक्तिको अभावमा डेढ महिना भन्दा बढी समय देखि अस्पतालको भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्ड सहितका सेवा बन्द हुँदा सेवाग्राही स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका हुन् । दैनिक अस्पतालमा उपचार गराउन आउने सैयौँ बिरामी सरकारी अस्पतालमा चिकित्सकसँग जाँच गरिएपनि महँगो शुल्क तिरेर भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्ड सहितका सेवा अस्पताल बाहिर गएर प्राइभेट ल्याबबाट लिनुपर्ने बाध्यता छ ।

अस्पतालमा एकजना रेडियोलोजिस्ट डाक्टरको दरबन्दी छ । सो दरबन्दीमा कार्यरत डाक्टर आशिष सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ फागुन २०७७ मा सरुवा गर्यो  तर अर्को रेडियोलोजिस्ट नपठाएपछि यी सबै सेवाहरू हालसम्म बन्द रहेका छ ।

फागुन २१ मा भिडियो एक्सरे विभागका कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सिंहको सरुवा भएपछि भिडियो एक्सरे र सिटिस्क्यान सेवा पूर्ण रुपमा ठप्प भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा‍. प्रकाशप्रसाद साहले बताउनुभयो ।

उहाँले आफूले पटकपटक मन्त्रालयमा कर्मचारी पठाउन पत्राचार गरेपनि त्यहाँबाट अहिले सम्म कर्मचारी नपठाउँदा यी सेवाहरू ठप्प भएको जानकारी दिनुभयो। “मन्त्रालयले दरबन्दी अनुसारको रेडियोलोजिस्ट नपठाएपछि त सेवा अवरुद्ध हुन्छ नै” मेडिकल सुपरिटेन्डेन्ट साहले भन्नुभयो, “मैले मन्त्रालयसँग समन्वय गर्ने हो, त्यहाँ गएर टेबुल ठोक्ने होइन । म यसबारे यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई पनि जानकारी गराएको छु, मन्त्रालयमा गएर पहल गरिदिन पनि आग्रह गरेको छु तर, अहिले सम्म सुनवाई भएको छैन् ।”

अस्पतालको ठप्प सेवाबारे मन्त्री यादवको चासो

अस्पतालको ठप्प सेवाबारे सप्तरी निर्वाचन क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्य एवं शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले पनि चासो लिनुभएको छ । उहाँ जनमत पार्टीबाट निर्वाचित यसै क्षेत्रका प्रदेशसभा सदस्य हुनुहुन्छ।

अस्पतालको एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्ड सहितका सेवा ठप्प बारे आफूलाई जानकारी आएको उहाँले बताउनुभयो । मन्त्रालयबाट कर्मचारी ल्याउने प्रयास भइरहेको यादवले जानकारी दिनुभयो । “मलाई जानकारी भए लगत्तै हाम्रो पार्टी अध्यक्ष सिके राउतलाई जानकारी गराएको छु र उहाँले मन्त्रालयमा सचिवसँग यसबारे कुरा गर्नुभएको पनि हाम्रो जानकारीमा आएको छ” मन्त्री यादवले भन्नुभयाे।

जनशक्तिको अभाव देखाएर कुनै पनि बहानामा सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट बञ्चित गर्न नहुने बताउँदै मन्त्री यादवले भन्नुभयो, “जनशक्तिको व्यवस्थापन गर्ने जिम्मा मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशप्रसाद साहको हो तर उहाँ मन्त्रालयलाई पत्र लेखिएको भनेर पन्छिन खोज्दै हुनुहुन्छ । त्यो पत्र पनि मैले नै चासो राखेर लेख्न लगाएको हो ।” 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

विनय कर्ण/ सप्तरी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link