आधुनिक नेपालको इतिहासमा २००७ साल फागुन ७ गतेको विशेष महत्व छ। त्यो त्यही दिन हो जुन दिन यस देशमा १०४ वर्षसम्म निरंकुश तानाशाही चलाइरहेको राणा परिवारको अधिनायकवादी शासन सत्ताको सधैँका लागि अन्त्य भएको थियो। त्यसका साथै त्यसै दिन सदियौँदेखि वंशानुगत कुशासनको अँध्यारोमा रुमल्लिइरहेका नेपाली जनताले आफ्नालागि जनप्रतिनिधिमूलक शासन प्रणालीको स्थापना गर्न पहिलो राजनीतिक मार्गचित्र पनि कोरेका थिए। हुन त त्यो मार्गचित्रको घोषणा त्यतिबेला गद्दीनशीन रहेका निरंकुश राजा त्रिभुवनबाटै गरिएको थियो तर त्यसमा एक व्यक्ति वा परिवारको महत्वाकांक्षाको सट्टा व्यापक जन-भावनाको प्रतिविम्बन भएको थियो। राजाले त्यस दिन जारी गरेको शाही फरमानमा “हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक …