भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तीन दिने अमेरिका भ्रमणका लागि मंगलबार प्रस्थान गरेका छन्। यो उनको पहिलो स्टेट भिजिट भएको बताइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनको निमन्त्रणामा मोदी मंगलबार अमेरिका प्रस्थान गरेका छन्। स्टेट भिजिट गर्ने मोदी दोस्रो भारतीय प्रधानमन्त्री तथा तेस्रो ठूलो नेता हुन्छ।
यसअघि सन् १९६३ मा राष्ट्रपति सर्वपल्ली राधाकृष्णन र २००९ मा मनमोहन सिंह स्टेट भिजिटका लागि अमेरिका पुगेका थिए। यसकारण पनि मोदीको यसपटकको अमेरिका भ्रमण यसअघिका ७ भ्रमणभन्दा विशेष हुने अुनमान गरिएको छ।
अमेरिका उड्नुअघि प्रधानमन्त्री मोदीले ट्विट गर्दै भारत–अमेरिकाबीच गहिरो सम्बन्ध रहेको र हरेक क्षेत्रमा हिस्सेदारी बढ्दै गइरहेको बताए। ‘अमेरिका वस्तु तथा सेवामा हाम्रो ठूलो व्यापार साझेदार हो,’ उनले भनेका छन्, ‘यसबाहेक साइन्स, टेक्नोलोजी, हेल्थ र डिफेन्स क्षेत्रमा पनि हामी सहयोगी छौँ। यस्तै दुवै देश इन्डो–प्यासिफिकलाई निःशुल्क र खुला बनाउनेतिर पनि काम गरिरहेका छौँ।’
मोदीले राष्ट्रपति बाइडेन र अन्य अमेरिकी नेतासँग हुने वार्ताले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अझै सुदृढ बनाउने बताएका छन्। वैश्विक चुनौतीको सामना सँगसँगै उभिने पनि उनको भनाइ छ।
कूटनीतिक तथा रणनीतिक उपलब्धि
आर्थिक वर्ष ०२२–२३ मा भारत–अमेरिकाबीचको द्विपक्षीय व्यापार एक खर्ब २८ अर्ब डलर नाघेको छ। आव ०२१–२२ मा भारतले अमेरिकासँग ३२.८ अर्ब डलरभन्दा बढीको व्यापार गरेको थियो। यो व्यापारलाई भारत अझै बढाउन चाहन्छ। यसकारण पनि मोदीको यो भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको छ।
कूटनीतिक र रणनीतिक रूपमा पनि यो भ्रमण विशेष भएको जानकारहरू बताउँछन्। चीनको विषयलाई लिएर भारत र अमेरिकाको चिन्ता करिब उस्तैउस्तै छ। एकातिर भारतले एलएसी र हिन्द महासागरमा चीनको हस्तक्षेपको विरोध गर्दै आइरहेको छ भने अर्कातिर अमेरिकाले ताइवान रर दक्षिणी–चिनिया समुद्रमा चीनले गरेको घुसपैठको विरोध गरेको छ। यो समस्याबाट मुक्ति पाउन भारत–अमेरिकाको साथ आवश्यक पर्ने भएकाले पनि यो भ्रमणलाई खास रुपमा हेरिएको हो।
यसअघि मोदी राष्ट्रपति बाइडेनसँग ६ पटक भेट गरिसकेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
