लामो समय लगाएर उब्जनी गरेको गोलभेँडाले बजार नपाउँदा किसानहरू चिन्तित बनेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–१४ डढुवामा उत्पादित गोलभेँडाले बजार नपाउँदा किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।
गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष उद्धव नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा भने निकै निरास भएका छन् ।
गत वर्ष तीन लाख सत्तरी हजारको गोलभेँडा बिक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष रू एक लाखको पनि बिक्री नभएको बताउनुभयो । “बीउ, गोडमेल, औषधिलगायतमा करिब रू तीन लाख जति खर्च भएको छ”, उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष बढी खर्च भएको हो । करिब रू छ लाख बराबरको उत्पादन भए पनि लगानी उठाउन समस्या छ ।”
इन्द्रबहादुर पुरीले गतवर्ष तीन सय क्रेट बेच्दा रू दुई लाख १० हजार नाफा भएकामा यस वर्ष पाँच सय क्रेट बेच्दा नाफा हुन नसकेको गुनासो गर्नुभयो । उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा लगानी उठाउन समस्या भएको उहाँको भनाइ थियो ।
गतवर्ष रू दुई लाख २३ हजारको गोलभेँडा बेच्नुभएका खिनकुमारी बस्नेतले यस वर्ष झण्डै रू एक लाख घाटा व्योहर्नुपरेको सुनाउनुभयो । वैदेशिक रोजगारीबाट फर्किएर गोलभेँडा खेतीमा लाग्नुभएका राजेन्द्र बस्नेतले यसवर्ष ज्याला पनि नउठ्ने जानकारी दिनुभयो ।
नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालले तत्काल नगरपालिकासँँग समन्वय गरेर गोलभेँडाको सश, अचार, काउली तथा सागको गुन्द्रुक बनाउन लागेको जानकारी दिनुभयो । उँहाले यसका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट तालिमको व्यवस्था गर्न लागिएको बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को
- कर्णालीमा आमसञ्चार विधेयकबारे छलफल
- सम्मान र पुरस्कारले उत्साहित पूजा
- लेबनानको सार्वभौमिकता उल्लङ्घन गर्ने इजरायलसँगको युद्धविराम स्वीकार्य छैनः हिजबुल्लाह प्रमुख
- इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित
- जर्मनीले ‘एआई’ बाट नियन्त्रण गर्न मिल्ने चार हजार ड्रोन युक्रेन पठाउने