विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ ।
भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसदको संलग्नता रहेको यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ ।
गत साता लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बित गरिएको थियो ।
त्यसैगरी, गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोकसभा प्रवेश गरी सङ्घीय सरकारविरुद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि संसद्भित्र सुरक्षा उल्लङ्घनको विषय उठाउँदै पटक–पटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताउनुभएको छ ।
सोमबार निलम्बित विपक्षी सांसदहरूले सांसदहरूको निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत हप्ता संसद सुरक्षा उल्लङ्घनको घटनालाई लिएर वक्तव्य जारी गर्न माग गरेका थिए । निलम्बनपछि लोकसभाको नियमित कारबाही दिनभरका लागि स्थगित गरिएको थियो ।
यो सँगै संसदको हिउँदे अधिवेशनमा निलम्बित हुने सांसदको सङ्ख्या ९२ पुगेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपालमा डिजिटल प्लेटफर्म गभर्नेन्सबारे सरोकारवालाहरू माझ छलफल
- कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित
- जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
- केराखेतीबाटै चौधरीले कमाउँछन् वार्षिक १४ लाख
- प्रजातन्त्र सेनानी मुकुन्द शर्माको जीवनी प्रकाशित
- म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
- दही बेचेरै घर चलाउँछन् लक्ष्मण यादव
- बाह्र वर्ष अघि निर्माण सुरु भएको सगरमाथा हवाई मैदान अलपत्र
- दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता
- गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु