रैथाने बालीले फेर्छ जिन्दगीः फर्सीको जाम, सयपत्री फूलको अचार, सिस्नोको आइसक्रिम, कोदोको दुनोट

पोखरा महानगरपालिका वडा नं ३२ का रामराज वाग्लेलाई फर्सीको जाम, मसला आदि हुन्छ भन्ने कल्पनासम्म पनि थिएन । तालिममा सहभागी भइसकेपछि त्यही फर्सीबाट धेरै परिकार बनाउन सकिने जानकारी पाएको उहाँले बताउनुभयो ।

तालिमकै अर्का सहभागी पोखरा महानगरपालिका वडा नं २४ पामेका किसान रामबहादुर सुवेदीले सयपत्री फूलको जाम, अचार आदि हुन्छ भन्ने सोच्नुभएको समेत थिएन । तीनदिने तालिमका क्रममा सयपत्री फूलबाट बन्ने जाम, अचार आदि देख्दा उहाँ दङ्ग पर्नुभएको छ । पर्याप्त सङ्ख्यामा उत्पादन गर्न सकिने सयपत्रीलाई प्रशोधन गरेर खाद्यवस्तु तयार गरेमात्रै पनि आयआर्जन गर्न सकिने आफूले पाएको उहाँले बताउनुुभयो ।

 “मलाई काठको दाबिलो प्रयोग गरेर कोदाको ढिडोसँगै रोटी र पुवा बनाएको भन्दा अरु केही थाहा थिएन तर अहिले यसबाट धेरै परिकार बन्दा रहेछन् भन्ने प्रत्यक्ष देख्ने र अनुभव गर्न पाएँ”, पोखरा महानगरपालिका वडा नं २३ पञ्चासेका किसान टङ्कनाथ बस्ताकोटीले भन्नुभयो ।

पोखरा महानगरपालिकाको आयोजना एवं मलबेरी इन्स्टिच्युट अफ हस्पिटालिटीसँगको सहकार्यमा आयोजित तीनदिने रैथाने बाली उत्पादन तथा परिकार तयारीसम्बन्धी तालिममा सहभागी भइसकेपछि आफूले तालिमबाट धेरै कुरा सिक्न पाएको उहाँले अनुभव सुनाउनुभयो ।

रोजगारीका क्रममा २०औँ वर्ष विदेशमा बसेको र गाडीको पेन्टरलगायतका काम गरेको विगत सम्झँदै उहाँले हाम्रै वरपर रहेका रैथाने प्रजातिबाट धेरै परिकार बनाउन सकिने त्यसबाट स्वरोजगार बन्न सकिने बताउनुुभयो । रोजगारीकै क्रममा बिरामी भएर फर्कनुपरेका धेरै अनुभव सुनाउँदै उहाँले हाम्रो देशमा ठाउँअनुसार हुनसक्ने खेतीको विस्तार गर्दै त्यसलाई उपयोग गर्न सकेमा विदेश भौतारिनु नपर्ने बताउनुभयो ।

पहाडी भेगमा पाइने लप्सीबाट धेरै किसिमका परिकार बनाउन सकिने भए पनि त्यो त्यसै खेर गइरहेको जनाउँदै उहाँले गाउँ बस्तीका किसानलाई यसको उपयोग सम्बन्धमा तालिम दिनु आवश्यक भएको बताउनुुभयो । बस्ताकोटीजस्तै पोखरा महानगरपालिकाभित्रका अधिकांश वडालाई समेट्ने गरी गरिएको तीनदिने तालिमले हाम्रा रैथाने बालीको बहुउपयोग सम्बन्धमा धेरै जानकारी पाइएको तालिमका सहभागीले बताउनुभयो ।

तालिमका सहभागीलाई सयपत्री फूलको जाम, सिस्नोको आइसक्रिम, फर्सीबाट बन्ने  केचप, टिम्मुरे सस, पिरो सस, कोदोको दुनट, कुकिज, सिस्नोको अचार, आइसक्रिम, सयपत्री फूलको आइसक्रिम, अदुवा र लप्सीको क्यान्डी, खट्टामीठा क्यान्डी आदि परिकार बनाउने तालिम दिइएको मलबेरी इन्स्टिच्युट अफ हस्पिटालिटीका प्रमुख प्रशिक्षक पाक महर्षि सन्दीपकुमार केसीले जानकारी दिनुभयो।

उहाँका अनुसार तालिमका सहभागीलाई चक्लेटले कोट गरिएको अदुवा, फर्सीको ससमा पास्ता, जिङ्गर कोटेड चक्लेट, ब्रेड, कुबिन्डो ससलगायतका परिकार बनाउने तालिमसमेत दिइएको थियो । रैथाने बालीबाट धेरै परिकार बनाउन सकिए पनि हामी त्यसको बेवास्ता गर्दै विषादीयुक्त वस्तु किनेर खाइरहेको उहाँले बताउनुुभयो ।

विगतमा जण्डिस हुँदामात्रै खाने गरिएको फर्सीबाट बन्ने परिकारसँगै हाम्रा खेतबारीमा हुने कोदोलगायतका अन्नबाट धेरै परिकार बन्ने कुरा तालिमबाट प्रत्यक्ष जान्न र सिक्न पाइएको पोखरा महानगरपालिका वडा नं १६ स्थित केपसिटी सहकारीका सदस्य चन्द्रकुमारी देवकोटाले बताउनुभयो । “कोदोबाटै चिजवल, पास्ता, चाउचाउ आदि बन्ने रहेछ, हामी त्यो थाहा पाउन नसक्दा बालबच्चालाई दिनदिनै अस्वस्थकर वस्तु खुवाइरहेका छौँ”, उहाँले भन्नुुभयो ।

उन्नत जातका नाममा रैथाने प्रजातिसमेत लोप हुँदै जान थालेको वास्तविकतामा महानगरपालिकाले रैथाने बालीको संरक्षणसँगै त्यसबाट बन्ने परिकारको प्रवर्द्धनलाई जोड दिएको कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताउनुुभयो । रैथाने बालीबाट बन्ने परिकारलाई जोड दिन सकिएमा त्यसले समुदायको स्वास्थ्य रक्षामा समेत योगदान गर्ने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताउनुुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link