रामेछाप जिल्लामा पहिलो पटक व्यावसायिक अनारखेती गरेर ‘अनार बाजे’को नामले चिनिएका हिरालाल आचार्यले मेवा बेचेर मासिक रू एक लाख ५० हजार आम्दानी गर्नुहुन्छ।
अनारमा भन्दाबढी मेवामा फाइदा हुने भएपछि आफू मेवाखेतीतर्फ आकर्षित भएको कृषक आचार्यले बताउनुभयो। रामेछाप नगरपालिका–८ स्थित सुकाजोर खोला विगत २० वर्षदेखि मरुभूमिमा परिणत भएपछि उक्त बगरमा करिब पाँच सय मेवाका बोट लगाइएको उहाँले बताउनुभयो। सबै खर्च कटाएर वार्षिक आम्दानी रू १८ लाखसम्म हुने गरेको उहाँले जानकारी दिनुभयो।
आचार्यले मेवाखेतीभित्र कागतीसँगै केरा पनि लगाउनुभएको छ। उहाँका अनुसार कागतीले उत्पादन दिन थालिसकेको छ भने केरा पनि पसाउन लागेको छ। हरियाली समृद्ध कृषक समूहको नामबाट उहँले दुई वर्षअघिदेखि सुरु गर्नुभएको मेवाखेतीबाट लाखौँ आम्दानी गर्न लाग्नुभएको हो।
कृषक आचार्यले भन्नुभयो, “पाँच किलोको एउटै मेवा फल्ने र एउटा बोटमा एक सय ५० केजीसम्म फल्ने गरेको छ। यसको होलसेल मूल्यमा रू एक सय २० प्रतिकिलो बिक्री हुने गरेको छ।” एउटै बोटमा उत्पादन भएको मेवाबाट १८ हजारसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयो।
बढ्दो वैदेशिक रोजगारीमा जाने युवालाई जाँगर भए स्वदेशमै केही गर्न र विदेशको जति कमाउन सकिन्छ भनेर सन्देश दिन आफूले मेवा खेती गरेको आचार्यको भनाइ थियो। उहाँले भन्नुभयो, “अरु रोजगारीका लागि विदेश जान्छन्। म चाहिँ जिल्ला वन कार्यालयको स्थायी जागिर छाडेर कृषिकर्ममा लागेँ। काम गर्दा शरीरमा रोग पनि नलाग्ने र आफूले गरेको मेहनतको फल चाँडै प्राप्त हुने भएकाले आफू यस प्रकारका फलफूल खेतीतर्फ लागेको हुँ।”
आफूजस्ता कृषकलाई राज्यले पनि विशेष सहयोग तथा अनुदान दिनुपर्नेमा आचार्यले जोड दिनुभयो। नमुनाका रुपमा युवालाई यस्ता फार्मको अवलोकन गराएर आफ्ना अनुभवन साटासाट गर्न सकिने उहाँले बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपालमा डिजिटल प्लेटफर्म गभर्नेन्सबारे सरोकारवालाहरू माझ छलफल
- कास्कीमा डेङ्गीबाट तीनको मृत्यु, ३७ सयबढी सङ्क्रमित
- जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
- केराखेतीबाटै चौधरीले कमाउँछन् वार्षिक १४ लाख
- प्रजातन्त्र सेनानी मुकुन्द शर्माको जीवनी प्रकाशित
- म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
- दही बेचेरै घर चलाउँछन् लक्ष्मण यादव
- बाह्र वर्ष अघि निर्माण सुरु भएको सगरमाथा हवाई मैदान अलपत्र
- दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता
- गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु