नेपालको तराई भू–परिधि (बागमतीदेखि महाकालीसम्मको भूभागमा अवस्थित वन क्षेत्र) ‘पुनःस्थापनाको उत्कृष्ट नमूना’को विश्व सूचीमा समावेश भएको छ। ‘पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको संयुक्त राष्ट्रसङ्घीय दशक’ले फागुन १ गते नेपालको तराई भू–परिधिलगायत विश्वका चर्चित वन तथा जैविक विविधता संरक्षणसम्बन्धी सात क्षेत्रलाई सो सूचीमा समावेश गरेको हो।
नेपालको तराई भू–परिधिसहित ‘मनग्रोभ रिजेनेरेसन इन श्रीलङ्का, अफ्रिकन फार्मर ट्रान्सफरमिङ फुड सिष्टम (माली, सेनेगल, तान्जानिया, युगाण्डा र केन्या), रिग्रिनिङ अफ्रिका (इथियोपिया, घाना, केन्या, माली, नाइजर, रुवाण्डा, सेनेगल सोमालिया), ‘रेन्टोरिङ मेडिटेरेनियन फरेष्ट’ (लेवनान, मोरक्को, ट्युनिसिमभ र टर्की), अक्सिअन अन्डिना (अर्जेन्टिना, बोलिभिया, पेरु, इक्वैडर र चिली), पाकिस्तानको लिभिङ इन्डुस पनि विश्व सूचीमा समावेश भएका छन्।
वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय वन्यजन्तु तथा संरक्षण विभाग तथा विश्व वन्यजन्तु कोषले फागुन १ गते यहाँ संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर २४ वर्षमा विभिन्न चुनौतीलाई चिर्दै सरोकारवाला सबैको एकीकृत प्रयासका कारण उक्त भूभाग विश्व सूचीमा समेटिएको जानकारी दिइएको हो।
नेपाल सरकार, समुदायको संरक्षकत्व र नागरिक समाजको संलग्नतामा वन संरक्षण र पुनःस्थापना, वन्यजन्तको सङ्ख्यामा वृद्धि, पारिस्थितिकीय प्रणाली सेवा र अन्तरदेशीय जैविक मार्गको विस्तार तथा कार्यक्षमता बढाउन भएको योगदानका साथै सन् २००१ देखि हालसम्म तराई भू–परिधिमा ६८ हजार हेक्टर वन क्षेत्र संरक्षित भएकाले नेपाली भूभाग सूचीमा समेटिएको हो।
तराई भू–परिधि नेपालको वाग्मती नदीदेखि पश्चिममा भारतको यमुना नदीसम्म नौ सय किलोमिटरभन्दा बढी फैलिएको छ। यसले ५१ हजार दुई वर्ग किलोमिटर क्षेत्र ओगटेको छ। पूर्वमा बागमती नदीदेखि पश्चिममा महाकाली नदीसम्म फैलिएको तराई भू–परिधिमा छ वटा संरक्षित क्षेत्र, चार वन संरक्षण क्षेत्र, तीन रामसार र धेरै जैविक मार्ग समेटिएको छ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार नेपालको तराई भू–परिधि विश्व सूचीमा परेको घोषणा केन्याको नैरोबीमा फागुन १ गते गरिएको हो। यही फागुन १५ गते नेपाललाई त्यसवापत सम्मान गरिने छ। वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोलाई सरकारको प्रतिनिधित्व गर्दै त्यहाँ जानुहुने कार्यक्रम छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सहरी क्षेत्रमा आगलागी नियन्त्रणका लागि ‘ड्राइ राइजर’
- दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव
- भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते
- कङ्गोमा दूई लाख भन्दा बढी मानिस विस्थापितः युएनएचसीआर
- प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम ‘सुपर फोर’मा
- अमेरिकी राष्ट्रपति बाइडेनद्वारा दुई हजार ५०० जनालाई क्षमादान
- न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती
- नेपाल-भारत सीमास्तम्भको मर्मत सुरु
- दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु
- ‘मुन्दुम ट्रेल’को प्रवर्द्धन गर्न महोत्सव