दुग्ध विकास संस्थान (डिडिसी)मा ठूलो परिमाणमा पाउडर दुध र मख्खन थन्किँदा किसानलाई रकम भुक्तानीमा समस्या देखिएको छ। डिडिसीले दैनिक रुपमा विभिन्न जिल्लाका कृषकमार्फत एक लाख ४० हजार लिटर दुध खरिद गर्दै आएपनि बजारमा दैनिक ९० हजार लिटरमात्र बिक्री हुँदा समस्या देखिएको हो। संस्थानका उपमहाप्रवन्धक एवम् सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले डिडिसीमा ठूलो मात्रामा पाउडर दुध र मख्खन थुप्रिएर बस्दा समस्या देखिएको बताउनुभयो।
“हामीले मासिक ४२ लाख लिटर दुध विभिन्न किसानमार्फत खरिद गछौँ तर बजारमा बिक्री २७ लाख लिटर हाराहारीमा मात्र हुन्छ, प्रत्येक महिना १५ लाख लिटर बराबरको पाउडर थुप्रिँदा समस्या भएको हो,” उहाँले भन्नुभयो।
दैनिक ५० हजार लिटर दुधको मख्खन र पाउडर दुध बनाएर भण्डारण गर्दै आइरहेको उहाँको भनाइ छ। डिडिसीले गर्मी बढेपछि दहीको बिक्रीवितरण बढ्ने अपेक्षा लिएको छ।
डिडिसीमा हाल रु सवा एक अर्ब बराबरको पाउडर दुध र मख्खन मौज्दात रहेको उपमहाप्रबन्धक अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार हाल संस्थानमा नौ लाख किलो पाउडर दुध र सात लाख किलो मख्खन मौज्दात रहेको छ।
संस्थानले हाल विभिन्न ४३ जिल्लामा उत्पादन भएको दुध आफ्नै चिस्यान केन्द्र र विभिन्न सहकारीमार्फत खरिद गर्दै आम उपभोक्तामाझ पुर्याउँदै आएको छ। दुग्ध विकास संस्थान मातहतमात्र हाल देशभर ६४ चिस्यान केन्द्र छन्।
डिडिसीले हाल गुणस्तरका आधारमा चारण् प्रतिशत घृताशं (फ्याट) र आठ प्रतिशत ‘एसएनएफ’ रहेको दुधको न्यूनतम ६७ देखि अधिकतम ७२ शुल्कमा खरिद गर्ने गरेको छ। संस्थानले यसरी खरिद गरिएको दुध न्यूनतम प्रतिलिटर रु ८४ देखि अधिकतम रु एक सय २४ सम्म बिक्री गर्दै आएको छ
डिडिसीले दही प्रतिलिटर रु एक सय ५० र घिउ वितरकलाई प्रतिकिलो रु एक हजार ८० मा बिक्री गर्दै आएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएको रिट खारेज, फैसलामा के छ ?
- ५२ ‘विपन्न परिवारलाई सपनाको घर’
- संयुक्त राष्ट्रसङ्घमा प्यालेस्टाइनलाई विशेष अधिकार प्रदान गर्ने प्रस्ताव पारित
- कोलकाता: आईपीएलको प्ले अफमा पुग्ने पहिलो टोली
- एक वर्षदेखि बन्द छ बेलको जुस उद्योग
- लागुऔषध कारोबारीको सञ्जाल तोड्दै प्रहरी
- इजराइललाई हतियार आपूर्ति रोक्ने राष्ट्रपति बाइडेनको धम्की
- संविधानले किन आकार नै लिनसकेको छैन?
- वनको व्यवस्थापन नभएर बढ्यो डढेलो
- किन रोक्न सकिएन जङ्गली हात्तीको उपद्रो?