राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित

सम्माननीय राष्ट्रपति श्री रामचन्द पौडेलज्यूबाट राष्ट्रिय सूचना आयोगको १८औं स्थापना दिवसको अवसरमा भएको कार्यक्रम उद्‍घाटन गर्दै राज्यको लगानीमा नागरिकको निगरानी हुन आवश्यक भएको बताउनु भयो।

लोकतन्त्रलाई बलियो बनाउने प्राण वायुको रुपमा सूचनाको हक भएको बताउँदै भन्‍नु भयो- “सूचनाको हक स्थापित गर्ने दक्षिण एशियाको पहिलो राष्ट्र नेपाल हो । हाम्रो संविधानमा सूचनाको हक मौलिक हकको रुपमा स्थापित गर्न हामी सक्षम भै सकेका छौ। सूचनाको हक सम्बन्धी कानूनले लोकतान्त्रिक अधिकारलाई नागरीक तहसम्म अधिकार स्थापित गरेको छ । यसले राज्यका सबै निकाय खुला, पारदर्शी र जनताप्रति जवाफदेही बनाई लोकतन्त्रलाई बलियो बनाउने काम गरेको छ। सूचनाको हकको अभ्यास र प्रचलनले नागरीकको आश जगाएको छ ।”

उहाँले लोकतन्त्रप्रति जनताको भरोसा र विश्वास जागृत गराउन सूचनाको हक महत्वपूर्ण औजार हो भन्‍नु हुँदै आयोग स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।

उक्त अवसरमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट आयोगको “सूचनाको अधिकार” (RTI Journal) जर्नल सार्वजनिकीकरण गर्नु भयो । साथै उहाँले पुरस्कृतहरुलाई पुरस्कार स्वरुप सम्मान पत्र प्रदान गर्नु भयो ।

स्थापना दिवसको अवसरमा आयोगले पहिलोपटक विनय कसजु सूचनाको हक सर्वोत्कृष्ट अभियन्ता पुरस्कार स्वतन्त्र समाचार सेवाका प्रधान सम्पादक श्री तारानाथ दाहालज्यूलाई प्रदान गरेको छ । साथै यस अवसरमा दाहाल लगायत अन्य व्यक्तिहरु पनि पुरस्कृत भएका छन्  ।

आयोग स्थापना दिवसको अवसरमा विशिष्ट अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङज्यूले सूचनाको हक नागरिकलाई सुसूचित गरी लोकतन्त्रलाई बलियो बनाउने बलियो माध्यम भएको बताउँदै सूचनाको हकको कार्यान्वयन गराउने विषयमा सरकार सचेत रहेको बताउनु भयो ।

सूचनाको हक सम्बन्धी कानूनी व्यवस्थालाई आवश्यककता अनुसार समय सापेक्ष संशोधन  हुनु पर्ने भएमा यसलाई अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले भन्‍नु भयो – संघ, प्रदेश र स्थानीय तहसम्म सूचनाको हकको कानूनी प्रावधान कार्यान्वयन गर्नु पर्ने आवश्यकता रहेको छ।त्यसको लागि सरकार सहयोग गर्न तत्पर रहेको छ । नागरिक तहसम्म सूचनाको हकको चेतना अभिबृद्धि र प्रवर्द्धन गर्न प्रदेशस्तरमा आयोगका शाखा कार्यलयहरु स्थापना गर्ने योजना रहेको छ।

लोकतान्त्रितक राज्य व्यवस्थामा जनताले राज्यका काम कारवाहीहरु  जान्‍ने र थाहा पाउने अधिकार सुरक्षित रहेको बताउँदै माननीय मन्त्री गुरुङज्यूले आयोगको स्थापना दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख सूचना आयुक्त डा. सुरेश प्रसाद आचार्यले सूचना लुकाउने प्रवृत्ति अझै रहेको बताउदै खुला पारदर्शी र जवाफदेही शासन व्यवस्था प्रति सार्वजनिक निकाय जिम्मेवार हुनु पर्ने बताउनु भयो । सूचनाको हक कार्यान्वयनमा आयोग क्रियाशिल रहेको बताउदै उहाँले सूचनाको हकको कार्यान्वयन र अभ्यासमा अभियन्ताहरुले आफ्नो गरिमा जोगाउनु पर्ने अवस्था रहेको बताउनु भयो । आयोगको स्थापना दिवसका अवसरमा सम्माननीय राष्ट्रपति र माननीय मन्त्रीज्यूको उपस्थितिले आयोग गौरवान्वित भएको बताउदै आयोगको स्थापना दिवसको अवसरमा सबै प्रति हार्दिक आभार र शुभकामना समेत व्यक्त गर्नु भयो।

कार्यक्रममा सहभागिहरुलाई राष्ट्रिय सूचना आयोगका सचिव श्री दीर्घराज मैनालीले स्वागत गर्दै सूचनाको हकको संरक्षण, सम्बर्द्धन र प्रचलनको लागि सार्वजनिक निकायलाई थप जवाफदेही बनाउन सबै सार्वजनिक निकाय थप जिम्मेवार बन्‍नु पर्ने अपेक्षा रहेको बताउनु भयो।

स्थापना दिवसको अवसरमा पुरस्कृत हुने व्यक्तिहरुमा विनय कसजु सूचनाको हक उत्कृष्ट अभियन्ता पुरस्कार श्री दिपक रिजाल, श्री गजेन्द्र बुढाथोकी,श्री कविता थापा र श्री हरिराम कोण्डा हुनुहुन्छ ।

त्यसै गरी उत्कृष्ट सूचना अधिकारी पुरस्कार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका श्री देवी प्रसाद थपलिया, मध्यपुर थिमी नगरपालिका, भक्तपुरका श्री केशव सिलवाल, जिल्ला हुलाक कार्यालय, चितवनका श्री पदम कुमार श्रेष्ठ, मन्थली नगरपालिका, रामेछापका श्री हेमन्त कुमार बुढाथोकी र छत्रदेब गाउँपालिका, अर्घाखाँचीका श्री बुद्घिराम न्यौपाने पुरस्कृत हुन भयो।

साथै  पुरस्कृत हुने उत्कृष्ट कर्मचारीहरुमा उपसचिव, श्री सन्तोष कुमार दाहाल, उपसचिव, श्री सुदर्शन ढकाल, शाखा अधिकृत श्री दिनेश लुईटेल र नायब सुब्बा श्री रञ्जना कुमारी दाहाल रहनु भएको छ भने कर्मचारी प्रोत्साहन पुरस्कार हलुका सवारी चालक, श्री सिताराम बस्नेत र कार्यालय सहयोगी श्री माईली तामाङ पुरस्कृत हुनभयो ।

उक्त कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष श्री कमला पराजुली, राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त श्री गगन विष्ट, सूचना आयुक्त श्री दुर्गा भण्डारी पौडेल, राष्ट्रपति कार्यालयका विशेष सल्लाहकार तथा पदाधिकारीहरु, नेपाल सरकारका सचिवज्यूहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरिक्षकहरु, सहसचिवहरु, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल सरकारका विभिन्न निकायका प्रमुख एवं सूचना अधिकारीहरु, राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्तहरु र पूर्व सचिवहरु र आयोगका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link