रुसी सेनामा भर्ना भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ का २४ वर्षीय सिजनबहादुर सिंह घर फर्किएका छन् । रुसी सेनाबाट भागेर उनी शुक्रबार भारतको दिल्ली हुँदै स्वदेश फर्किएका हुन् ।
“पछिल्लो तीन महिनादेखि तलब पाइएन । खाना नपाएर साह्रै गाह्रो भयो । रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे”, उनले भने, “त्यसपछि भागेर आएको हिँडे ।”
उन रुस–युक्रेन युद्धमा अग्रमोर्चामा खटिएका थिए । उनी अन्य १० जना साथीसँगै गत भदौ १ ‘भिजिट भिसा’मा रुस गएर सेनामा भर्ती भएका थिए । परिवारका जेठा छोरा उनी ऋण तीर्न पैसा कमाउन अर्को ऋण काढेर रुसी सेनामा पुगेका थिए । घर फर्किंदा रित्तो हात हुनु परेको छ । “घरमा रु ३० लाख ऋण थियो । बुबाले कमाएर तिर्न सक्ने अवस्था थिएन । स्वदेशमा पाइने रु २०/३० हजारको जागिरले ब्याज तिर्न पनि सकिँदैनथ्यो”, उनले भने, “परिवारको बाध्यताले युद्धको भूँमरीमा हामफालेँ तर सोचेकोजस्तो भएन ।”
सुरुआतमा रुसी सरकारले तलब दिए पनि पछिल्लो तीन महिनामा तलब पनि नदिएको र भोकभोकै काम गर्न नसकिने अवस्था आएपछि भागेर स्वदेश फिर्ता भएको उनले सुनाए । उनका अनुसार घर धितो राखेर रु सात लाख ५० हजार ऋण निकालेर रुस हानिएका हुन् । सँगै रुस गएका अन्य १० साथी युद्धभूमिमै ढलेको उनी बताउँछन् ।
“त्यहाँको अवस्था देख्दा बाँचिएला सोचेकै थिएन । सँगैका सबै साथी मरे । डराएर म पछि पछि लागेर युद्धमा जाने हुनाले बचेँ”, उनी भन्छन् , “दैनिक ५०/६० जना नेपाली सैनिकमा भर्ती हुन पुग्थे ।” मासिक रु अढाई लाखदेखि पाँच लाखसम्म आम्दानीलगायत प्रलोभनमा परेर रुसी सेनामा भर्ना भइरहेको उनको भनाइ छ । केही महिनाको सैन्य तालिमपछि युद्धका लागि परिचालन गरिएको उनले बताए ।
युद्ध लडिरहेको रुसी सेनाको फौजबाट भागेर राजधानी मस्को पुगेका सिंह घरबाट पैसा मगाएर दिल्ली हुँदै स्वदेश पुगेका हुन् । मस्कोमा एक दलाललाई रु दुई लाख ५० हजार बुझाएर घर पुग्न सफल भएको उनी बताउँछन् । “तीनजना भागेर मस्को पुगेका थियौँ । सँगै दिल्लीको टिकट काटिएको थियो”, सिंह भन्नुहुन्छ, “तर विमानमा दिल्ली आउँदा एक्लै थिए । पछि बुझ्दा एकजनालाई अध्यागमले समातेको रहेछ ।” रुसी सेनामा भर्ना भएका नेपालीको अवस्था दयनीय रहेको उनले बताए
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भैँसी पाल्नुहोस् पचास हजार अनुदान पाउनुहोस् !
- थुन्सेले जोगाएको परम्परागत सीप
- धेरै कानुन र धेरै नियामकबाट समस्यामा मेक इन नेपाल
- भेप प्रतिबन्ध प्रक्रियामा
- सबै मुसहर बालबालिकालाई शिक्षासँग जोड्ने वीरबल यादवको सपना
- हमासले स्वीकार गर्यो बन्धक मुक्तिका लागि कतार र इजिप्टको मध्यस्थता प्रस्ताव
- प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
- केराले बजार पाउन थालेपछि हर्षित् छन् किसान
- यात्रुको गुनासो: पोखरासम्मको यात्रा निकै झञ्झटिलो
- भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान जारी