महोत्तरीको बर्दिबास नगरक्षेत्रमा उमेर पुगेर बिहे गर्ने मुसहर जाति समुदायका दम्पतीले रु ५० हजार नगद प्रोत्साहन रकम पाउने भएका छन्। चैत ५ गते बर्दिबास–१४ स्थित नमुना मुसहर बस्तीमा एक सय आठ जनाको लघुजीवन बीमा गराएपछि बर्दिबास नगरपालिका प्रमुख प्रह्लादकुमार क्षेत्रीले सो प्रोत्साहन रकम घोषणा गर्नुभएको हो।
“छोराछोरीको उमेर २० वर्ष पुगेपछि मात्र उनीहरुको विवाह गर्नुहोस्, नगरपालिका कार्यालयले रु ५० हजार नगद प्रोत्साहन रकम दिनेछ”, नगरप्रमुख क्षत्रीले भन्नुभयो, “यसले तपाईंहरुको स्वास्थ्य र परिवार राम्रो बन्ने छ।” यो कार्यक्रम नगरक्षेत्रका सबै मुसहर समुदायमा लागू हुने क्षेत्रीले स्पष्ट पार्नुभयो।
नगरक्षेत्रभित्रका स्थायीबासी मुसहर पुरुष महिला दुवैलाई यो रकम उपलब्ध गराइने क्षत्रीको भनाइ छ। सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा मुसहर महिलाको स्वास्थ्यमा समस्या बढ्दै गएको क्षेत्रीले बताउनुभयो। २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था भए पनि मुसहर बस्तीमा बालविवाह भने यथावत नै छ।
१८ देखि ६९ वर्ष उमेर समूहका मुसहरहरुको तीनवर्षे लघुजीवन बीमाबापत रकम बर्दिबास नगरपालिकाले एकमुष्ठ रु एक लाख १९ हजार तीन सय ४५ जम्मा गरेको हो। बीमा ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’ लिमिटेड बर्दिबास शाखामा गरिएको छ।
नगरप्रमूख क्षत्रीसहित बीमा कम्पनीका अधिकृत बस्तीमै पुगेर लघुजीवन बीमा गराइएको हो। गरिबी, अशिक्षा र सबैखाले अवसरबाट वञ्चित मुसहरलाई भइपरी आउने दुर्घटनामा राहत होस् भन्ने उद्देश्यले लघुजीवन बीमा गराइएको जनाइएको छ। बीमितले तीन वर्षपछि भवितव्य पर्दा रु एक लाख नगद पाउने लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका शाखा प्रमुख रवीन्द्रकुमार मिश्रले जानकारी दिनुभयो।
नगरपालिकाले बीमा गरिदिँदा स्थानीय सरकारबाट सहयोग पाइने आशा जागेको बस्तीकी ५८ वर्षीया मानकी सदाले बताउनुभयो। सोही बस्तीका ६६ वर्षीय सुकेश्वर सदा र २२ वर्षीया निशा सदाले लघुजीवन बीमा गरिदिएकोमा खुशी व्यक्त गर्नुभयो।
मुसहर बस्तीकी ५७ वर्षीया रजिया सदाले आफ्ना नातिनातिनालाई २० वर्ष उमेर कटाएर मात्र बिहे गर्न सल्लाह दिने बताउनुभयो। बर्दिबास–१४ को नमुना मुसहर बस्ती धुर्मुस सुन्तली फाउण्डेसनले बनाएर ५२ मुसहर परिवारलाई २०७४ साल वैशाख १ गते हस्तान्तरण गरेको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- भैँसी पाल्नुहोस् पचास हजार अनुदान पाउनुहोस् !
- थुन्सेले जोगाएको परम्परागत सीप
- धेरै कानुन र धेरै नियामकबाट समस्यामा मेक इन नेपाल
- भेप प्रतिबन्ध प्रक्रियामा
- सबै मुसहर बालबालिकालाई शिक्षासँग जोड्ने वीरबल यादवको सपना
- हमासले स्वीकार गर्यो बन्धक मुक्तिका लागि कतार र इजिप्टको मध्यस्थता प्रस्ताव
- प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि
- केराले बजार पाउन थालेपछि हर्षित् छन् किसान
- यात्रुको गुनासो: पोखरासम्मको यात्रा निकै झञ्झटिलो
- भारतमा लोकसभाका लागि आज तेस्रो चरणको मतदान जारी