लमजुङका पहाडी गाउँगाउँमा केही वर्ष अघिसम्म बाटै भरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घैँटोमा खुदो पानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो ।
तर अब ती इतिहास भइसके । कहीँ कतै भग्नावशेष मात्रै देख्न पाइन्छन् । पछिल्लो समय त्यस्ता संरचना निर्माण हुनै छाडे । निर्माण भएकासमेत संरक्षण नगर्दा भत्किएर लोप भएका छन् । सडक विस्तारसँगै ऐतिहासिक महत्वका पाटी, पौवा तथा धर्मशाला लोप भएका हुन् ।
दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ८२ वर्षीय बुद्धिमान श्रेष्ठले भने, “केही वर्ष अघिसम्म गाउँमा मोटरबाटो थिएन, घरघरमा सबै मान्छे हुन्थे, धर्म कर्ममा बढी आस्था राख्ने चलन थियो, तर अहिले गाउँगाउँमा मोटरबाटो आयो, पहिला मेलापात होस वा कतै जाँदा प्रयोग हुने बाटो प्रयोग हुन छाडे । नयाँ पुस्ताले त्यस्ता कुराको वास्ता नराख्दा यस्ता चौतारा र घैँटोमा पानी राख्ने चलन लोप भयो ।”
चैत वैशाखको गर्मीमा प्यास लाग्दा चौतारामा धर्म हुन्छ बटुवाले खाओस् भनेर घैँटोमा सक्नेले मह खुदो नसक्नले पानी राख्ने चलन अब नरहेको राइनास नगरपालिका–८ हर्राबोटकी युनिता गुरुङ बताउँछिन् ।
मर्स्याङ्दी गाउँपालिका–३ खुदीका रामबहादुर कार्कीले भने, “चौतारीमा घैँटामा राखिएको पानी गोठाला, बटुवा, खेताला, भरियाले पिउने गर्थे, तर अहिले गाउँघरमै वैशाखमा चौतारीमा ‘धर्म घडा’ राख्ने चलन हरायो ।” भएका चौतारीको पनि संरक्षण हुन छाडेको उनी बताउँछन् ।
परम्पगत चलन संरक्षण गर्न बेँसी सहर नगरपालिका–११, चिती तिलहारका ऋषिराज दवाडी र पत्नी सुमित्रा दवाडीले चौतारोमा माटोको घैँटोमा चिसो पानी राखेका छन् । संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउन चौतारीमा पानी राख्ने गरेको दवाडीको भनाइ छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- हुरीका कारण २० प्रतिशत केरा खेतीमा क्षति
- कतारमा युद्धविराम वार्ता: हमासले इजरायलसमक्ष राख्यो यस्तो प्रस्ताव
- नदी कटान रोकथाम गर्न सिंगा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
- सरकारी बजेट नभएपछि स्थानीय आफैँले बनाउन थाले पुल
- एक दशकपछि देख्न पाउँदा मुहारमा फिरेको खुसी
- बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
- इजरायलको नयाँ आक्रमणमा : गाजामा मृतकको संख्या २५० माथि
- आज कुन देशको मुद्राको मूल्य कति ?
- सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै
- पोखरामा तरबुजा खेती: चार महिनामा १५ लाख रुपैयाँ आम्दानी
