सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य बनाउने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। बोर्डका अध्यक्ष डा गुणराज लोहनीले सामाजिक सुरक्षा सेवा लिँदा स्वास्थ्य बीमा कार्ड अनिवार्य गर्न वकालत भइरहेको बताउनुभएको छ।
आठौँ स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आउँदो वर्षदेखि औपचारिक क्षेत्रमा बीमित सङ्ख्या बढाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्ड अनिवार्य गराउने भनेर लागि परेका छौँ। डिजिटल कार्डमार्फत पनि बीमितलाई सेवा उपलब्ध गराउन सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गरिएको छ।”
उहाँले आगामी दिनमा अनुगमनका कार्यक्रम बढाउने र राम्रो सेवा नदिने सेवा प्रदायक संस्थालाई सेवा दिनबाट हटाइने जनाउनुभयो। बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले स्वास्थ्य बीमाप्रति धेरैजना नकारात्मक सुनिए पनि यथार्थमा त्यो नरहेको बताउनुभयो। उहाँले भन्नुभयो, “स्वास्थ्य बीमाप्रति धेरै अपेक्षा छ त्यो पूर्ण रुपमा पूरा गर्न नसकिएको हो। कुनै ठाउँमा सेवा एकदमै राम्रो पनि छ। कुनैमा नभएका पनि छन्। हामीसँग स्वास्थ्य बीमालाई फेल हुन दिन छुट छैन।”
उहाँले स्वास्थ्य बीमा कार्यक्रममा अनलाइन प्रणालीबाट आबद्ध हुनका लागि तयारीको कार्य अगाडि बढाइएको बताउनुभयो। उहाँले भन्नुभयो, “एकपटक प्रेषण भई आएका बिरामीलाई सोही रोगको फलोअपका लागि पुनःप्रेषण पुर्जी लिइरहन नपर्ने गरी व्यवस्था गरिएको छ।” उहाँले हाल सुविधा थैलीमा रहेको औषधि तथा सेवा प्याकेजको शुल्क समयानुकूल परिमार्जन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभयो।
त्यसैगरी बोर्डका सदस्य डा मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमाका बारेमा अझै पनि जनमानसलाई बुझाउन नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “बीमाको उद्देश्य त हुनेले नहुनेलाई सहयोग गर्ने हो। भविष्यमा एकद्वार प्रणाली लागू गरे सेवा दिन सजिलो हुन्छ। व्यवस्थित भएर जानुपर्नेछ।”
विसं २०७८ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका ७७ वटै जिल्लामा पुगेको छ। काठमाडौँ उपत्यकाको बुढानिलकण्ठ नपामा पनि छिट्टै कार्यक्रम लागू गरिने योजना रहेको बोर्डले जनाएको छ।
बोर्डको तथ्याङ्कअनुसार कूल बीमित परिवार सङ्ख्या २३ लाख ९२ हजार छ सय ७६ अर्थात् ३५.८८ % रहेका छन् भने बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार चार सय ८३ रहेका छन्। नवीकरण नगर्ने बीमित सङ्ख्या भने ४८ लाख आठ हजार सात सय ६० जना छन्। कार्यक्रममा लक्षित वर्गको आबद्धताको अवस्था हेर्ने हो भने परिवारका सदस्य अति गरिब बीमितको सङ्ख्या पाँच लाख १४ हजार छ सय १८ जना छन्। ज्येष्ठ नागरिक बीमितको सङ्ख्या भने नौ लाख ३० हजार तीन सय ९७ रहेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
