सोमबार राति भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट सडक दुर्घटनामा परी मृत्यु भएका सातमध्ये ६ जना एउटै वडाका नागरिक भएको खुलेको छ। मृतक ६ जना बाँकेको वैजनाथ गाउँपालिका–८ का बासिन्दा रहेका छन्।
उक्त सवारी दुर्घटनामा परी मृत्यु हुनेमा वैजनाथ–८ का धीरज थारु, उदयराम थारु, विश्राम थारु, तिलकराम थारु, अन्तराम थारु र विनोद थारु रहेको वैजनाथ गाउँपालिका–८ का वडाध्यक्ष भगन थारुले जानकारी दिनुभयो। उहाँका अनुसार कामका सिलसिलामा नैनीताल क्षेत्र पुगेका उनीहरु नजिकिँदै गरेको नयाँ वर्ष मनाउन घर फर्किने क्रममा दुर्घटनामा परेका हुन्।
“सबै जना नयाँ वर्ष मनाउन घर आउँदै थिए, बाटोमै दुर्घटनामा परी ६ जनाको ज्यान गयो, दुई जना घाइते भएका छन्”, वडाध्यक्ष थारुले भन्नुभयो, “मृतकका आफन्तजन दुर्घटनाको खबर पाउनासाथ आज भारततर्फ गएका छन्।” मृतकमध्ये कोही ६ महिना अघि त केही एक वर्ष अघि मजदुरीका लागि भारत गएका थिए। मृतकमध्ये तीन जना फत्तेपुर, एक जना रिहारपुर र दुई जना थपुवा गाउँका रहेको वडाध्यक्ष थारुले जानकारी दिनुभयो।
वडाध्यक्ष थारुका अनुसार दुर्घटनामा परी सोही वडाका दशरथ थारु र एक महिला घाइते भएकी छिन्। “महिलाको नाम थाहा हुन सकेको छैन”, उहाँले भन्नुभयो, “घटनाको खबरले पुरै वडाका बासिन्दा शोकमा छन्।”
उक्त दुर्घटनामा परी मृत्यु भएका अर्का नेपाली मजदुर बर्दियाको बाँसगढी नगरपालिकाका रहेको बताइएको छ। सो दुर्घटनामा परी सात नेपाली नागरिकसहित जीप चालक भारतीय नागरिकको मृत्यु भएको थियो।
बेतालघाटस्थित पुलिस थानाका सव–इन्सपेक्टर अनिस अन्सारीले मृतक सबैको शव नैनीताल सरकारी अस्पताल हल्द्धानीमा राखिएको जानकारी दिनुभयो। उनीहरु सबै घटनास्थल वरपरको सडक छेउमा खानेपानीको पाइप बिछ्याउने काम गर्दैआएका थिए। सोमबार काम सकिएपछि जीप भाडामा लिएर सबैजना भारतको टकनपुर हुँदै हुँदै महेन्द्रनगर आउँदै थिए। जीप चढेको केही बेरमै उनीहरु दुर्घटनामा परेका थिए।
बेतालघाट नजिक गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। सोमबार राति नै भारतीय प्रहरी, स्थानीयलगायत उनीहरुको उद्धारमा खटिएका थिए।भारतको
घटनास्थल वरपर नेपालीहरु सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे। उनीहरु गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले बताउनुभयो।
“काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा सात नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए,” उहाँले भन्नुभयो, “उनीहरुको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ।” दुर्घटनामा परी धीरज चौधरीको श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएको उहाँले जानकारी दिनुभयो।
गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत ‘स्टेट डिजास्टर रेस्पोन्स टिम’समेत खटिएको सब-इन्सपेक्टर अन्सारीले बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सातवर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन
- मोरङको बेलबारी, सुन्दरहरैँचा, केराबारीमा जङ्गली हात्तीको उपद्रो
- चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद
- नाइजेरियामा इन्धन बोकेको ट्रक विस्फोट हुँदा ७० जनाको मृत्यु
- महाकुम्भमा छैटौं दिन २५ लाखभन्दा बढी तीर्थयात्रीको आगमन
- सहरी क्षेत्रमा आगलागी नियन्त्रणका लागि ‘ड्राइ राइजर’
- दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव
- भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते
- कङ्गोमा दूई लाख भन्दा बढी मानिस विस्थापितः युएनएचसीआर
- प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम ‘सुपर फोर’मा