काठमाडौँ महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’ जडान गर्न सुरू गरेको छ । महानगरको विपद् व्यवस्थापन विभागले यस कार्यलाई तीव्ररूपमा अगाडि बढाएको छ भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरूले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेको छ ।
कामपाको ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ मा ‘ड्राइ राइजर’ जडान भइसकेको छ भने अन्य वडाहरूमा पनि आवश्यकताअनुसार उक्त प्रविधि जडानको काम भइरहेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार कामपाका कतिपय भित्री गल्ली दमकल र एम्बुलेन्स छिर्न नसक्ने किसिमका छन् । साँघुरा गल्लीमा आगलागी वा अन्य विपत्जन्य घटना हुँदा नियन्त्रण कठिन हुने हुँदा उक्त प्रविधि जडान गरिएको हो ।
जोशीले भन्नुभयो, “यसले अग्नि नियन्त्रणमा ठूलो सहयोग गर्ने विश्वास छ”, उहाँका अनुसार ड्राइ राइजर पाइप खनेर भित्री गल्लीहरूमा पु¥याइएको छ भने ठाउँठाउँमा दमकलको पानी पठाउने पाइप जडानको लागि ‘आउटलेट’ राखिएको छ । करिब ३० मिटरको अन्तरमा आउटलेटहरू राखिएका छन् ।
दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुक्खा पाइप लाइन ड्राइ राइजर हो । यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई ‘वेट राइजर’ भनिन्छ ।
ड्रइ राइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा ‘इनलेट भल्व’ राखिएको हुन्छ । यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दूरीमा आउटलेट राखिएका हुन्छन् । दमकलको पानी ‘इनलेट’मा राखेपछि आवश्यकताका आधारमा ‘पाइपलाइन’ का बीचमा जुनसुकै ‘आउटलेट’ खोले पनि पानी प्राप्त हुन्छ । यसले आगो नियन्त्रण गर्न गरिन्छ ।
दमकलबाट आठ बारको प्रेसरमा पानी पठाउँदा सात तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्छ ।
ड्राइ राइजर कसरी काम गर्छ ?
भित्री गल्लीमा पाइपबाट दमकलको पानी पठाउने पारेको संरचनालाई ‘ड्राइ राइजर’ भनिन्छ । सामान्य भाषामा ‘पाइपलाइन’ भनेर बुझ्दा हुन्छ । तर दकमलको पानी निकै फोर्सले आउने भएकाले यो पाइप अन्य पाइपभन्दा बाक्लो हुन्छ आउटलेटहरू पनि बलिया हुन्छन् ।
यसरी तयारी अवस्थामा राखिएको पाइपमा दमकलको पाइपको मुख (होज) जोडिन्छ । त्यसपछि मात्रै ‘फायर फाइटिङ’ गरिन्छ । यस प्रकारको पाइपलाइन जडान गर्दा धेरै खर्चिलो नहुने भएकाले सहरी क्षेत्रमा प्रभावकारी हुन्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
