नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) दुई हप्तामै सञ्चालन हुने भएको छ। भारतले आइसिपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गरिसकेकाले अब १०/१५ दिनभित्रै भन्सार कार्यालयले आफ्नो काम आइसिपी स्थलबाट सुरु गर्ने नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो।
आइसिपी सञ्चालनमा आएपछि मालबाहक सवारीसाधनको जाँचपास सोही ठाउँबाट गरिने उहाँले जानकारी दिनुभयो। गत वर्ष जेठ महिनामा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइपिएसको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्नुभएको थियो।
उद्घाटन भएको करिब एक वर्षपछि सोमबार मात्रै भारतले नेपाल सरकारलाई नेपालगञ्ज आइसिपी हस्तान्तरण गरेको छ। नेपाल र भारत सरकारबीच सम्झौता भएको डेढ दशकपछि नेपालगञ्ज नाकामा आइसिपी निर्माण गरिएको थियो।
भारत सरकारका तर्फबाट परामर्शदाता कम्पनी ‘राइट्स’ले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टर मोडल यातायात विकास समितिलाई आइसिपी हस्तान्तरण गरेको हो। नेपालगञ्ज उपमहानगरपालिका –१६ जयसपुर र जानकी गाउँपालिका–१ मा आइसिपीका ठूला पूर्वाधार निर्माण भए पनि पछिल्लो केही महिनादेखि नेटवर्किङ, सिसी क्यामेरा जडानलगायत काम हुँदै आएको थियो।
भारतकै सहयोगमा नेपालगञ्ज नाकामा आइसिपी निर्माण गर्न २०६७ सालमा नेपाल सरकारले जयसपुरमा जग्गा अधिग्रहण गरेको थियो। नेपाल सरकारले अधिग्रहण गरेर राखेको ८७ बिघा जग्गामा आइसिपी निर्माण गरिएको छ। आइसिपी स्थलमा भन्सार कार्यालय, पशु र प्लान्ट क्वारेन्टाइन, गोदाम, खाद्य प्रविधि तथा गुणनियन्त्रण, सुरक्षा ब्यारेक, बैंक काउन्टरलगायत कार्यालय रहने गरी संरचना निर्माण गरिएको प्रमुख भन्सार अधिकृत विश्वकर्माले बताउनुभयो।
आइसिपी सञ्चालन भएपछि वस्तु आयात निर्यातमा उद्योगी व्यापारीलाई ठूलो सहायता पुग्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो। आइसिपी सञ्चालनमा आएपछि सीमावासीमा चहलपहल बढ्ने जानकी गाउँपालिका–१ का वडाध्यक्ष मोहम्मद रजा राईले बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
