धनकुटा पुग्ने जोकोहीले पछिल्लो समय नरिवलको बिस्कुट कोसेलीको रुपमा किन्ने गरेका छन् । त्यसो त धनकुटामा उत्पादित नरिवल बिस्कुटको इतिहास ७० वर्ष पुरानो हो । हातबाट निर्मित नरिवल बिस्कुट कुनैबेला चियासँग खाजाको रुपमा खाने गरिन्थ्यो ।
विसं २०११ मा स्थापित धनकुटा नगरपालिका-४ स्थित मोहन बिस्कुट उद्योग जिल्लाकै सबैभन्दा पुरानो घरेलु बिस्कुट उद्योग हो । औपचारिक रुपमा विसं २०३० मा उद्योग दर्ता गरी सञ्चालनमा आएको यस उद्योगबाट बिस्कुट बनाउन सिकेर अहिले जिल्लामा १८ वटा घरेलु नरिवल बिस्कुट उद्योग सञ्चालनमा छन् ।
उद्योग सञ्चालक मोहन श्रेष्ठका अनुसार अहिले उद्योगले दैनिक दुई सयदेखि एक हजार झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्छ । उत्पादित बिस्कुट धनकुटा बजार पर्यटकीय नगरी भेडेटार र तेह्रथुम जिल्लाको जिरिखिम्ती लगायतका स्थानबाट कोसेलीका रुपमा बिक्रि हुने गरेको छ ।
बाह्र जना कामदार राखेर १६ प्रकारको बिस्कुट उत्पादन गर्दै आएको उद्योगले नरिवल बिस्कुट बाहिरबाट जिल्ला आउने र जिल्लाबाहिर जानेले कोसेलीका रुपमा लाने गरेका छन् ।
त्यस्तैगरी धनकुटा नगरपालिका-६ पात्लेखोलाको ओम बिस्कुट उद्योगले दैनिक तीनदेखि चार सय झोला नरिवल बिस्कुट उत्पादन गर्दै आएको छ । बिगत १२ वर्षदेखि नरिवल बिस्कुट उत्पादन गर्दैै आएको उद्योगका सञ्चालक टीका कटुवालले आफ्नो उद्योगबाट उत्पादित बिस्कुट कोसेलीकै रुपमा बिक्री हुने गरेको जानकारी दिनुभयो ।
कटुवालका अनुसार जिल्लामा घुम्न आउनेले कोसेलीका रुपमा लाने र जिल्लाबाट बाहिर जाँदा आफन्तलाई बिस्कुट कोसेली लाने चलन छ । “यहाँ खाएर त सकिने कुरै भएन जिल्लामा उत्पादन भएको सबै बिस्कुट कोसेलीका रुपमा नै जाने हो”, कटुवालले भन्नुभयो ।
त्यस्तै २०६६ सालबाट दुई लाख लागतमा धनकुटा-१ हिले बजारमा बिस्कुट उद्योग सञ्चालन गर्नुभएका टेकबहादुर गोङ्वा तामाङले पनि दैनिक तीन सय झोलासम्म नरिवल बिस्कुट उत्पादन गर्नुहुन्छ । उहाँले पनि धनकुटाको पहिचान तथा कोसेलीका रुपमा जिल्ला बाहिर नरिवल बिस्कुट लैजाने गरेको बताउनुभयो ।
अहिले नरिवल बिस्कुटको खुद्रा मुल्य प्रति झोला रु ६० देखि ८० सम्म छ । जिल्लामा प्रायः सबै पसल तथा राजमार्गका पसलमा नरिवल बिस्कुट बेच्न राखेको देखिन्छ । बिगत ११ वर्षदेखि धनकुटाको बसपार्कमा ब्यपार गर्दै आउनुभएका चन्द्रकला प्रधानले बाहिरबाट आउने पाहुनाले कोसेलीका रुपमा नरिवल बिस्कुट नै किनेर लैजाने गरेको बताउनुभयो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाका अनुसार बिस्कुट उद्योगले उत्पादन गरेको प्रायः सबै बिस्कुट कोसेलीका रुपमा बिक्री हुने गरेको छ । जसका कारण बिस्कुट उद्योग फस्टाइरहेका छन् ।
कार्यालयको तथ्याङ्कअनुसार अहिले धनकुटा नगरपालिकामा १३ वटा, पाख्रिबास नगरपालिका र छथर गाउँपालिकामा दुई/दुई वटा र सहिदभूमि गाउँपालिकामा एउटा घरेलु बिस्कुट उद्योग सञ्चालनमा रहेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायल र लेबनानबीच युद्धविरामको सहमति
- कालीगण्डकीमा बन्द भयो जलयात्रा
- विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु हुन्छ : संयुक्त राष्ट्रसङ्घ
- सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढे
- ‘टार’ शब्द परेपछि…
- युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए
- कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीको भाका सारियो
- भारतबाट आउने तरकारीकै कारण नेपाली किसान पीडित
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?