सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा सहयोग गर्न विभिन्न मन्त्रालयलाई आग्रह गरेको छ।
केन्द्रका निर्देशक केशवराज पण्डितले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई विद्युतीय चुरोटको उपभोग गर्न नपाउने व्यवस्था कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको छ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका २०७१ को दफा २८ को उपदफा ४ मा ‘कसैले पनि इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री वितरण, सार्वजनिकस्थल र सार्वजनिक यातायातमा उपभोग र सञ्चारमाध्यमबाट प्रवद्र्धन तथा विज्ञापन गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेकाले सोही कार्यान्वयन गर्नका लागि पत्राचार गरिएको उहाँले बताउनुभयो।
केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा भक्तबहादुर केसीले अर्थ र सञ्चारमन्त्रायले निर्देशिकामा भएको कुरालाई कार्यान्वयन गर्नसाथ विद्युतीय चुरोटको नेपालबाट प्रतिबन्ध हुने बताउनुभयो। उहाँले कतिपयले चुरोटको सेवन छाड्नका लागि विद्युतीय चुरोटको सेवन गर्ने गरेको भन्दै चुरोट जतिकै विद्युतीय चुरोटले पनि स्वास्थ्यमा हानी गर्ने बताउनुभयो। उहाँले सुर्ती सेवनको गेट–वेका रुपमा विद्युतीय चुरोट रहेकोसमेत बताउनुभयो।
“ विद्युतीय चुरोटको सेवनले चुरोट खान सिकाउँछ। यसले निकोटिनको लत बसाउने काम गर्दछ”, उहाँले भन्नुभयो, “त्यसैले विद्युतीय चुरोट सुर्तीजन्य पदार्थ सेवनको गेट–वेका रुपमा रहेको छ।”
विद्युतीय चुरोटले मानिसको मुटु र फोक्सोमा सिधैँ असर गर्नुको साथै मुख जल्ने जस्ता पनि समस्या गराउनुको साथै सेवन गरिरहेको मानिससँगै बसिरहेको अर्को मानिसलाई पनि यसले हानी गर्ने उहाँको भनाइ छ।
नेपालमा विद्युतीय चुरोट विभिन्न फ्लेवरमा आउने गरेको छ। ब्लाकवेरी, ब्लुवेरी, मेलन, पाइनापल, गाभा, म्याङ्गो जस्ता फ्लेवरमा आउने गरेको छ।
भन्सार विभागको तथ्याङ्कमा गत आर्थिक वर्षमा वार्षिक ३२ लाख २३ हजार छ सय ८७ थान विद्युतीय चुरोटका डिभाइस नेपाल आउने गरेको बताउनुभयो।
तीमध्ये ३१ लाख ७५ हजार आठ सय १५ थान ती विद्युतीय चुरोट चीनबाट मात्र आउने गरेको छ। यस्तै अमेरिकाबाट दुई लाख ६५ हजार ६४०, सयुक्त अरब इमिरेट्सबाट १२ हजार नौ सय ६७ थान आउने गरेका छन्। भारत, बेलायतलगायत देशबाट पनि विद्युतीय चुरोट आउने गरेको छ।
केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा केसीका अनुसार नेपालमा वार्षिक रु ३२ अर्ब बराबरको विद्युतीय चुरोटको व्यापार हुने गरेको छ। उहाँले नेपालमा विगत पाँच वर्षमा दुई सय गुणाले आयात बढेको बताउनुभयो। एउटा विद्युतीय चुरोट रु १० हजारदेखि १३ हजारसम्म पर्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक
- उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ: अमेरिकी रक्षामन्त्री अस्टिन
- बजेट अभावले दुई वर्षदेखि अलपत्र छ काभ्रेको तामाङ एकीकृत बस्ती
- सुस्ताको सास्ती
- बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, राष्ट्रपति भवन कब्जा
- कृषि एम्बुलेन्सले किसानलाई राहत
- जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती
- रूसमा सेना पठाउने उत्तर कोरियाली तयारीले सियोल र नेटो चिन्तित
- सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
- बङ्गलादेशमा डेङ्गुबाट ८४ जनाको मृत्यु