ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी छन्। उचित संरक्षणको अभावमा ती दिनप्रतिदिन विरुप बन्दै गएका छन्।
स्थानीय ७७ वर्षीय कृष्ण डुङ्गोलले संरक्षणको अभावमा ती पोखरीको प्राकृतिक स्वरूप बग्रिन थालेको बताउनुभयो। उहाँले भन्नुभयो,“यी पोखरी बाबुबाजेको पालामा निर्माण भएका थिए तर संरक्षण हुननसक्दा पहिलोको स्वरुपमा छैनन्। कोही सुख्खा छन् भने केहीमा हिलोमात्रै छ। तरबारसमेत गर्न सकिएको छैन।”
स्थानीय जगत डुङ्गोल पनि यहाँका पोखरी संरक्षणका लागि स्थानीय तहले उचित योजना बनाउनुपर्ने बताउनुहुन्छ। बसपार्क छेउमा रहेको ‘खा’ पोखरी मिचेर फराकिलो बनाउने मनसायसहित छलफल चलिरहेकाले त्यसतर्फ सबै सचेत रहनुपर्ने उहाँको भनाइ छ। “बसपार्क फराकिलो बनाउने वा नबनाउने भन्ने विषयमा छलफल जारी छ। बसपार्क पनि आवश्यक हो तर प्राकृतिक पोखरीको अस्थित्व जोगाउन पनि त ध्यान दिनुपर्यो। पोखरीलगायत यहाँका सम्पदा संरक्षणमा स्थानीय तह र सम्बद्ध पक्ष जागरुक हुनुपर्छ”, उहाँले भन्नुभयो।
खोकना पर्यटकीय दृष्टिकोणले सम्भावित गाउँ भएकाले यहाँका पोखरी र परम्परागत तेल व्यवसाय बचाइराख्नुपर्ने स्थानीय सुरेश डङ्गोलको भनाइ छ। पोखरी भरणका लागि आवश्यक पानी ल्याउन बनाइएका राजकुलो पनि अतिक्रमणमा परेकाले पोखरी सुख्खा हुने समस्या रहेकाले त्यसको निरुपण गर्न ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले भनाइ छ, “पोखरीमा राजकुलोबाट पानी आउनुपर्ने हो तर आजभोलि आउनै छाड्यो। पोखरी सुक्खा छन्। भएका पोखरीको संरक्षण गर्न सकिएको छैन। यसमा जिम्मेवार निकायको ध्यान जानुपर्छे।”
स्थानीयवासीले कुनै काममा निस्कँदा बाटोमा दायाँबायाँ पोखरी हेरेपछि शुभसाइत हुन्छ भन्ने मान्यतासहित यहाँ पोखरी निर्माण गरिएका स्थानीय जगत् डुङ्गोलले जानकारी बताउनुहुन्छ। त्यसैकारण बसपार्क छेउमा दायाँबायाँ खापोखरी र कमलपोखरी छन्।
ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रविन महर्जन तेल व्यवसायमा परिचित खोकनाका पोखरीलगायत अन्य ऐतिहासिक सम्पदा जोगाउन जरूरी रहेका बताउनुहुन्छ। ऐतिहासिक तोरी पेल्ने मिल, पोखरी, मन्दिर र परम्पराको जगेर्ना गरी पर्यटन प्रवर्द्धनमा जोड दिन वडा कार्यालयले योजना बनाइरहेको बताउनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
