कूल क्यान्सरमध्ये ४०% को कारण चुरोट,सुर्ती, खैनी

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले सुर्तीजन्य पदार्थको प्रयोग र स्वास्थ्यमा पर्ने गम्भीर असरलाई दृष्टिगत गरी सुर्तीजन्य पदार्थको पहुँच र प्रयोगको दरमा कमी ल्याउनुपर्ने बताउनुभएको छ।

स्वास्थ्य सेवा विभागले जेठ १८ गते यहाँ आयोजना गरेको विश्व सुर्तीजन्य पदार्थरहित दिवस कार्यक्रममा उहाँले हरेक वर्ष विश्वमा सुर्तीजन्य पदार्थ सेवनका कारण विश्वमा वार्षिक ८० लाख मानिसले ज्यान गुमाउने गरेको तथ्याङ्क रहेको र नेपालमा ३९ हजारभन्दा बढीले अकालमा ज्यान गुमाउने गरेको बताउनुभयो। यो तथ्याङ्क कूल मृत्यु हुने सङ्ख्याको १८ प्रतिशत हो। विश्वभरि जेठ १८ गते ‘सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो।

क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग र मधुमेहजस्ता नसर्ने रोगहरु निम्त्याउने प्रमुख कारकका रुपमा रहेको सुर्तीजन्य पदार्थले स्वास्थ्यका साथै समग्र वातावरणमा पनि क्षति पु-याएको उहाँको भनाइ छ।

सुर्तीजन्य पदार्थसँग सम्बन्धित समस्या र स्वास्थ्यको असरहरुको न्यूनीकरणमा अपेक्षित नतिजा हासिल गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन तथा कानुनलाई थप प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न अपरिहार्य रहेको उहाँले बताउनुभयो । सुर्तीजन्य पदार्थको विज्ञापन निषेध गरिएको भए पनि बिक्री वितरण कडाइका साथ नियमन गर्न जरुरी रहेको उहाँले बताउनुभयो।

स्वास्थ्य सचिव डा रोशन पोखरेलले सुर्तीजन्य पदार्थको सेवन निरुत्साहित गर्दै नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न विभिन्न ऐन, कानुन बनाइएको बताउनुभयो। उहाँले सुर्तीजन्य पदार्थ सेवनलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थमा कर बढाउने, धुम्रपानरहित वातावरणमा लागू गर्ने, सादा प्याकेजिङ लागू गर्ने, जनचेतना अभिवृद्धि गर्ने र स्वास्थ्य सेवा दिने स्थानमा धुम्रपान छोड्न मद्दत गर्न संरचनाको व्यवस्था गर्ने कार्यमा मन्त्रालय अग्रसर रहेको स्पष्ट पार्नुभयो।

क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही बालबालिकालाई सुर्तीजन्य पदार्थबाट जोगाउन चकलेट, स्ट्रबेरी, चेरीलगायत विभिन्न स्वादमा सुर्तीजन्य पदार्थ बेच्न नहुने बताउनुहुन्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा भक्तबहादुर केसीले कूल क्यान्सरको ४० प्रतिशत कारण घुम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग हुने गरेको उल्लेख गर्नुभयो।

त्यस्तै, सुर्तीजन्य पदार्थको सेवनले मुटुको रोग, फोक्सोको समस्या, मस्तिष्कघात हुने गर्दछ। गर्भावस्थामा यसको प्रयोगले कम तौल भएका बच्चा जन्मनु तथा समय अगाडि जन्मिने, गर्भ तुहिनेजस्ता जटिलताहरु निम्त्याउन सक्छ। सुर्तीजन्य पदार्थका सेवनले मुखको, फोक्सोको क्यान्सर, श्वासप्रश्वाससम्बन्धी रोग, मस्तिष्कघात तथा रक्तनलीसम्बन्धी रोग लाग्ने गर्दछ।

मुखको क्यान्सर बढ्दै

यसबीच विश्व धूमपानरहित दिवस २०२४ का अवसरमा जेठ १८ गते कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा पछिल्लो समय धूमपान र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोगले मुखको क्यान्सर बढ्दै गएको बताइएको हो।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सुर्तीजन्य पदार्थको प्रयोगसम्बन्धी ऐनलाई कार्यान्वयन गर्नका लागि सरकारले काम गरिरहेको बताउनुभयो। उहाँले सरकारले बनाएको राष्ट्रिय मुख स्वास्थ्य रणनीतिमा सुर्तीजन्य पदार्थले गर्दा लाग्ने क्यान्सर र त्यसको उपचार पद्दतिबारे समावेश गरिएको उल्लेख गर्नुभयो।

 नेपाल अर्बुद रोग निवारण संस्थाका सदस्य डा प्रदीप बैद्यले युवा जगतमा सुर्तीजन्य पदार्थको प्रयोग बढ्दै गएको भन्दै यसलाई नियन्त्रणका लागि प्रयोगकर्ता आफैँ सचेत हुनुपर्ने बताउनुभयो।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का अनुसन्धान प्रमुख डा प्रदीप ज्ञवालीले नेपालमा कति व्यक्तिलाई क्यान्सर लागेको छ भन्ने बारेमा क्यान्सर पञ्जीकरण गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो। त्यसैगरी स्वास्थ्य विभाग इपिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा रुद्र मरासिनी, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ शोधकर्ता डा विष्णुप्रसाद मरासिनीलगायतले नेपालमा दाँत तथा मुखसम्बन्धी क्यान्सरको छुटै अनुसन्धान आवश्यक रहेको उल्लेख गर्नुभयो।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखमा हुने क्यान्सरका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो। उहाँले मुखमा हुने क्यान्सरलाई कम गर्न अस्पतालले देशका विभिन्न दुर्गम क्षेत्रमा स्वास्थ्य सचेतनाका साथै निःशुल्क स्वास्थ्यजाँच गरिरहेको जानकारी दिनुभयो। कलेजका प्राचार्य प्राडा रवीन्द्रमान श्रेष्ठ, ओरल मेडिसिन विभागका प्रमुख प्राडा सिद्धार्थ गुप्ता, दन्त जनस्वास्थ्य विभाग प्रमुख डा सुजिता श्रेष्ठलगायतले नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक धेरै मानिसको ज्यान जाने गरेकाले यसलाई रोक्न सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताउनुभयो।

पछिल्लो समय सुर्तीजन्य पदार्थको प्रयोगका नाममा विद्युतीय चुरोट, हुक्कालगायत पदार्थ सेवन गर्नेको सङ्ख्यासमेत बढ्दै गएको छ। सुर्तीजन्य पदार्थको प्रयोगसँगै मानिसमा हृदयघात, क्यान्सर, फोक्सो, श्वासप्रश्वास, मस्तिष्कघातलगायत रोग हुने गरेका छन्। नेपालमा १५ देखि ५९ वर्ष उमेर समूहका २८ दशमलव नौ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको तथ्याङ्क छ। त्यसअवसरमा कलेजका विद्यार्थीले धूमपानबाट हुने मुखको क्यान्सरसम्बन्धी नाटक प्रदर्शन गरेका थिए।

सुर्तीजन्य पदार्थ रोकथाम केन्द्र’ स्थापना

विश्व धूमपानरहित दिवसका अवसरमा नै कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रमा ‘सुर्तीजन्य पदार्थ रोकथाम केन्द्र’ स्थापना गरिएको छ। ‘सुर्तीजन्य पदार्थको लतमा लागेका व्यक्तिलाई बानीबाट छुटाउने उद्देश्यले केन्द्र स्थापना गरिएको अस्पतालका निर्देशक डा प्रतिक्षा श्रेष्ठले जानकारी दिनुभयो।

केन्द्रले सुर्तीजन्य पदार्थ प्रयोगकर्तालाई परामर्श प्रदान, रोकथामका उपाय, निकोटिन पदार्थको वैकल्पिक उपाय सुझाउने र विभिन्न सरोकार भएका  निकायसँगको सहकार्यमा विद्यालय तथा समुदायमा सुर्तीजन्य पदार्थको प्रयोग र यसका नकारात्मक प्रभावबारेमा सचेतना कार्यक्रम सञ्चालन गर्नेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link