अमेरिकाले गर्यो युक्रेनलाई एक अर्ब ५० करोड डलरको नयाँ सहायता घोषणा

अमेरिकाले युक्रेनका लागि एक अर्ब ५० करोड डलरको नयाँ सहायता घोषणा गरेको छ ।

उपराष्ट्रपति कमला ह्यारिसले रुसी आक्रमणको दुई वर्षभन्दा लामो समयपछि मुख्यरूपमा युक्रेनको ऊर्जा क्षेत्र र मानवीय सहायताका लागि उक्त सहयोग घोषणा गर्नुभयो ।

स्विट्जरल्यान्डको लक्जरी बर्गेनस्टक माउन्टेन रिसोर्टमा दुई दिने शान्ति शिखर सम्मेलनमा सहभागी हुनुभएकी ह्यारिसले उक्त सहायतामा ५० करोड डलर नयाँ कोष समावेश भएको जानकारी दिनुभयो ।

यसअघि घोषित युएसएआइडी कोषमा थप ३२ करोड ४० लाख डलर पनि आपत्काली ऊर्जा आवश्यकताहरू पूरा गर्नका लागि पुनःनिर्देशित गरिनेछ ।

“यो कोषले युद्धमा क्षतिग्रस्त ऊर्जा पूर्वाधारको मर्मत गर्नेछ, विद्युत् उत्पादनको विस्तार गर्नेछ, निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नेछ र ऊर्जा पूर्वाधारको संरक्षण गर्नेछ”, उपराष्ट्रपति ह्यारिसले एक वक्तव्यमा भन्नुभयो, “यी प्रयासहरूले युक्रेनलाई मर्मत र पुनरप्राप्तिको समर्थन गरेर, ऊर्जा आपूर्ति व्यवधानप्रति युक्रेनको लचिलोपनमा सुधार गरेर र ऊर्जा प्रणालीको मर्मत तथा विस्तारका लागि आधार तयार गरेर उसको पूर्वाधारमा रुसको पछिल्लो आक्रमणलाई जवाफ दिन सहयोग प्राप्त हुनेछ ।”

युएसएआइडी र विदेश मन्त्रालयको नयाँ प्याकेजमा ३७ करोड ९० लाख डलरभन्दा बढी मानवीय सहायता सामेल छ ।

“यसले युक्रेनी जनताविरुद्ध रुसको क्रुर युद्धबाट प्रभावित शरणार्थीहरू, आन्तरिकरूपमा विस्थापितहरू र द्वन्द्व–प्रभावित समुदायहरूको तत्कालको आवश्यकता पूरा गर्न मद्दत गर्नेछ”, ह्यारिसले भन्नुभयो । उहाँका अनुसार कांग्रेसको समर्थनमा विदेश मन्त्रालयले युक्रेनी नागरिक सुरक्षा सहायतामा थप ३० करोड डलर प्रदान गर्नेछ ।

“यो समर्थनले उनीहरूलाई युक्रेनी क्षेत्रको रक्षा गर्न, क्रेमलिनको आक्रमणबाट लक्षित नागरिकलाई बचाउन, महत्त्वपूर्ण पूर्वाधारको संरक्षण गर्न र युद्ध अपराध तथा अन्य अत्याचारका एक लाख २० हजारभन्दा बढी दर्ता भएका मुद्दाहरूको अनुसन्धान गर्न सुरक्षितरूपमा युद्धको अग्रमोर्चामा काम गर्न सहयोग गर्नेछ”, उपराष्ट्रपति ह्यारिसले भन्नुभयो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link