वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेतको माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीयको घरमा इनार छ तर, पानी आउँदैन । रित्तो गाग्री, जर्किन, जार र बोतल समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरूको दैनिकी बनेको छ ।
पानीको हाहाकार भइरहेका बेला वीरेन्द्रनगर नगरपालिका–३, माझगाउँस्थित विश्वासी मण्डली नामक चर्चले बोरिङ गरेर पानी वितरण गरेपछि स्थानीयले राहत पाएका हुन् । माझगाउँ टोल विकास समितिले भने बोरिङबाट पानी निकाल्न एक सय दुई मिटर खन्दासमेत पानी भेटिएन ।
मण्डलीले ४० मिटर गहिराइबाटै पानी निकालेको छ । पानीको हाहाकारका बेला चर्चले ठूलो राहत प्रदान गरेको टोलकी स्थानीय भगवतीकुमारी थापाले बताइन् । ‘पानी अभावले व्याकुल बनेको यो बस्तीका लागि चर्च सहयोगी बनेको छ,’ थापाले भनिन्, ‘इनारको कालो र रातो पानी खानुपथ्र्यो । करिब दुई महिनादेखि सफा पानी खाँदै आएका छौँ । खाने, नुहाउने, लुगाधुने, शौचालय जाने, भान्सामा प्रयोगलगायत सबैमा यसले सुविधा दिएको छ ।’
उनका अनुसार चर्चमा पानी लिन बिहान ४ देखि राति १२ बजेसम्म स्थानीय लाममा बस्छन् । लाममा बस्नेले दुईदेखि तीन घण्टा कुर्नुपर्छ । स्थानीय धनबहादुर खत्रीले भान्सादेखि शौचालयसम्म बोरिङ्कै पानीले धानेको बताए ।
‘यसअघि मान्छेहरू कसरी बाँच्या थिए थाहा छैन । अहिले प्यास मेटाउने मात्र होइन, हाम्रो सम्पूर्ण आवश्यकता यसले पुरा गरेको छ,’ उनले भने । वडाका एक हजार भन्दा बढी घरधुरीले चर्चकै खानेपानीको सुविधा लिएको खत्रीले जानकारी दिए ।
कालिकोट शुभकालिका गाउँपालिका दुई भर्ता घर भई हाल उक्त टोलमा बस्दै आएकी रुपा विश्वकर्माले सहरको कहर बल्ल थाहा पाएको बताइन् । उनले भनिन्, ‘म घरभाडामा बसेर बालबच्चा पढाइरहेकी छु । सबै सुविधा छ भनेर सहर पसियो यहाँ त कहर मात्र खेप्नुपर्दो रहेछ ।’
सरकारले खानेपानी समस्या समाधान गर्न नसकेको माझगाउँ टोल विकास समितिका अध्यक्ष तिलाचन्द्र अधिकारीको भनाइ छ । ‘प्रदेश राजधानीको नगरपालिका भन्ने मात्र छ । खानेपानी, विद्युत, सडकको समस्या दुर्गमभन्दा कम छैन,’ उनी भन्छन्, ‘सुक्खायाममा बालबच्चालाई पानी खुवाउन र वर्षामा आवतजावत गर्नसमेत समस्या छ ।’
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
- वडाध्यक्षको तरकारीखेती मोह
- सिरहा भन्सारमा प्लान्ट क्वारेन्टाइन नहुँदा राजस्व असुलीमा असर
- जिमी कार्टरको राजकीय अन्त्येष्टिमा अमेरिकी शोक
- आदालतद्वारा रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश, समर्थकबीच खुसीको माहोल
- उत्तरी सिरियामा टर्कीए र कुर्दिश सेनाबीच झडप, ३७ जनाको मृत्यु
- खोटाङकाे बुइपामा कोक, जुस, वियरलगायत आयातित पेयपदार्थमा प्रतिबन्ध
- अमेरिकाको लस एन्जेलसमा भीषण आगलागी, अहिलेसम्म पाँच जनाको मृत्यु
- सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी
- भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयम अपनाउन आग्रह