सूचना माग गरेकै कारण सूचनाको हकका अभियन्ताहरू विगत दश दिनदेखि प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका छन् ।
गोकर्णेश्वर नगरपालिका लगायत विभिन्न सार्वजनिक संस्थामा सूचना मागेकै कारण प्रहरीले झुटो मुद्दा लगाएर हिरासतमा राखेको भन्दै अहिले सर्वत्र आलोचना सुरु भएको छ ।
गत असार ३ गते प्रहरी वृत्त बौद्धले गोकर्णेश्वर नगरपालिका बस्ने वर्ष ३१ को राजु सुनार, वर्ष २६ को आदर्श क्षेत्री, वर्ष २० की अस्मिता खत्री र वर्ष ४५ को प्रेम प्रसाद श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राखेको थियो ।
सूचना माग कार्यमा संलग्न थप दुई जना किरण केसी र बलराम चालिसेलाई भने असार ११ गते प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । पक्राउ परेका उनीहरू सबै जनालाई ठगी तथा सङ्गठित अपराध गरेको कसुरमा बौद्ध प्रहरीले मुद्दा दर्ता गरी थुनामा राखेको हो । कुनै तथ्य र प्रमाण बिना ठगी तथा सङ्गठित अपराध गरेको भन्दै मुद्दा चलाउनु भनेको सूचना मागकर्तालाई निरुत्साहित गर्न प्रहरीले कानुनको दुरुपयोग गरेको सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका अध्यक्ष उमीद बागचन्दले बताउनुभयो ।
गोकर्णेश्वर नगरपालिका लगायत सार्वजनिक निकायमा हुने बेथितिको विरुद्ध सूचना माग गरी सुशासनका लागि खटिने अभियन्ताहरूलाई हतोत्साहित गर्न राजनीतिक पहुँचको आधारमा प्रहरीको दुरुपयोग गर्दै पक्राउ गरेको भन्दै विभिन्न नागरिक संस्थाले विरोध जनाएका छन् ।
सूचना माग्नेलाई हिरासतमा राख्ने कार्यले सूचनाको हकलाई कुण्ठित बनाउन खोजेको बताउँदै सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले नगरपालिका भित्र भइरहेको अनियमितता तथा भ्रष्ट्रचार विरूद्ध सूचना माग गर्ने र सार्वजनिक गर्ने अभियन्ताहरूलाई उल्टै मुद्दा चलाउनु खेदजनक रहेको बताएको छ ।
अभियन्ताहरूले प्रहरी वृत्त बौद्धसँग पनि बजेट र खर्चको बारेमा सूचना माग गरेका थिए । यही कारण पनि प्रहरीले प्रतिसोधको भावनाले मुद्दा चलाएको कुरामा कुनै सङ्कोच नभएको सूचनाका हकका अभियन्ताहरूको भनाई छ ।
प्रहरीले भने भ्रष्ट्राचार विरोधी अभियन्ता भन्दै गोकर्णेश्वर नगरपालिका भित्र गैह्र कानुनी रूपमा “बेथिति एवं भ्रष्ट्राचार विरुद्धको अभियान २०८०” नामक संस्था खोली दुख दिने गरेको उजुरीको आधारमा पक्राउ गरिएको बताएको छ ।
प्रहरीका अनुसार- ‘निजहरूले स्थानीय निकाय, विद्यालय, सङ्घसंस्था, कम्पनी र कलकारखानामा गएर हामी भ्रष्ट्राचार विरोधी अभियन्ता हौ तिमीहरूको विरुद्धमा भ्रष्ट्राचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामी कहाँ परेको छ, त्यस विषयमा छानबिन गर्न आएका हौ, हामीलाई सबै हिसाबकिताब देखाऊ भन्दै धम्काउने, मुद्दा हालिदिन्छु भनी आतङ्क सृजना गरी भिडियो बनाई अनधिकृत तवरले रकमसमेत असुली गरी ठगी गर्ने गरेको बताएको हो ‘।
उनीहरूले भिडियो बनाई सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गर्ने जस्ता कार्यहरू गर्ने गरेको भनी प्रहरी वृत्त बौद्धमा परेको जाहेरीको आधारमा पक्राउ गरी मुद्दा चलाएको बौद्ध प्रहरीले बताएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- घुम्टोमा घण्टाघर: मर्मतसम्भार शीघ्र पूरा गर्न वीरगञ्जवासीको माग
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
