धुलिखेल, २० चैत्र।आगामी दुई वर्षको लागि संस्थाको नेशनल बोर्ड र पुनरावेदन समितिमा नयाँ नेतृत्व चयन गर्दै एमनेस्टी इन्टरनेशनल नेपालको तीसौँ वार्षिक साधारण सभा चैत्र १८ र १९ गते सम्पन्न भएको छ।
साधारण सभामा सम्पन्न निर्वाचनले २६वर्षीय विपिन बुढाथोकीको नेतृत्वमा एघार सदस्यीय एमनेस्टी नेपालको नेसनल बोर्ड गठन गरेको छ।बोर्डको अध्यक्षमा बुढाथोकी, कोषाध्यक्षमा रोशन बजगाईँ र सदस्यहरूमा सचिता कुँइकेल, विमला वाग्ले, मन्जु विश्वकर्मा, केशव पोखरेल, निखिल पोख्रेल, होम बहादुर अधिकारी, देवेन्द्र सेजुवाल, गरिमा पाण्डे तथा बरूण कुँइकेल निर्वाचित भएका छन्।
त्यस्तै साधारण सभाले संस्थाको पुनरावेदन समिति संयोजकमा जीवन प्रसाद फूँयाल र सदस्यहरूमा लक्ष्मी रेग्मी तथा लोकेन्द्र सिंहलाई चयन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले साधारण सभाको उद्घाटन गर्दै नेपालमा बलात्कारका घटनाहरू व्याप्त रहेको अवस्थामा पीडितहरूलाई न्याय सुनिश्चित गर्न सरकार जवाफदेही हुन नसकेको चिन्ता व्यक्त गर्नु भएको थियो।
द्वन्द्वपीडित साझा चौतारीका संस्थापक सुमन अधिकारीले द्वन्द्वपीडितहरूको सत्य, न्याय र परिपूरणको सङ्घर्षमा एमनेस्टीका सदस्यहरूलाई अझ बढी सक्रियताका साथ सरकारसँग जवाफदेहीता माग गर्न तथा दण्डहीनताको अवस्था अन्त्य गर्नका लागि पहल गर्न अनुरोध गर्नु भएको थियो।
साधारण सभामा अन्तर्राष्ट्रिय बोर्डका अध्यक्ष अन्जुला सिंहले एमनेस्टी नेपालको साधारण सभाको सफलताको कामना गर्दै नेपालमा मानवअधिकार तथा एमनेस्टी अभियानलाई थप सशक्त बनाउनका लागि अन्तर्राष्ट्रिय बोर्ड तथा सचिवालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
‘प्रजातान्त्रिक प्रक्रियाबाट एमनेस्टी नेपालको नयाँ नेतृत्व चयन गरिएको छ’, एमनेस्टी नेपालका निर्देशक निराजन थपलियाले बताउनु भयो, ‘युवा, महिला र सीमान्तकृत समुदायको प्रतिनिधित्व रहेको नयाँ नेतृत्व समावेशी रहेको छ।’
‘एमनेस्टी नेपालको संस्थागत सुधारका प्रक्रियालाई निरन्तरता दिनुका साथै नयाँ रणनीतिक लक्ष्य निर्धारण गरी स्पष्ट, सबल र प्रभावकारी मानवअधिकार दिशातर्फ संस्थालाई डोर्याउने नयाँ नेसनल बोर्डको कार्यादेश रहेको छ’, नव निर्वाचित अध्यक्ष विपिन बुढाथोकीले भन्नुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
