बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा.मोहम्मद युनुस नियुक्त भएका छन्
नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद शहाबुद्दीनले अन्तरिम सरकार प्रमुख नियुक्तिको घोषणा गरेका हुन् । मङ्गलबार राति राष्ट्रपति र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।
यसअघि मंगलबार राष्ट्रपतिले बंगलादेशको संसद् भंग गरेर अन्तरिम सरकार गठनको बाटो बनाएका थिए ।
८४ वर्षीय युनुसले बंगलादेशमा ग्रामिण बैंकको स्थापना गरेर गरिबी विरोधी अभियान सञ्चालन गरेका कारण सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए ।
बाहिर आएको जानकारीको अनुसार राष्ट्रपतिले मुलुक अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका छन् । रास्ट्रपति मोहम्मद शाहबुद्दीनले यो संकटलाई पार गर्न जति सक्दो चाँडो अन्तरिम सरकार गठन गर्नु जरुरी रहेको बताएका छन् ।
यस बैठकमा सेना प्रमुख जनरल वकार-उज-जमान, वायुसेना प्रमुख एयर चीफ मार्शल हसन महमुद खान, नौसेना प्रमुख एडमिरल मोहम्मद नजमुल हसन, ढाका विश्वविद्यालय कानून विभागका प्रोफेसर आसिफ नजरुल, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्राध्यापक तनजिम उद्दीन खान र विद्यार्थी आन्दोलनका १३ संयोजकहरूको सहभागि थिए ।
प्रधानमन्त्री शेख हसिना र उनको अवामी लिग सरकार विरुद्ध जनविद्रोह पछि हसिनाले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिए संगै देश अनिश्चितताको सामना गरिरहेको छ ।
सरकारी जागिरमा भएको कोटा प्रणालीमा सुधार गर्नुपर्ने विद्यार्थीको मागलाई लिएर करिब तीन हप्तासम्म चलेको हिंसापछि प्रधानमन्त्री हसिनाको राजीनामा आएको हो । सन् २०२४ जुलाई १६ देखि हिजो मंगलबार को बीचमा ४०० भन्दा बढी मानिसहरू हिंसात्मक झडपहरूमा मारिएका छन् ।
सरकारले गत जुलाईमा सरकारी घोषणा मार्फत विद्यार्थीको मागअनुसार कोटा व्यवस्था परिमार्जन गरे पनि त्यसबेला सम्म भएको झडपमा करिब दुई सय जनाको मृत्यु भइसकेको थियो ।
प्रधानमन्त्री हसिनाको सरकारलाई आन्दोलनमा भएको मृत्युहरुको लागि जिम्मेवार ठहराउदै प्रदर्शनकारीहरूले अगस्ट ३ देखि शेख हसिना र उनको मन्त्रिपरिषद्को राजीनामा माग गर्दै आएका थिए । यसको तीन दिन पछि नै सरकार ढलेको थियो ।
हसिना सन् २००९ मा प्रधानमन्त्री भएदेखि लगातार चौथो कार्यकाल र समग्रमा पाँचौं कार्यकालमा प्रधानमन्त्रीको रुपमा कार्य गर्दै आएकी थिइन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
