सबस्टेशन प्रसारणलाइन विस्तारमा अवरोध, अँध्यारोमा स्थानीय

प्रसारणलाइन विस्तारमा अवरोध हुँदा सर्लाहीको हरिपुर्वालगायत क्षेत्रका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् ।

 हरिपुर्वा नगरपालिका–२ स्थित सबस्टेशनसम्म ३३ केभिए प्रसारण लाइन जोड्न स्थानीयले अवरोध गरेपछि निर्माण सम्पन्न भइसकेको सबस्टेशन अलपत्र छ । निर्माण भएको लामो समयसम्म पनि सञ्चालन नहुँदा बत्ती बाल्न समस्या भएको हरिपुर्वा नगरपालिका–६ का विजयप्रसाद साहले गुनासो गरे ।

प्राधिकरणले सबस्टेशनसम्म ३३ केभिए लाइन जोड्न विभिन्न रूट भएर पोल गाड्ने र तार तान्ने काम अधुरो रहेकाले समस्या भएको स्थानीय वडा नं ९ वसन्तपुर निवासी अवधेश साहको भनाइ छ ।

स्थानीयले प्राधिकरणले पोलका गाड्न गलत रूट प्रयोग गरेका कारण अवरोध भएको बताएका छन् । गाउँलाई क्षति नपुग्ने गरी विद्युत्को तार विस्तार गर्न स्थानीयको माग छ । सोही माग राखेर स्थानीयले पोल गाड्न नदिँदा यहाँ समस्या भएको हो ।

हरिपुर्वा सबस्टेशनका प्रमुख जगदीश यादवले स्थानीयको मागलाई मध्यनजर गरी प्रसारण केन्द्रसम्म विद्युत् लैजान विभिन्न चार रूट प्रयोग गर्दा पनि स्थानीयले अवरोध गरेका बताए ।

हरिपुर्वा, ईश्वरपुर नगरपालिका तथा पर्सा र ब्रह्मपुरी गाउँपालिकामा सेवा पुर्याउने उद्देश्यसहित दुई वर्षअघि नै सबस्टेशन निर्माण भएको थियो तर हालसम्म सञ्चालन हुनसकेको छैन । प्रयोग नहुँदा सबस्टेशनमा प्रयोग भएका उपकरण तथा निर्माण भएको भौतिक संरचना जीर्ण हुँदै गएको छ । यसरी निर्माण सम्पन्न संरचना अलपत्र पर्दा दोहोरो घाटा भएको छ ।

एकातिर लगानी खेर गइरहेको छभने अर्कातर्फ स्थानीयले गुणस्तरहीन सेवा प्रयोग गरिरहनुपरेको छ । पछिल्लो समय राजनीतिक खिचातानीको सिकार भएका कारण सबस्टेशन सञ्चालन चुनौतीपूर्ण बनेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहको भनाइ छ । सबस्टेशन सञ्चालन गरी गुणस्तरीय विद्युत् सेवा प्रवाहका लागि पहल गरिरहेको उनले बताए ।

हरिपुर्वा नगरपालिका–१ र ५ का स्थानीयले ३३ केभिए प्रसारण लाइनका लागि एक किलोमिटर विद्युत् पोल गाड्न अवरोध गरेपछि सबस्टेशन अलपत्र बनेको नेपाल विद्युत् प्रधिकरण वितरण केन्द्र मलङ्गवाका प्रमुख उमेशकुमार यादवले बताए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link