कालीगण्डकी नदीसहित बागलुङमा काठेखोला, निसीखोला, तमानखोला, बडिगाड, भूजीखोला, दरमखोलालगायत दर्जन बढी खोलाहरू छन् । तीमध्ये अधिकांश खोला किनार अतिक्रमण भएको जनगुनासो छ । खोला किनार साँघुरो बन्दै गएपछि मसानघाट नै पुरिएका छन् । वर्षौँ अगाडिदेखि मसानघाटका रूपमा प्रयोग हुँदै आएका खोला किनारमा हिजोआज कतै खेत बनेका छन् त कतै घर तथा भवन बनेका छन् ।
डेढ दशक अगाडिसम्म सुनसान रहेको गलकोट नगरपालिकास्थित दरमखोला र गौदीखोला किनारमा पनि ठूलो बस्ती बसेको छ । गलकोटको हटिया बजार पनि खोला किनारमै बनेको छ । गौदीखोला किनारमा हटिया, नरेठाँटीसहितका बस्ती छन् । पहिले गौदीखोला र दरमखोला किनारका थुप्रै स्थानमा रहेका दाहसंस्कार गरिने ठाउँ अचेल अतिक्रमणमा परेका गलकोट नगरपालिका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुहुन्छ । उहाँकानुसार कतिपय दाहसंस्कार गर्ने ठाउँ सडकले त कतिपय व्यक्तिगत संरचनाले गर्दा मासिएको हुन् ।
निसीखोला गाउँपालिका पूर्णबहादुर क्षेत्रीले मसानघाट रहेका स्थानमा व्यक्तिगत तथा अन्य संरचना निर्माण गरिँदा समस्या भएको गुनासो गर्नुभयो । “निसीखोलामा पर्ने जैमुरे घाट, तिल्जा, पञ्चासे, नौँमुरेलगायत दर्जन बढी घाट अहिले पुरिएर खेत बनेका छन् । कतिपय ठाउँमा सडक, सार्वजनिक तथा व्यक्तिगत संरचना बनेका छन् । मान्छेले आफ्नो अन्तिम गन्तव्यस्थानसमेत बाँकी नछोड्न जस्तो लाजमर्दो कुरा अरू के होला !”, उहाँको कथन छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले मसानघाटसहित सार्वजनिक जग्गा अतिक्रण भएको मौखिक गुनासो सुनिए पनि उजुरी नआउँदा कारबाही प्रक्रिया अगाडि बढाउन नसकिएको बताउनुभयो । उहाँले जिल्लाका १० वटै पालिकामा अक्रिमण भएका जग्गाको विवरण उपलब्ध गराउन पत्राचार गरे पनि उपलब्ध हुन नसकेको जानकारी दिनुभयो ।
“धेरै ठाउँका नदी किनारमा सार्वजनिक जग्गा अतिक्रमण भएको देखिन्छ तर कसैले पनि लिखित रूपमा उजुरी गरेको अवस्था छैन । त्यसैले कारबाही प्रक्रिया अगाडि बढाउन सकेका छैनौँ”, सहायक प्रजिअ बरालले भन्नुभयो, “उजुरी आउनेवित्तिकै नाप जाँच गरी सार्वजनिक जग्गा फिर्ता लिने काम अगाडि बढाउछौँ ।”
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
