वीरगन्ज महानगरपालिकामा भइरहेको भ्रष्ट्राचारको पोल खुल्दै गएपछि मेयर राजेशमान सिंहले स्थानीय सञ्चार माध्यम माथि मुद्दा दर्ता गरेका छन् ।
आफूलाई दबङ्ग मेयरको रूपमा प्रस्तुत गर्दै आएका मेयरको विरोधमा समाचार प्रकाशन गर्ने वीरगन्ज सिटी अनलाइनका प्रकाशक र सम्पादक माथि मेयर सिंहले जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गराका हुन् । वैभव वीरगन्ज नाराले वीरगन्ज महानगरपालिकामा भइरहेको चरम भ्रष्ट्राचारको खुलासा गर्दै आएपछि आफूलाई बचाउन मेयर राजेशमान सिंह अदालतको सरणमा पुगेका बताइन्छ ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पर्सा जिल्ला अदालतमा सोमबार पत्रकार विरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् । वीरगन्ज सिटी डट कमका प्रकाशक जियालाल साह र सम्पादक प्रताप श्रेष्ठ विरुद्ध मुद्दा दायर गरिएको छ ।
मुद्दा दर्ता गरिएको बारे प्रतिक्रिया दिँदै पत्रकार जियालाल साहले भने, ‘चरम भ्रष्ट्राचारमा डुबेको वीरगन्ज महानगरपालिकाको अनियमितताबारे विभिन्न सञ्चार माध्यमहरूमा क्रमशः समाचार आएपछि हतोत्साहित गर्ने प्रयास मात्र हो ।’
वैभव वीरगन्जको नाममा मेयर राजेशमान सिंहले किर्ते नागरिकता दिलाएको देखि लिएर ट्रयाक्टर खरिद घोटाला, माईस्थान मन्दिर सौन्दर्यीकरण, विद्यालयमा पङ्खा वितरण लगायत विभिन्न भ्रष्ट्राचारको काण्ड उजागर हुँदै आएको छ ।
पत्रकार जियालाल साहले केही दिन देखि लगातार वीरगन्ज महानगरको विकाश बजेट माथि मच्चाइएको ब्रम्हलुट, अरूको छोरीलाई आफू नक्कली बुवा बनेर जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको बारे प्रमाणसहित समाचार जनसमक्ष ल्याउँदै आएका छन् ।
वीरगन्ज सिटी डटकम र स्थानीय प्रतीक दैनिकका सम्पादक प्रताप श्रेष्ठलाई आइतबार नै शीतल निवासमा आयोजित विशेष समारोहमा सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले नगद रु १२ हजार र सम्मान पत्र दिएर सम्मानित गर्नु भएको थियो ।
स्थानीय केही अग्रज पत्रकारहरूलाई देखाउँदै वैभव वीरगन्जको बहानामा महानगरपालिकामा मच्चाइएको एक सूत्रीय कमाऊ अभियानलाई उजार गरिएको कारण मेयर सिंहले तगारो बन्नु गलत कुरा भएको पूर्व मेयर विजय सरावगीको भनाइ छ । पुर्व मेयर सरावगीले भन्नुभयो, ‘मेयर सिंहको काला कर्तुत उजागर गरेकै कारण दुवै पत्रकारहरू कोप भाजनको सिकार हुनु हुँदैन, महानगरपालिकामा भइरहेको अनियमितता, भ्रष्ट्राचार पनि छानबिन सम्मानित अदालतबाट हुनु पर्दछ ।
वीरगन्ज सिटीले उजागर गरेको समाचार के हो ?
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका आफन्तको फर्मले झन्डा फेरेरसमेत अनियमितता गरेका छन् । विभिन्न अनियमितताको प्रकरणहरू बाहिरिँदै गर्दा देशको सर्वोच्च पहिचान बनाएको विश्वमै विशिष्ट र अनुपम देशको झन्डामा समेत वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका आफन्तले अनियमितता गर्न छोडेका छैनन् । नेपाल भारतको प्रवेशद्वारमा लगाइने नेपालको झन्डामा समेत उनका परिवारका सदस्यको फर्मले अनियमितता गरेको हो ।
नेपाल प्रवेश गर्नासाथ शङ्कराचार्यद्वारमा लगाइएको १६ फिटको झन्डा फेर्न एक पटकको खरिदमा ९३ हजारसम्म भ्रष्टाचार गरेको पाइएको छ । बजारको मूल्य भाउ अनुसार खुद्रा मै ३५ सय देखी ४ हजारसम्म आउने झन्डाको एकै पटक ३५ हजारसम्मको बिल बनाएर दुई वटा खरिद आदेश दिएर ३१ हजारका दरले तीन वटाको झन्डामा खरिद मूल्य बाहेक ९३ हजार रुपैयाँ एक पटकमा भ्रष्टाचार गरेको पाइएको हो । यस्तो एक वर्षमा ९/९ पटक गरी कम्तीमा २७ वटा झन्डा फेर्दा ८ लाख ३७ हजार रुपैयाँ सम्म भ्रष्टाचार गरेका छन् ।
मेयर सिंहका आफन्तहरूको विभिन्न फर्म रहेकोमा हामीलाई प्राप्त भएको प्रमाणमा मेयर सिंहका बहिनी ज्वाइँ पर्ने राजेश थापाले शोभा थापा सञ्चालक रहेको एस एन्ड जी सप्लायर्सबाट गत वर्ष देखी झन्डा फेर्दै आएका छन् । एस एन्ड जी सप्लायर्सले २०८० भदौ १८ गते एकै दिन एकै मिति र समयमा दुई दुईवटा खरिद आदेश पाएका छन् । नियमले एक लाख भन्दा बढीको समान खरिद गर्दा तीन तीनवटा फर्मको कोटेसन भिडाउनु पर्नेमा मेयर सिंहका बहिनी ज्वाइँका लागी एकै दिन एकै समयमा एक लाख ५ हजारको झन्डा खरिदका लागी एउटा खरिद आदेशमा २ वटा झन्डाका लागि ७० हजार र अर्को एउटा झन्डाका लागी ३५ हजारको खरिद आदेश दिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त
- स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
- अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति
- इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
- चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न
- दाईजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै
- सङ्ख्यामा अमेरिकी चुनाव
- कार्तिक शुक्ल द्वितीया : आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत
- चालिस हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए
- अमित शाहले अनुमति दिएको क्यानडाको दावी, भारत भन्छ आधारहीन