उद्घाटन भएको सात महिना नबित्दै पर्यटकीय राजधानी पोखराको महेन्द्रपुलमा रहेको ‘अन्तर्राष्ट्रिय झण्डा उद्यान’मा नयाँ झण्डा फेरिएको छ । संविधान दिवसका अवसरमा गत साता उद्यानमा रहेका एक सय ९३ देशका पुराना झण्डा हटाएर नयाँ राखिएको हो । गत फागनु सात गते प्रजातन्त्र दिवसको अवसर पारेर उक्त झण्डा उद्यानमा राखिएको थियो ।
लायन्स कल्ब इन्टरनेशनलको करिब रु. ७० लाख आर्थिक सहयोगमा पोखरा महानगरपालिका–९ महेन्द्रपुलमा उक्त अन्तर्राष्ट्रिय झण्डा उद्यान निर्माण गरेको थियो । घामपानीको असरले छोटो अवधिमै झण्डाको रङ्ग खुइलिएपछि नयाँ झण्डा फेर्नु परेको पोखरा महानगरपालिकाले जनाएको छ । महानगरले पोखरामा नयाँ पर्यटकीय गन्तव्य बन्ने आशामा उक्त उद्यान बनाएको थियो ।
विश्व शान्ति, भाइचारा र एकताको सन्देश दिन अन्तर्राष्ट्रिय झण्डा उद्यानले सघाउ पुर्याउने विश्वास महानगरका पदाधिकारीको छ । तर बर्सेनि राज्य स्रोतको रकम खर्चेर र दातासँग मागेर कहिलेसम्म उद्यानका झण्डा फेरिरहने भन्ने प्रश्न उब्जेको छ । झण्डा उद्यान निर्माणका क्रममा पनि स्थान छनोट उचित नभएको भन्दै सार्वजनिक वृत्तबाट टिप्पणी भएको थियो । पोखरा सार्वजनिक पुस्तकालय रहेको भवन भत्काएर उक्त स्थानमा झण्डा उद्यान बनाएकामा कतिपयले महानगरको आलोचनासमेत गरेका थिए ।
सो ठाउँमा पुस्तकालय नै राख्नुपर्ने या परम्परागत चौतारीसहितको हरियाली उद्यान बनाउनुपर्ने माग स्थानीयवासीको थियो । स्थानीयबासीको गुनासो सुनुवाइ नगरी महानगरले लायन्स इन्टरनेशनलसँग मिलेर अन्तर्राष्ट्रिय झण्डा उद्यान बनाएको थियो । उद्यानमा संयुक्त राष्ट्रसङ्घमा आबद्ध एक सय ९३ सहित पोखरा महानगर र लायन्सका गरी एक सय ९७ झण्डा फहराइएको छ । एकै ठाउँमा विश्वभरका झण्डा लहरै फहराउँदा पर्यटकीय आकर्षण बढ्ने महानगरको दाबी रहेपनि कतिपयले भने झण्डा उद्यान मौलिक र पर्यावरणमैत्री नरहेको बताउने गरेका छन् ।
मुख्य सहरी क्षेत्रमा बनेको उक्त रङ्गीचङ्गी झण्डाको उद्यानले सवारीसाधन चलाउनेदेखि ट्राफिक व्यवस्थापनमा खटिने प्रहरीलाईसमेत असहज हुने गरेको बताइन्छ । सवारीसाधन चालकको ध्यान मोडिने गरी सडकको दायाँबायाँ त्यस्ता सामग्री राख्न र संरचना बनाउन नहुने ट्राफिक प्रहरीको भनाइ छ ।
पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले झण्डा उद्यानको दिगोपनाको योजना बनाउनुपर्ने बताउनुभयो । “पोखरा घुम्न आउने पर्यटकका लागि नयाँ आकर्षणका रुपमा झण्डा उद्यानलाई विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “पर्यटक भुलाउन अन्य आकर्षण र सुुविधा पनि त्यहाँ थप्नुपर्छ ।”
पोखरा महानगरपालिकाको सिको गर्दै बागलुङ नगरपालिकाले पनि गत वैशाखमा सदरमुकाममा रहेको वीरेन्द्र–ऐश्वर्य उद्यानमा विश्वरभरका झण्डा फहराएको छ । उद्यानमा रहेका रुख काटेर झण्डा राखिएपछि त्योबेला जनस्तरबाट आलोचना भएको थियो । बागलुङको उद्यानमा रहेका झण्डा पनि घामपानीले खुइलिन थालेका छन् । नगरपालिकाले रु १२ लाख खर्चेर ती झण्डा उद्यानमा फहराएको थियो । अन्तर्राष्ट्रिय झण्डाले उद्यानको सौन्दर्यीकरणका साथै जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने नगरपालिकाको दाबी छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ‘टार’ शब्द परेपछि…
- युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए
- कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीको भाका सारियो
- भारतबाट आउने तरकारीकै कारण नेपाली किसान पीडित
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ
- नेतन्याहू, ग्यालेन्ट र देइफविरुद्धको आइसिसीको पक्राउ पुर्जी ‘बाध्यकारी’: इयू
- बुढाहाङ सेवामा वढाङमी नाचको रन्को