सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विरुद्ध परेका रिटको पूर्ण सुनुवाइ गरी सो आदेश दिएको हो ।
२०८१ कात्तिक २७ मा टिकटक बन्द गर्ने निर्णय नेपाल सरकारबाटै टिकटक खुलाउने २०८१ भदौ ७ गतेको निर्णयबाट सच्चिइसकेकोले उत्प्रेषणको आदेश जारी गरिरहनुनपर्ने भएकोले नियमनका विषयमा भने आवश्यक कानुनी प्रबन्ध गर्नु भनी निर्देशनात्मक आदेश जारी भएको रिट निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले जानकारी दिए ।
लिखित फैसला आउन समय लाग्ने भएकोले न्यायाधीशद्धयले आफ्नो राय किताबमा आदेशको ब्यहोरा उल्लेख गरेको र सो सर्वोच्च अदालतको वेभ साइटमा समेत अपलोड भएको अधिवक्ता लुइँटेलले जानकारी दिए ।
टिकटक बन्द गर्ने निर्णयलाई चुनौती दिँदै अधिवक्ता त्रय अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाको पहिलो निवेदन सहित चौध वटा रिट निवेदन दायर भएका थिए ।
टिकटक बन्द गर्ने निर्णयले संविधानको धारा १७९२९क० ले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको उल्लङ्घन भएको दाबी गरिएको थियो ।
संविधानको धारा १७(१)(क) मा विचार र अभिव्यक्ति स्वतन्त्रता र धारा १९(१) मा विद्युतीय प्रकाशन, प्रसारण तथा छापा लगायतका जुनसुकै माध्यमबाट कुनै समाचार, सम्पादकीय, लेख, रचना वा अन्य कुनै पाठ्य, श्रव्य, श्रव्यदृष्य सामाग्रीको प्रकाशन तथा प्रसारण गर्न वा सूचना प्रवाह गर्न वा छाप्न पूर्व प्रतिबन्ध नलगाइने सुनिश्चित गरिएकोले सरकारको निर्णय गैर कानुनी भएकोले बदर भागी भएको दाबी गरिएको थियो ।
संविधानमा जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुनिश्चित गरेको उल्लेख गर्दै सो भन्दा बाहिर गरिएका कार्य बदर गर्न समेत रिट निवेदनमा माग गरिएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा रक्षामन्त्री ग्यालन्टलाई बर्खास्त
- स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ–कहाँ हुँदैछ निर्वाचन ?
- अमेरिकाले बी–५२ बमवर्षक विमान तैनाथ गरेकोमा इरानको आपत्ति
- इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु
- चिलिमे–त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न
- दाईजो स्वरूप गाउँ नै दिने प्रथा अझै कायमै
- सङ्ख्यामा अमेरिकी चुनाव
- कार्तिक शुक्ल द्वितीया : आज भाइटीका, बिहान ११:३७ बजे उत्तम साइत
- चालिस हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए
- अमित शाहले अनुमति दिएको क्यानडाको दावी, भारत भन्छ आधारहीन