निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो ।
कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे । उहाँले भन्नुभयो “पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरु अहिले दूध, दही र मोहीमा आकर्षित भएका पाइयो ।” उहाँको अनुभवमा टीका थाप्न जाने सबैजसो घरमा दही, मोहीले नै स्वागत गरेका थिए ।
गीतानगरका उपेन्द्र पण्डितले यो वर्ष घरमा बुबाआमाको हातबाट टीका थाप्न आउने आधाभन्दा बढीलाई दही र मोहीले स्वागत गर्नुभयो । उहाँले भन्नुभयो,“बालबालिका बाहेक सबैलाई हामीले दही र मोहीले स्वागत ग¥यौँ । उहाँले भन्नुभयो “बजारबाट लगेको पेय खासै खपत भएन, धेरैले दही,मोही नै रुचाए ।”
विवाह भएको पहिलो वर्ष घर, मामाघर र ससुराल टीका थाप्न जानुभएका विद्यार्थी नेता सचेत सुवेदी पनि आफू दही र मोहीको सत्कारमा परेको बताउनुहुन्छ । कृषिमा स्नातकोत्तर गर्नुभएका उहाँले भन्नुभयो “धेरै मानिस स्वास्थ्यप्रतिको सचेत पाइयो । दूध, दही र मोही उनीहरूको प्राथमिकतामा रहेको पाइयो ।”
सरकारले आम नागरिकलाई दुग्धजन्य पदार्थको उपभोगको बारेमा जनचेतना जगाउनु पर्ने उहाँको सुझाव छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले पछिल्ला दिनमा दही र मोहीको माग बढ्दै गएको बताउनुहुन्छ । उहाँको भनाइमा पहिले पहिले बजारको पेय पदार्थले स्वागत गर्नेहरुले अहिले दही र मोहीले स्वागत गर्ने गरेका छन् ।
जिल्लाका तीन वटा दुग्ध उत्पादक सहकारीले मोही उत्पादन गर्दै आएका छन् । भरतपुरको अन्नपूर्ण, गङ्गानगर र गौरीगञ्ज दुग्ध उत्पादक सहकारी संस्थाले मोही उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका छन् ।
जिल्लामा एक सय १५ वटा दुग्ध उत्पादक सहकारी छन् । तीनले दैनिक तीन लाख ५० हजार लिटर दूध सङ्कलन गरी एक लाख ५० हजार लिटर अन्यत्र बेच्दै आएका छन् । बाँकी दूध जिल्लाका डेरीबाट बिक्री हुने गरेको छ ।
भरतपुर महानगरपालिका–२२ मा रहेको श्री गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटा आफूहरुले विगत ६ महिनादेखि मोही उत्पादन गर्दै आएको बताउनुहुन्छ । सुरुका दिनमा बिक्री हुँदैन कि भन्ने चिन्ता भएको भन्दै उहाँले पछिल्लो समय माग बढ्दै गएको बताउनुहुन्छ ।
विगतमा दैनिक पाँच सय लिटर उत्पादन गर्ने गरेको बताउँदै उहाँले माग बढी हुने समयमा दैनिक एक हजार लिटरसम्म उत्पादन गर्ने गरेको जानकारी दिनुभयो । वैवाहिक समारोह, धार्मिक कार्यक्रम, राजनीतिक कार्यक्रमहरुमा मोहीको माग अधिक हुने गरेको छ । उहाँले भन्नुभयो “विवाहलगायत समारोहका लागि मोहीको माग हुन गरेको छ ।” यस वर्षको दसैँमा अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बढी दही बिक्री भएको उहाँ बताउनुहुन्छ ।
फूलपातीदेखि दसमीसम्म दैनिक एक हजार लिटर दही बिक्री भएको उहाँले जानकारी दिनुभयो । दैनिक पाँच सय लिटर हाराहारी मोही बिक्री हुने गरेको अध्यक्ष सापकोटाले बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार
- फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल
- त्रिकोणात्मक टी–२० शृङ्खलाको ट्रफी सार्वजनिक
- च्याम्पिन्स लिगको अन्तिम १६ मा लिभरपुल, आर्सनल र एस्टन भिल्ला
- जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा
- भारतमा महाकुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
- डिपसिकको ‘स्पुतनिक क्षण’ले अमेरिकी चिप प्रतिबन्धमा रहेका कमजोरी उजागर
- महाकुम्भ मेलामा भागदौड मच्चिँदा १५ जनाको मृत्यु
- ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा
- सहिद दिवस मनाइँदै