बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् ।
कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताउनुभयो । उहाँका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी रु एक हजार २५० का दरले अलैँची बिक्री भएको छ ।
उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक वर्ष किसानको आकर्षण बढिरहेको छ । अलैँचीखेतीको विस्तारले यसलाई पुष्टि गरेको छ । यहाँ आर्थिक वर्ष ०७८/७९ मा एक सय २८ हेक्टर जमिनमा अलैँचीखेती गरिन्थ्यो । जसमा ४२ मेट्रिक टन उत्पादन भएको थियो । प्रतिकेजी रु नौ सय ५० का दरले बेच्दा कृषकले रु तीन करोड ९९ लाखको कारोबार गरेका थिए । आर्थिक वर्ष ०७९/८० मा १३१ हेक्टर जमिनमा खेती विस्तार भयो तर उत्पादन भने घट्यो । त्यस वर्ष ३८ मेट्रिक टन उत्पादन भएको थियो । अलैँचीको फेद कुहिने, पात–डाँठ सुक्ने रोगको सङ्क्रमण भएपछि उत्पादन घटेको कृषक सापकोटाले बताउनुभयो ।
चालु आर्थिक वर्षमा पनि कृषकले कात्तिक महिनामै अलैँची बेचिसकेका पनि कतिको कारोबार भयो भनेर यकिन तथ्याङ्क सङ्कलनको काम भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । बाली संरक्षण अधिकृत तथा ज्ञान केन्द्रका सूचना अधिकारी सन्तोष अधिकारीले हाल जिल्लाको एक सय ४० हेक्टर जमिनमा अलैँचीखेती विस्तार भएको र जसमध्ये ९६ हेक्टरमा लगाएको अलैँचीले उत्पादन दिन थालेको जानकारी दिनुभयो ।
बागलुङका १० स्थानीय तहमध्ये आठ स्थानीय तहलाई समेटेर ‘अलैँचीजोन’ निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा जोन स्थापनाको कार्यक्रम स्वीकृत भएर कार्यान्वयन प्रारम्भ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बागलुङका निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले बताउनुभयो । १२ अलैँची पकेट क्षेत्र र दुईवटा अलैँची ब्लकलाई समेटेर जोन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।
यहाँको ताराखोला काठेखोला, बडिगाड गाउँपालिका, बरेङ र निसीखोला गाउँपालिका तथा बागलुङ, जैमिनी र गलकोट नगरपालिकाका विभिन्न स्थानमा अलैँची उत्पादन हुँदै आएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।
अलैँचीखेतीको राम्रो व्यवस्थापन गर्न सके एकपटक रोपेपछि १० वर्षसम्म पनि उत्पादन दिने गरेको छ । कृषकले उत्पादन गरेको अलैँची गुणस्तर विभाजन गरेर फरक फरक मूल्यमा बिक्री गर्ने गरिएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- खोटाङको ‘तुवाचुङ मिनी ग्रेटवाल’ जहाँ भरिन थाले पर्यटक
- कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण
- खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
- जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा …
- अमेरिकाः मस्कको टोलीलाई अर्थमन्त्रालयको तथ्याङ्क नदिन न्यायाधीशको निर्देशन
- २७ वर्षपछि दिल्लीमा भाजपाको सत्ता, आपको हार, काङ्ग्रेसको प्रतिनिधित्व शून्य
- हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
- केजरीवालले हारे चुनाव, भाजपाका प्रवेश वर्माको जित
- सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
- कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू
