इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो ।
दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताउनुभयो । उहाँले विशेषगरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिनुभयो ।
“हाम्रो उद्योगमा गाउँमा नै पाइने पाती, धूपी, मेन्था, धसिङ्गरेलगायत स्थानीय जडिबुटीबाट तेल निकालिन्छ । त्यसमध्ये हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल विदेश निर्यात हुन थालेको हो”, दहालले भन्नुभयो,“निकट दिनमा जेरेनियम, जङ्गली सयपत्री, रोजमेरीलगायतबाट पनि तेल उत्पादन गर्ने तयारी भइरहेको छ । विदेशीले नेपाली प्राकृतिक वस्तु मन पराउने गरेका छन् । त्यसैले मागअनुसार उत्पादन गरिरहेका छौँ ।”
उहाँले आफू ओसोको अनुयायी भएकाले यहाँ ध्यान गर्न आएका विदेशीहरूले नै उत्पादित वस्तु खरिद गरेर लैजाने गरेको सुनाउनुभयो । “सुरुसुरुमा विदेशीले पनि सामान्य रूपमा लिने गरेका थिए । पछि तेलको महत्वबारे जानकारी गराएपछि उहाँहरूले मन पराउनुभयो । उत्पादन गरेका सबै वस्तु बिक्री हुन थालेपछि हौसला बढेको छ”, दहालले भन्नुभयो ।
धूपीको तेल प्रतिकिलोग्राम रु दुई हजार ५००, तीतेपातीको तेल प्रतिकिलो रु छ हजार, मेन्थाको तेल प्रतिकिलो रु सात हजार र धसिंगरेको तेल प्रतिकिलो रु सात हजारमा बिक्री हुने गरेको छ । दहालले ३५ रोपनी जमिनमा यस्ता विभिन्न वनस्पतिको खेती गर्दै आउनुभएको छ । उहाँले स्थानीय किसानबाट समेत कच्चापदार्थ खरिद गरी गरिरहनुभएको छ । “गाउँका किसानले उत्पादन गरेको वस्तु घरमा नै गएर खरिद गरिरहेका छौँ । धूपी प्रतिकिलो रु आठ र तीतेपाती प्रतिकिलो रु चारले घरमै गएर खरिद गर्दा किसान पनि लाभान्वित भएका छन्”, दहालको भनाइ छ ।
गाउँका खाली जमिनको सदुपयोग गरेर स्थानीयस्तरमा नै व्यावसायिक उत्पादन गरिएको स्थानीय केशव दहालले बताउनुभयो ।
यहाँबाट उत्पादित तेल रुघाखोखी, घाँटी दुखेको बेला प्रयोग गर्ने, चोट लागेको ठाउँमा मालिस गर्न र हाडजोर्नीको समस्या भएका, ढाड दुखेका बिरामीहरूले यसको बढी प्रयोग गर्ने गरेको दहालको भनाइ छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- काठमाडौंको पानी पूर्ण बन्द, माग पूरा नभएको भन्दै मुहान थुनियो
- वीरगञ्ज नाकाबाट निर्यात वृद्धि
- परम्परा र प्रविधिको मेल: भोजपुरे खुकुरीले पर्यटनलाई उकास्दै
- आजको विदेशी मुद्राको विनिमय दर
- फिलिपिन्समा सय भन्दा बढी मरेको कल्माएगी तुफान भियतनाम आइपुग्यो
- पूर्वसिपाहीको कृषि उद्यम : ड्रागन फ्रुट फार्मबाट रोजगारी र धनसम्पत्ति
- पूर्वाधारले फेरियो तिनचुलेको मुहार : पर्यटकको चहलपहल बढ्यो
- मम्दानीको ऐतिहासिक जित तर वास्तविक चुनौतीहरू अझै बाँकी
- ७३ वर्षीय जोशिलो मौरीपालक: सुन्तलाबाट महतर्फको रोमाञ्चक यात्रा
- काठमाडौं:अस्पतालदेखि विमानस्थलसम्म नि:शुल्क वाइफाइ