इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ ।
इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ । सोही कृषि एम्बुलेन्सका कारण किसानलाई उत्पादित कृषि सामग्री बजारसम्म लैजान सहज भएको चेपाङले बताउनुभयो । उहाँका अनुसार थोरै मात्रामा सागसब्जी लिन गाडी आउन नमान्ने हुँदा त्यत्तिकै खेर जाने गरेकामा अहिले भने दुई मुठा सागले पनि बजार पाउने गरेको छ ।
कृषि एम्बुलेन्सले टोलटोलमा पुगेर थोरैथोरै उत्पादन पनि बजारसम्म लैजाने र भाडादर पनि अन्य गाडीको भन्दा सस्तो भएको उहाँको बताउनुहुन्छ । कृषि एम्बुलेन्स सञ्चालनमा आएपछि यहाँका किसानलाई राहत मिलेको कृषि एम्बुलेन्स चालक स्थानीय दीपक प्रजाले बताउनुभयो । उहाँले किसानको घरटोलमा नै पुगेर सागसब्जी सङ्कलन गरी बजारसम्म लैजाने गरेको बताउनुभयो ।
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले गत दुई आर्थिक वर्षमा ७५ प्रतिशत अनुदानमा कृषि समूहको साझेदारीमा तीनवटा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँघरमा उत्पादन भएका ताजा सागसब्जी बजारसम्म पुर्याउने काम कृषि एम्बुलेन्सले गरेको छ । वडा नम्बर १ को हात्तीवाङ, २ को हपनी र वडा नम्बर ७ को दाहाखानी क्षेत्रबाट ती कृषि एम्बुलेन्स सञ्चालन भइरहेको छ । वडा नम्बर १ र २ बाट चल्ने कृषि एम्बुलेन्स फिस्लिङ केन्द्रित छन्भने ७ नम्बरबाट चल्ने कृषि एम्बुलेन्स भरतपुर र मुग्लिन बजार केन्द्रित छ । कृषिजन्य उत्पादन बजार पुर्याउन मात्र नभई यहाँका स्थानीयले सस्तो भाडादरमा आवातजावत गर्न पाएका छन् ।
कृषि एम्बुलेन्स सञ्चालनसँगै इच्छाकामना गाउँपालिकाले उत्पादन वृद्धि गर्न किसानलक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । किसानलाई आवश्यक बीउबिजन, मल अनुदानका साथै तालिम दिने गरिएको छ । गाउँपालिकाले बाँझो जमिनमा व्यावसायिक खेती गर्ने किसानलाई बीउ, मलमा अनुदान कार्यक्रम सञ्चालन गरेको छभने बाख्रापालक किसानलाई खोर सुधारका लागि अनुदान पनि दिँदै आएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक
- उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ: अमेरिकी रक्षामन्त्री अस्टिन
- बजेट अभावले दुई वर्षदेखि अलपत्र छ काभ्रेको तामाङ एकीकृत बस्ती
- सुस्ताको सास्ती
- बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, राष्ट्रपति भवन कब्जा
- जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती
- रूसमा सेना पठाउने उत्तर कोरियाली तयारीले सियोल र नेटो चिन्तित
- सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
- बङ्गलादेशमा डेङ्गुबाट ८४ जनाको मृत्यु
- ‘सधैँ सडकमै बित्छ रात’